बागमती प्रदेशका मुख्यमन्त्री र मुख्य सचिवसँग आयोगले माग्यो स्पष्टीकरण

निर्वाचन आचारसंहिता लागू भएपछि दुईवटा अध्यादेश ल्याएको भन्दै निर्वाचन आयोगले बागमती प्रदेशका मुख्यमन्त्री र मुख्य सचिवसँग स्पष्टीकरण माग गरेको छ।

काठमाडौं– निर्वाचन आयोगले बागमती प्रदेशका मुख्यमन्त्री र प्रमुख सचिवलाई स्पष्टीकरण सोधेको छ। 

निर्वाचन आचारसंहिता लागू भइसकेपछि ‘प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालनको सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश' र 'प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश' जारी भएको विषयमा आयोगले मुख्यमन्त्री र मुख्य सचिवलाई स्पष्टीकरण सोकेको हो। पत्र प्राप्तको २४ घण्टाभित्र निर्वाचन आयोगमा प्राप्त हुने गरी स्पष्टीकरण पेस गर्न निर्देशन दिएको आयोगले जनाएको छ। 

निर्वाचन आचारसंहिताको दफा ५, नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले पालना गर्नुपर्ने आचरणअन्तर्गत खण्ड (ख) मा ‘वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएकाबाहेकका अन्य कार्यक्रम गर्न वा नयाँ नीति, योजना वा कार्यक्रमको घोषणा गर्न, स्वीकृत गर्न वा सञ्चालन गर्न नहुने भन्ने व्यवस्था छ।

बागमती प्रदेशले असोज ३० मा ‘प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालनको सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ र ‘प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ जारी गरेको थियो। यो निर्वाचन आचारसंहिता, २०७९ को दफा ५ को खण्ड (ख)को प्रतिकूल रहेको आयोगको ठहर छ। आयोगले प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई उक्त अध्यादेश राजपत्रमा प्रकाशित नगर्नसमेत निर्देशन दिएको छ।