ज्ञानोदय माविले २०५२ सालदेखि एसएलसीमा शतप्रतिशत नतिजा ल्याउन थालेको थियो। यो परम्परा एसईईमा पनि कायम छ। व्यवहारिक र प्राविधिक शिक्षामा जोड दिएको विद्यालयका कक्षाकोठा आधुनिक प्रविधियुक्त छन्।
काठमाडौँ– बाफलस्थित ज्ञानोदय माविको गेटबाट छिर्नेबित्तिकै मादल र गितार बजेको आवाज सुनियो। कक्षाकोठामा केही विद्यार्थी संगीत सिकिरहेका थिए। विद्यालयले संगीत पढ्नेका लागि बिहानी कक्षा राखेको छ। खासगरी कक्षा ७ भन्दा माथिका विद्यार्थी संगीत सिक्छन्। तर संगीतप्रति रुचि हुने तल्लो कक्षाका विद्यार्थी पनि आफ्नै चाहनाले कक्षामा आउने गरेका छन्।
संगीत मात्र नभई, अन्य विषयका कक्षाकोठामा पनि शिक्षकहरूभन्दा विद्यार्थी नै बढी सक्रिय थिए। शिक्षकले सहजीकरण मात्र गरिरहेका थिए। प्रयोगात्मक अभ्यासको नेतृत्व नै विद्यार्थीले गरेको देखिन्थ्यो।
यो सामुदायिक विद्यालयमा पढाइ हुने अधिकांश विषय उही हुन्, तर पढाउने शैली फरक छ। कक्षा ११ र १२ मा विज्ञान, कानून र व्यवस्थापनका विषयहरू पढाइ हुन्छ। कक्षा ९ देखि १२ सम्म प्राविधिक धारअन्तर्गत सिभिल इन्जिनियरिङ पढाइ हुन्छ।

विद्यालय हातामै भेटिएकी ममता खनालका छोराछोरी यही विद्यालयमा पढ्छन्। उनी आफ्ना नानीबाबुको पढाइबारे बुझ्न आएकी थिइन्। ममता भन्छिन्, “यो विद्यालयबारे धेरै सुनेकी थिएँ। तर शुरूमा बोर्डिङ स्कुल छाडेर सरकारीमा राख्दा कस्तो होला भनेर डर लागेको थियो। अहिले बच्चाहरूको प्रगति देख्दा साह्रै खुशी लागेको छ।”
सोलुखुम्बुबाट काठमाडौँ आएका चिरञ्जीवी बास्तोला प्राविधिक विषय लिएर एसईई गरेका आफ्नो छोराको लागि सिभिल इन्जिनियरिङ विषय खोज्दै धेरै विद्यालय पुगे। अन्त्यमा ज्ञानोदयबारे थाहा पाए र यहीँ भर्ना गरे। उनी भन्छन्, “विद्यालयका शिक्षकहरूले घरमै फोन गरेर छोराको पढाइ र क्रियाकलापबारे जानकारी दिने गर्दा ज्यादै खुशी लाग्छ।”

प्रधानाध्यापक नातिकाजी महर्जनका अनुसार विद्यालयले २०६५ सालमा पहिलोपटक कक्षा ४ देखि ८ सम्मका विद्यार्थीका लागि कम्प्युटर शिक्षा शुरू गरेको थियो। शिक्षकहरूलाई पनि प्रविधिसँग जोडिएको छ। हरेक शिक्षकले कक्षाकोठामा ट्याबलेट र स्मार्ट बोर्ड प्रयोग गर्छन्।
विद्यालयमा सूचना तथा सञ्चार प्रविधि (आईसीटी), होटल म्यानेजमेन्ट र विज्ञानका छुट्टाछुट्टै प्रयोगशाला छन्। कम्प्युटर विज्ञान पढ्दै गरेकी संगीता गिरी प्रयोगशालामा दिइने व्यावहारिक शिक्षण पद्धतिले पढाइप्रति झनै रुचि बढाउने बताउँछिन्।

यो विद्यालयमा २०६८ सालदेखि नै अंग्रेजी माध्यमबाट पठनपाठन शुरू गरिएको हो। त्यसपछि आसपासका निजी विद्यालयका विद्यार्थी पनि ज्ञानोदय मावि आउन थालेको प्रधानाध्यापक महर्जन बताउँछन्। नतिजा पनि अझ सुधार भएको उनको भनाइ छ।
यो वर्ष ४०४ जनाले एसईई दिएका थिए। तीमध्ये तीन जनाले जीपीए ४ ल्याएका छन्। बाँकी सबै विद्यार्थीले सन्तोषजनक नतिजा ल्याएको प्रधानाध्यापक महर्जन बताउँछन्।
ज्ञानोदयले २०५२ सालदेखि नै एसएलसीमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन थालेको हो। यो परम्परा अहिले एसईई हुँदा पनि टुटेको छैन। ब्रिटिस काउन्सिलले दिने अन्तर्राष्ट्रिय स्कुल अवार्ड (आईएसए) र आईसीटी अवार्ड पनि यो विद्यालयले पाइसकेको छ। २०७५ सालमा उत्कृष्ट विज्ञान पुरस्कार पाएको थियो।
काठमाडौँ महानगरपालिकाले ‘एक वडा एक नमूना विद्यालय’ कार्यक्रम लागू गरेपछि यसलाई वडा नं. १३ को नमूना बनाइएको छ। तर वडाको मात्र नभई देशकै नमूना भएको छ। अहिले यहाँ साढे चार हजार विद्यार्थी अध्ययनरत छन्। सबैभन्दा बढी विद्यार्थी कक्षा ९ र १० मा छन्। हरेक वर्ष चारदेखि पाँच सय विद्यार्थी थपिन्छन् र त्यही हाराहारीमा बाहिरिन्छन्। विद्यालयमा भर्ना हुन प्रवेश परीक्षा अनिवार्य उत्तीर्ण हुनुपर्छ।
प्रधानाध्यापक महर्जन २०४६ सालदेखि यो विद्यालयमा कार्यरत छन्। उनी २०४८ सालदेखि माध्यमिक शिक्षक भएका हुन्। त्यसबेला नै यहाँ १३ सय विद्यार्थीले पढेको उनी बताउँछन्।
महर्जनका अनुसार तत्कालीन प्रधानाध्यापक रेवरत्न बज्राचार्यले २०३८ सालमा नै पूर्वप्राथमिक तह शुरू गरेर विद्यालयलाई नमूना बनाउने जग हालेका थिए। त्यतिबेला पूर्वप्राथमिक तहको कक्षा चलाउने चलन नै थिएन। अहिले पनि फरक र व्यावहारिक शिक्षण पद्धति नै यो विद्यालयको विशेषता हो।
बाँकी कथा भिडियोमा
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
