सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

सरकारले किसानले बिक्री गर्ने मोटा धानको मूल्य प्रतिक्विन्टल २ हजार ९६७ तथा मध्यम धानको मूल्य ३ हजार १२८ रुपैयाँ तोकेको छ।

काठमाडौँ- सरकारले किसानले बिक्री गर्ने धानको न्यूनतम समर्थन मूल्य तोकेको छ। 

गत कात्तिक १६ गते बसेको मन्त्रिपरिषद् बैठकले अघिल्लो वर्षको तुलनामा मोटा धानमा प्रति क्विन्टल २ सय १५ र मध्यम धानमा २ सय २६ रुपैयाँ वृद्धि गरी समर्थन मूल्य तोकेको हो। 

चालू आर्थिक वर्ष २०७९/८० का लागि मोटा धानको प्रतिक्विन्टल २ हजार ९ सय ६७ र मध्यम धानको मूल्य ३ हजार १ सय २८ तोकिएको कृषि मन्त्रालयले जनाएको छ। यसअघि २०७८/७९ मा मोटा धान प्रतिक्विन्टल २ हजार ७ सय ५२ र मध्यम धानको २ हजार ९ सय २ रुपैयाँ न्यूनतम समर्थन मूल्य तोकिएको थियो। 

सरकारले तोकेको न्यूनतम समर्थन मूल्यअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीले किसानको धान खरिद गर्ने कृषि मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले जानकारी दिए। 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत कृषि सहकारीका लागि तोकिएको न्यूनतम समर्थन मूल्यमा धान खरिदका लागि छिट्टै सूचना प्रकाश गरिने पनि मन्त्रालयले जनाएको छ।

न्यूनतम समर्थन मूल्यमा कृषि सहकारीमार्फत धान खरिद गर्न ३३ करोड रुपैयाँ विनियोजन गरिएको पनि प्रवक्ता सञ्जेलले बताए।