काठमाडौँ–२ : चर्चामा तीन महिला उम्मेदवार

परम्परागत रूपमा जित्दै आएको काठमाडौँ–२ बाट एमालेले मणिराम फुयाँललाई उम्मेदवार बनाउँदा उनलाई टक्कर दिने तीन महिला उम्मेदवार ओनसरी घर्ती, कुन्तीदेवी पोखरेल र सोविता गौतमले पनि चर्चा बटुलिरहेका छन्।

काठमाडौँ– पहिलोपटक काठमाडौँबाट चुनावी प्रतिस्पर्धामा उत्रिएकी नेकपा माओवादी केन्द्रकी ओनसरी घर्तीका नारा आकर्षक छन्। क्षेत्र नं. २ बाट सत्ता गठबन्धनको उम्मेदवार भएकी उनले शंखरापुर नगरपालिकालाई पर्यटकीय नगरी बनाउने र कागेश्वरी मनोहरालाई ‘स्मार्ट सिटी’ बनाउने घोषणा गरेकी छन्।

उनी २०७० सालमा रोल्पाबाट संविधानसभा निर्वाचनमा विजयी भएकी थिइन्। २०७४ सालको आमनिर्वाचनमा भने उनी समानुपातिक प्रणालीबाट निर्वाचित भइन्। तत्कालीन नेकपा माओवादीले गरेको ‘जनयुद्ध’मा सहभागी उनी पहिलो महिला सभामुख पनि हुन्।

सत्ता गठबन्धनको अर्को दल नेपाली कांग्रेसले उनलाई समर्थन गरेको छ। उनी अहिले संयुक्त टोलीसहित घरदैलो गरिरहेकी छन्। 

काठमाडौँ–२ मा नै राप्रपाकी कुन्तीदेवी पोखरेल उम्मेदवार छिन्। कागेश्वरी मनोहरा–७ मा घरदैलो गरिरहेकी उनी मतदातासँग यसपटक ‘नयाँ’लाई मौका दिन आग्रह गरिरहेकी थिइन्। “नेताहरूले आफ्नो गठबन्धन गरे, अब जनताले पनि आफ्नो गठबन्धन गरेर नयाँलाई जिताउनु पर्‍यो,” उनी भन्दै थिइन्। 

उनी तारा मण्डल महिला सशक्तिकरण अभियानकी अध्यक्ष तथा पोइज फेसन नेपालकी संस्थापक पनि हुन्। सामाजिक सेवामा लामो समय सक्रिय उनले चुनाव घोषणा भएदेखि नै मत माग्न थालेकी थिइन्।

कोटेश्वरस्थित महादेवस्थानको चियापसलमा भेटिएका उद्धव भट्टराईले पाखरेललाई मत दिन आश्वासन दिए। उनले यसपटक नयाँ उम्मेदवारहरूलाई मत दिने बताए। “यसपटक एउटा भोट स्वतन्त्रलाई, अर्को भोट राप्रपा। प्रत्यक्ष वा समानुपातिक कसलाई केमा हाल्ने यो भने सोचविचार गर्न बाँकी छ,” उकालोसँग भट्टराईले भने, “राजतन्त्र हटाउने योजना सबै पार्टीको सुनियोजित चाल रहेछ। हामीले त कहिले राजतन्त्र हुँदैन भनेको थियौँ र?”

पोखरेल पनि मतदाताको प्रतिक्रियाबाट उत्साहित छिन्। “सत्ता गठबन्धनबाट आउनु भएकी ओनसरी घर्तीले यसअघि रोल्पाबाट जित्नु भएको हो। त्यहाँ उहाँले के गर्नुभयो त? के आधारमा वहाँलाई यहाँका जनताले पत्याउने?” उनी भन्छिन्, “अहिले यहाँका मतदाताले मेरो र सोबिता गौतमको तुलना गरिरहेका छन्। उहाँको तुलनामा मेरो अनुभव र राजनीतिमा संलग्नता बढी छ। त्यसैले मलाई मतदान गर्न आग्रह गरिरहेकी छु।”

सोबिता गौतम राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार छिन्। उनी अधिवक्ता पनि हुन। परिवर्तनको लागि नयाँ अनुहारलाई मतदाताले रोज्नु पर्ने उनले उकालोसँग बताइन्। उनी भन्छिन्, “यसपटक मतदातालाई भेटन् उम्मेदवार होइन, उम्मेदवारलाई भेट्न मतदाता खोजीखोजी आएका छन्। अरुको हकमा के लागू भयो थाहा छैन, तर मलाई धेरैले खोजिरहुन भएको छ। देशले परिवर्तन खोजेको अनुभूति यसैबाट हुन्छ।”

तीन भिन्न पार्टीबाट उम्मेदवारी जनाएका यी तीन महिलासँग एमालेका मणिराम फुयाँल प्रतिस्पर्धामा छन्। काठमाडौँ–२ एमालेले जित्दै आएको क्षेत्र हो। मनोहरामा भेटिएका स्थानीय साइँला गिरी भन्छन्, “यो क्षेत्रले मदन भण्डारी, मनमोहन अधिकारी, विद्यादेवी भण्डारीलाई जिताएको छ। यसपालि यहाँकै स्थानीय मणिराम फुँयाल उठेका छन्। तर, मत परिणाम के हुन्छ भनेर अहिले नै भन्न सकिँदैन।”

एमालेको बलियो विरासत
२०४८ सालमा काठमाडौँमा पाँच वटा निर्वाचन क्षेत्र थिए। त्यसताका काठमाडौँको भोटेबहाल, त्रिपुरेश्वर हुँदै सिंहदरबार, अनामनगर, बानेश्वर, कोटेश्वर, मनोहरा, साँखु, नाग्लेभारे, सुन्दरीजल, जोरपाटी, गोठाटार, गोकर्णेश्वर, चाबहिललगायत स्थान काठमाडौँ–१ मा पर्थे।

मणिराम फुयाँल

अहिले गोकर्ण, सुन्दरीजल क्षेत्र नं. ३ मा पर्छन्। महानगरपालिकाको वडा नम्बर ९ र ३२ वडा, कागेश्वरी मनोहरा नगरपालिका, शंखरापुर नगरपालिका क्षेत्र नं. २ मा छन्। यो क्षेत्रमा डाँछी, मूलपानी, गोठाटार, सिनामंगल, मनोहरा, विजयचोक, बत्तीसपुतली, कोटेश्वर, सुविधानगर, नरेफाँट, जडिबुटी, पाल्पाकोट, नाङग्लेभारलगायत स्थान छन्। 

२०४८ सालको निर्वाचनमा क्षेत्र नं. १ बाट, मदन भण्डारीले २७ हजार ३७२ मत ल्याएर जित हासिल गर्दा तत्कालीन प्रधानमन्त्री तथा कांग्रेसका कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराईले २६ हजार ६२१ मत पाएका थिए।

२०५१ सालमा काठमाडौँलाई सात क्षेत्र बनाइए। त्यसबेला पनि हालको क्षेत्र नं. २ का अधिकांश भाग क्षेत्र नं. १ मा नै थिए। यो क्षेत्रबाट एमाले अध्यक्ष मनमोहन अधिकारी २५ हजार ६७२ मत ल्याएर विजयी हुँदा कांग्रेसका हरिबोल भट्टराईले १३ हजार ६८४ मत पाएका थिए। २०५६ सालको निर्वाचनमा एमालेका प्रदीप नेपालले १७ हजार ६०१ मत पाउँदा स्वतन्त्र उम्मेदवार लोकेश ढकालले १५ हजार २१९ मत पाएका थिए।

२०६४ सलाको संविधानसभामा भने यहाँबाट तत्कालीन नेकपा माओवादीका झक्कु सुवेदीले एमाले महासचिव माधवकुमार नेपाललाई पराजित गरेका थिए। २०७० को दोस्रो संविधानसभा निर्वाचनमा माधव नेपाल नै विजयी भए। तर, लगत्तै भएको उपनिर्वाचनमा कांग्रेसका दीपक कुइँकेल विजयी भएका थिए। २०७४ सालको आमनिर्वाचनमा भने वामगठबन्धनबाट माधव नेपाल नै विजयी भए।

कसको पल्ला भारी?
अहिले एमाले फुटेर माधव नेपालको अध्यक्षतामा नेकपा एकीकृत समाजवादी बनेको छ। तर, माधव नेपालले यो क्षेत्र माओवादी केन्द्रलाई छाडेर रौटहट–१ बाट उम्मेदवार बनेका छन्। माओवादी केन्द्रकी घर्तीलाई कांग्रेस र एकीकृत समाजवादीको समर्थन छ। एमालेका फुयाँल भने एक्लै प्रतिस्पर्धामा छन्। 

कांग्रेस नेता लोकेश ढकाल यसपटकको स्थानीय तहको परिमाण हेर्दा कांग्रेसको उम्मेदवार नभएको फाइदा एमालेले उठाउन सक्ने बताउँछन्। एमाले उम्मेदवार कम विवादित छविका र स्थानीय पनि भएकोले गठबन्धनले कडा मिहिनेत गर्नुपर्ने उनको भनाइ छ। 

कांग्रेस (बीपी)का नेता हरिबोल भट्टराई सत्ता गठबन्धन र एमाले उम्मेदवारबीचमा नै प्रतिस्पर्धा हुने बताउँछन्। “संठगनात्मक संरचनामा पनि मणिराम फुँयाल र अन्सरी नै बलियो देखिन्छ। तर, यसपटक दलहरूप्रति जनताको मोहभंग भएकोले त्यसको प्रतिक्रिया मतमा देखिन सक्छ”, भट्टराई भन्छन्, “त्यसो हुँदा स्वतन्त्र तथा नयाँ पार्टीको सम्भावना पनि उत्तिकै हुनसक्छ। नेगेटिभट भोटिङको वेभ आयो भने पुराना सबै पल्टने छन्।”

आगामी निर्वाचनका लागि यस क्षेत्रबाट ३० जनाले उम्मेदवारी दिएका छन्। जसमध्ये पाँच जना महिला छन्। घर्ती, पोखरेल र गौतमबाहेक मंगोल नेसनल अर्गनाइजेसनबाट सीता तामाङ र स्वतन्त्र भगवती ढकाल पनि उम्मेदवार छन्।