अपरिचित काठमाडौँमा 'फुड डेलिभरी' गर्दा विशालले खेपेको सास्ती (भिडियो कथा)

ठाउँ नचिनेकाले शुरूशुरूमा काम गर्न धेरै अलमल भयो। गुगल म्यापबारे थाहा नभएकोले पनि सहज रूपमा काम गर्न सकेनन्। कतिपटक म्याप हेर्न नजान्दा ग्राहकबाट गाली खानुपर्‍यो। राति खुट्टा दुखेर निदाउन पनि सकेनन्।

काठमाडौँ- साँझ ७ बजे। झमझम पानी। नक्साल चोकको ट्राफिक जाम। अँध्यारो बढ्दै थियो। एक युवकले बोकेको झोलाले पहिले–पहिले गाउँतिर आउने लाहुरेलाई सम्झायो। उनी झोला बोकेर साइकलमा आधा जिउ भिजाउँदै ट्राफिक जाममा रोकिएका थिए।

ट्राफिक जाम खुलेपछि उनी अगाडि बढ्न थाले। उनको साइकलकै गतिमा बाइक बढाएर नरोकी छोटो कुरा भयो। 

“भाइ पढ्दै काम गर्दै हो?”

उनले छोटै जवाफ दिए, “हो।”

उनलाई रोकेर मोबाइल नम्बर लिएँ। अर्को दिन बिहानै फोन गरेँ। उनलाई भेट्ने प्रस्ताव गरेँ। “दिउँसो ड्युटी छ, भेट्ने भए १२ बजेभित्र आइपुग्नु,” उनले भने।

उनको डेरा नजिकै लाजिम्पाटस्थित नील सरस्वती मन्दिर प्रांगणमा भेट भयो। उनी थिए, बुटवल जयकुटी घर भएका विशाल घर्तीमगर। एसईई दिएर काठमाडौँ आएका उनी फुड डेलिभरीको काम गरिरहेका रहेछन्। 

उमेर १६ वर्ष पार भएका। उनले काठमाडौँ आउनुको कारण खुलाए, “सानैदेखि बाबाममीले जेनतेन गरी पढाउनु भयो, बाबा घर बनाउने काम गर्नुहुन्छ। गाउँतिर आम्दानी हुने कुनै वातावरण छैन, आफैँ पनि सक्ने जति गर्नुपर्छ भनेर काम गर्न काठमाडौँ आएको हुँ।”

मीठो सपना देखेर काठमाडौँ आएका उनी शुरूमा के गर्ने के नगर्ने भन्नेमै दोधारमा परे। साथमा केही सीप थिएन, उमेर सानै थियो। 

काम नपाइए केही समय घुमेर गाउँ फर्किने सोच बनाएर बसेका विशाललाई उनका दाइले डेलिभरीको कामबारे सुनाए। नागरिकता चाहिन्छ, डेलिभरीको काम गर्नुपर्‍यो भनेर दाइले भनेपछि फटाफट नागरिकता बनाएर आएको उनी बताउँछन्। 

उनले गाउँबाट दाइले मगाएको साइकल बसमा हालेर ल्याइदिए। दाइका लागि ल्याइएको त्यही साइकलमा अहिले उनी फुड डेलिभरी गरिरहेका छन्।

ठाउँ नचिनेकाले शुरूशुरूमा काम गर्न धेरै अलमल भयो, सडक पार गर्दा पनि असहज भयो उनलाई। गुगल म्यापबारे थाहा नभएकोले पनि सहज काम गर्न सकेनन्। कति पटक म्याप हेर्न नजान्दा ग्राहकबाट गाली खानुपरेको उनी सम्झन्छन्। 

राति अबेरसम्म काम गर्दा उनी थकित हुन्छन्। उकालोओरालो, त्यसैमाथि ठूलो झोला बोकेर हिँड्दा खुट्टा दुखेर कति दिनसम्म उनी सुत्नै सकेनन्। 

केही समय काठमाडौँमा काम गरेर पैसा जम्मा पारेपछि ‘प्लस टु’ पढ्न गाउँमै जाने विशालको सोच छ। बुटवल जनज्योति माविमा एसईईसम्म पढेका विशाल सानैदेखि पढाइभन्दा पनि अन्य क्रियाकलापमा बढी ध्यान दिन्थे। एसईई रिजल्टमा ‘सी ग्रेड’ ल्याएर पास भएका उनको इच्छा ‘होटल म्यानेजमेन्ट’ पढ्ने छ।

“गाउँमा खाली बसेर के गर्नु? साथीहरूसँग दिनभरि डुल्यो, साँझ घर आयो। त्योभन्दा त यता केही न केही होला नि भनेर आइयो,” उनी भन्छन्।

बाँकी कथा भिडियोमा