खुला फुटपाथ मसानघाट!

बानेश्वरको फुटपाथबाट अन्यत्र सरेका व्यापारीलाई व्यापार घटेकोमा चिन्ता मात्र छैन, खुला ठाउँ देख्दा दंगदास पनि छन्। तर, कतिपय चाहिँ फुटपाथको ‘सौन्दर्य’ नै व्यापार भएको बताउँछन्।

बानेश्वरमा खाली गराइएको फुटपाथ। तस्वीर: अमित मचामसी

काठमाडौं— बानेश्वरको फुटपाथमा ग्राहक र पैदलयात्रीसँग सुनिता अधिकारी (४३) को रस्साकस्सी झन्डै दुई दशक चल्यो। उनलाई पैदलयात्रीको गाली सुनेरै व्यापार गर्ने बानी परेको थियो। साउन पहिलो हप्ताबाट भने फुटपाथ छाड्नुपर्ने बाध्यतामा परिन्।



उनीजस्तै व्यापारीहरुका कारण फुटपाथ भिडभाड र अव्यवस्थित थियो। पैदल हिँड्नेलाई सास्ती। ठेलमठेलमा ग्राहकलाई पनि सुबिस्ता थिएन। तर, अब बानेश्वरको फुटपाथ फेरिएको छ।



न भिडभाड, न त ठेलमठेल। न व्यापारी र ग्राहकको मोलमोलाइ, न त बाटै छेक्ने गरी राखिएका ठेलागाडा। फुटपाथ खुला र खाली छन्। तर, सुनितालाई फुटपाथको रौनक हराएझैँ लाग्छ। भिडभाड अकस्मात हराउँदा फुटपाथ ‘मसानघाट’ भएको उनी बताउँछिन्।



बानेश्वर मूलसडकको फुटपाथमा व्यापार गर्नेहरु अहिले अनामनगरतर्फ जाने सडकबाट भित्रको खाली जग्गामा सरेका छन्। काठमाडौं महानगरपालिकाले साउन पहिलो सातादेखि नै बानेश्वरको फुटपाथमा व्यापार गर्न निषेध गरेको थियो। त्यहीकारण सुनिता जस्तै त्यहाँका व्यापारी निजी जग्गा भाडामा लिएर सरेका छन्। मासिक रु.३०० तिरेर भाडामा लिएको ठाउँमा फुटपाथजस्तो व्यापार छैन। त्यसैले सुनिता असन्तुष्ट छिन्। ‘फुटपाथ खाली हुँदा त राम्रै देखिँदोरहेछ, तर रौनक छैन। त्यहाँ हाम्रै कारण रौनक थियो, अब त मसानघाटजस्तो देख्छु,’ उनी भन्छिन्।



फुटपाथको महत्व बुझे पनि परिवारको बोझले त्यहाँ बसेर व्यापार गर्न बाध्य हुनु परेको उनको भनाइ छ। ‘हिँड्ने मान्छे सिधै व्यापारीसँग ठोक्किन्थे। धेरै ग्राहकहरुसँग मोलमोलाइ हुन्थ्यो। कति बटुवा त गाली गर्दै पनि हिँड्थे, झगडा पथ्र्यो। अहिले त्यो ठाउँ अर्कै जस्तो लाग्छ,’ उनी भन्छिन्।



फुटपाथ खाली हुँदा बानेश्वरको आकर्षण हराएको उनको ठम्याइ छ। उनी जस्ता व्यापारीको व्यापार पनि घटेको छ। महानगरले व्यापारका लागि ‘कुनामा थन्क्याइदिँदा’ आफ्नो पाँच जनाको परिवार पाल्न धौधौ हुन थालेको उनले गुनासो गरिन्। ‘महानगरपालिकाले जसरी पैदलयात्रीको सहजका लागि फुटपाथ खाली गरायो, त्यसरी नै हामी व्यापारीका लागि व्यवस्थित ठाउँ बनाइदिए आम्दानीको स्रोत सुक्ने थिएन। यदि त्यस्तो गर्न नसक्ने भए रोजगारीको विकल्प दिनुपर्छ। हामी पनि यही देशका नागरिक हौँ,’ उनले भनिन्। 



बानेश्वरको फुटपाथमा व्यापार गर्ने डम्बरकुमारी तामाङ (६८) पनि त्यहाँबाट विस्थापित भएपछि चुल्हो बाल्न मुस्किल भएको बताउँछिन्। श्रीमानको मृत्यूपछि बालबच्चा हुर्काउने उपाय खोज्दै आफू तीन दशकअघि व्यापारका लागि फुटपाथमा आइपुगेको उनको भनाइ छ। फुटपाथमा व्यापार गरेरै दुई छोरीको विवाहसम्म गराइन्। उनले व्यापार गर्ने ठाउँमा अहिले महानगरले पार्किङ बनाएको छ।



फुटपाथ छाडेपछि डम्बरकुमारी बानेश्वरको छक्कुबक्कु मन्दिरनजिक रहेको होटेलअगाडि तरकारी बेच्थिन्। तर, त्यहाँ ‘सटरवाला’ले नदिएका कारण अहिले नजिकै गल्लीमा सरेकी छिन्। त्यहाँबाट पनि लखेटिनुपर्ने हो कि भन्ने चिन्ता बोकिरहनु परेको छ। त्यसभन्दा पनि बढी चाहिँ व्यापारी हटेपछिको खाली फुटपाथ देख्दा उनको ‘मन चिसो’ हुन्छ। 



व्यापारका कारण फुटपाथ र सडकसमेत फोहोर हुन्थ्यो। अहिले सफा छ। पैदलयात्रीलाई पनि सहज भएको छ। तर, बानेश्वरको रौनक भने घटेको उनको भनाइ छ। ‘फुटपाथमा व्यापार हुँदा कहिले त भीडभाडले म बूढी मान्छेलाई कुल्चिन्छन् जस्तो हुन्थ्यो। साँझ झिलिमिली रमाइलो हुन्थ्यो। चहलपहल धेरै हुन्थ्यो। त्यस्तो रौनक छैन अब,’ उनले भनिन्, खुला फुटपाथमा व्यापार गर्न नपाउँदा मन चिसो हुन्छ।’



फुटपाथ छाडेपछि उनको व्यापार घटेको छ। ‘निर्वाचनमा आश लागेर लौरोलाई भोट हालेँ, अहिले त्यही लौरोले धपायो,’ उनले भनिन्, ‘मूलपानीबाट तरकारी ल्याउँछु। नबिकेर कुहिने डरले सस्तैमा दिनुपर्छ।’



उनीसँगको कुराकानी सुनिरहेकी एक ग्राहकलाई भने फुटपाथ खाली गराएको चित्त बुझेको रहेछ। डम्बरकुमारीलाई उनले जवाफ दिइहालिन्, ‘बूढी आमालाई व्यापार गर्न गाह्रो त परेको होला, तर सर्वसाधरणको लागि सहज भएको छ। फुटपाथ व्यापारका कारण साँझ महिलाले भिड छिचोलेर हिँड्न नै समस्या भएको थियो। कतिपयले गलत नियतले छुन्थे।’



ती ग्राहकको कुरामा डम्बरकुमारीले पनि समर्थन जनाइन्। तर, आफ्नो जिविका खोसिने चिन्ता भने उनले पटकपटक सुनाइरहिन्।



डम्बरकुमारीको तरकारी पसल नजिकै गणेश श्रेष्ठ (५४) चार्जर, लाइटजस्ता सामग्री बेच्छन्। लगनखेलका उनले फुटपाथमै व्यापार गरेको ३० वर्ष भयो। त्यसयता उनी पहिलो पटक भाडाको जग्गामा व्यापार गरिरहेका छन्। उनको गुनासो पनि उस्तै छ, ‘महिनाको रु.३०० तिर्न पनि मुस्किल परेको छ।’



उनका अनुसार फुटपाथमा व्यापार गर्दा पैदलयात्रीलाई मात्र नभएर व्यापारीलाई पनि समस्या थियो। तर, त्यही फुटपाथले ग्राहक र व्यापारीको सम्बन्ध बलियो पनि पारेको उनको भनाइ छ। ‘भिडभाडमा व्यापार गर्ने बानी परेका हामीलाई खाली ठाउँमा थन्काइदिएका छन्। खाली फुटपाथ देख्दा मन नै भारी हुन्छ,’ उनले भने। 



अहिले व्यापारका लागि भाडा तिर्नुपर्ने ठाउँ सडकभन्दा भित्र पर्ने हुनाले ग्राहक आइनपुग्ने उनी बताउँछन्। कार्यालय समय सकिने बेला दुईदेखि तीन घन्टा फुटपाथमै व्यापार गर्न दिए आफूहरुको जीविका चल्ने उनी बताउँछन्।



त्यही ठाउँमा काखमा डेढ वर्षको छोरो च्यापेर विनिता सापकोटा (२९) व्यापार गर्न बसेकी छन्। जनकपुर घर भएकी उनी १३ वर्षदेखि श्रीमानसँगै फुटपाथमा व्यापार गर्थिन्। सामानको लागि मोलमालाइ गर्न भ्याइनभ्याइ हुन्थ्यो। अहिले फुर्सद नै फुर्सद छ। श्रीमान् पनि वैदेशिक रोजगारीका लागि गएका छन्।



उनीहरुका दुई छोरा छन्। विनिताले भनिन्, ‘छोराहरु बल्ल हुर्किदै छन्। उनीहरुकै लागि भनेर सडकमा व्यापार गरेका थियौँ। छोराहरुलाई सडकबाट सदनसम्म पुर्‍याउने ठूलो इच्छा छ। तर सडकबाटै लखेटिएपछि हाम्रो सपना सपनामै सीमित हुने भयो। हाम्रो बाध्यतालाई बुझिदिनुपर्छ।’



महानगरले फुटपाथबाट हटाएका व्यापारीलाई व्यवसायी मुकेश पाण्डेले आफ्नो जग्गा भाडामा दिएका हुन्। क्षेत्रफल थोरै भएकाले ठाउँका लागि व्यापारीबीच झगडा पनि हुने गरेको छ। आफूले फुटपाथका व्यापारीको समस्या तत्काल समाधान गरिदिन केही समयलाई मात्र जग्गा दिएको पाण्डे बताउँछन्। उनी भन्छन्, ‘फुटपाथ व्यापारीलाई मात्र होइन राज्यले सबैलाई हेनुपर्छ। सम्बन्धित निकायले राम्रो काम गरिरहँदा हामीले पनि साथ दिनुपर्छ। त्यसैले, मैले केही समयका लागि जग्गा भाडामा दिएको हुँ।’



फुटपाथबाट व्यापारीलाई हटाउन बानेश्वरका स्थानीयले पनि महानगरलाई दबाब दिँदै आएका थिए। स्थानीयबासी नवीन लुइँटेलका अनुसार फुटपाथमा व्यापार हुँदा नजिकैका घरमा एम्बुलेन्ससमेत जान नसक्ने अवस्था थियो। गएको साउन ४ गते बिरामी लिन गएको एम्बुलेन्सका लागि फुटपाथ व्यापारीले बाटो नछाडेपछि स्थानीयसँग विवाद भएको थियो। त्यसपछि स्थानीय नै फुटपाथ खाली गराउनुपर्ने माग राखेर महानगर कार्यालय पुगेका थिए।



‘बिरामी लिन एम्बुलेन्स आउँदा पनि फुटपाथ व्यापारीले बाटो छाडिदिँदैन थिए। अहिले फुटपाथ खाली हुँदा सहज भएको छ। बच्चाहरुले पनि खुला ठाँउमा खेल्न पाएका छन्,’ लुइँटेलले भने। 



पैदलयात्रीका लागि बनाइएको बाटोमा व्यापार गर्न नहुने हुँदा खाली गराइएको काठमाडौं महानगरपलिकाका प्रवक्ता नवीन मानन्धर बताउँछन्। फुटपाथमा व्यापार गर्दा दुर्घटनाको जोखिम पनि बढ्ने उनको भनाइ छ। ‘फुटपाथमा अनियन्त्रत र असुरक्षित व्यापार व्यवसाय सञ्चालन गरेर बानेश्वरलाई अव्यवस्थित बनाउन नदिने नीति हो। फुटपाथमा व्यापार गरिरहेकाले आफ्नो गच्छेअनुसार व्यवस्थित व्यापार गर्दा काठमाडौंलाई सुन्दर बनाउन सकिन्छ। तर, महानगरले नै ठाउँ उपलब्ध गराउने नीति छैन,’ उनले भने।