लागुऔषध कारोबारमा बालिकाको प्रयोग

बालिकालाई गाँजा तस्करीमा प्रयोग गरेका पर्सा धोबीनी गाउँपालिका–५ का फैज उल्लाह शाहलाई पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्युरोका एसपी चक्रराज जोशीले बताए।

सांकेतिक तस्वीर

काठमाडौँ– लागुऔषध तस्करीमा संलग्न एक व्यक्तिले गाँजा तस्करीमा बालिकाको प्रयोग गरेको भेटिएको छ।

एक १६ वर्षीया किशोरीका नाममा अमेरिकाबाट गाँजाको पार्सल मगाएर तस्करी गर्न लाग्दा उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोका अनुसार पर्सा धोबीनी गाउँपालिका–५ बस्ने २७ वर्षीय फैज उल्लाह शाहले किशोरीको नागरिकता दुरुपयोग गरी उनकै नाममा अमेरिकाबाट दुई किलो गाँजा नेपालमा झिकाएको भेटिएको छ। 

बालिकालाई गाँजा तस्करीमा प्रयोग गरेका शाहलाई पक्राउ गरी आवश्यक अनुसन्धान थालिएको ब्युरोका एसपी चक्रराज जोशीले बताए। उनका अनुसार शुरू पार्सल आएको गाँजा लिन त्यही किशोरीलाई उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित कार्गो कम्प्लेक्समा पठाएका थिए।

अमेरिकाको क्यालिफोर्नियाबाट आयात गरिएको दुई किलो गाँजा लिन पुगेकी किशोरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गर्ने क्रममा उनलाई शाहले परिचालन गरी लागुऔषधको कारोबार गरेको खुलेपछि पक्राउ गरिएको हो।

पक्राउ परेका शाहउपर जिल्ला अदालत काठमाडौँबाट म्याद लिई लागुऔषध नियन्त्रण ब्युरोबाट थप अनुसन्धान भइरहेको जोशीले बताए।