एडीबीले ओखर र फलफूल खेती सुधारका लागि ९ अर्ब लगानी गर्ने

एसियाली विकास बैंकले साधारण पुँजी संशोधनबाट करिब ७ अर्ब ७९ करोड सहुलियत ऋण र एसियाली कोषबाट करिब १ अर्ब ३० करोड रुपैयाँ अनुदान दिने भएको छ।

काठमाडौं– नेपाल सरकार र एसियाली विकास बैंक (एडीबी)बीच नेपालको पहाडी क्षेत्रमा ओखर र फलफूलको खेती सुधारका लागि वित्तीय लगानी गर्ने भएको छ।

सोमबार अर्थ मन्त्रालयमा आयोजित सम्झौता कार्यक्रममा अर्थसचिव कृष्णहरि पुष्कर र नेपालका लागि एसियाली विकास बैंकका देशीय निर्देशक अर्नौड काउक्विइसबीच नेपालको पहाडी क्षेत्रमा ओखर र फलफूलको खेती सुधारका लागि वित्तीय लगानी सम्झौतामा हस्ताक्षर भएको हो।

एसियाली विकास बैंकसँगको सम्झौताअनुसार बैंकले साधारण पुँजी संशोधनबाट करिब ७ अर्ब ७९ करोड सहुलियत ऋण र एसियाली कोषबाट करिब १ अर्ब ३० करोड रुपैयाँ अनुदान दिने भएको छ।

परियोजनाका लागि बैंकले विश्वव्यापी कृषि तथा खाद्य सुरक्षा कार्यक्रमबाट १ अर्ब १७ करोड खर्च र नेपाल सरकारले करिब १ अर्ब ८८ करोड रुपैयाँ लगानी गर्ने सम्झौतामा उल्लेख रहेको छ।

ओखर र फलफूल खेती सुधार परियोजनाबाट प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका करिब ३० हजार घरपरिवार लाभान्वित हुने छन्। जलवायु सहन सक्ने ओखर र फलफूल प्रजातिका बोटबिरुवा नेपालको पहाडी क्षेत्रको १० हजार हेक्टरमा लगाइने सहमति भएको छ।

हस्ताक्षर कार्यक्रममा बोल्दै अर्थसचिव कृष्णहरि पुस्करले एसियाली विकास बैंकले विगतदेखि निरन्तर रूपमा सहयोग गर्दै आएको स्मरण गर्दै अझै सहयोगको अपेक्षा राखेको बताए। उनले नेपालको पहाडी क्षेत्रमा ओखर र फलफूल प्रजाति खेती सुधारको लागि आवश्यक सहुलियत ऋणका विषयमा प्रक्रिया पुर्‍याएर छिटै काम शुरू गर्ने पनि बताए।