भैरहवा औद्योगिक करिडोरमा विद्युत् आपूर्ति व्यवस्थापनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उपलब्ध गराएको बजेटबाट सुनवल सबस्टेसन निर्माण भइरहेको हो।
काठमाडौं– नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका–७ मा १३२ केभी सुनवल सबस्टेसन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। सबस्टेसनको निर्माण एक महिनाभित्र सम्पन्न गरी सञ्चालनमा ल्याउने तयारी भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। हाल सबस्टेसनमा उपकरण जडान भइरहेको प्राधिकरणको भनाइ छ।
प्राधिकरणका अनुसार १३२/३३/११ केभी सबस्टेसनमा ६३ एमभीएका दुइटा, २२.५ एमभीएको एउटा पावर ट्रान्सफर्मर रहने छ। सबस्टेसनबाट स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि ३३ केभीका सातवटा र ११ केभीका चारवटा फिडर निकालिने छन्। हाल सञ्चालनमा रहेको पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइन सुनवल सबस्टेसनमा भित्रिने (लुप इन) र बाहिरिने (लुप आउट) छ। यही १३२ केभी लाइनबाट सुनवल सबस्टेसनमा विद्युत् आपूर्ति दिइने छ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल, लुम्बिनी प्रादेशिक कार्यालयका निर्देशक नवराज ओझालगायतको टोलीले सबस्टेसनको अनुगमन गरी एक महिनाभित्र सञ्चालनमा ल्याउन आग्रह गरे।
टोलीले परासी र भैरहवा क्षेत्रमा निर्माणधीन प्रसारण तथा वितरण लाइनका आयोजनाको प्रगति, आगामी दिनमा नपलपरासी र रूपन्देहीको दक्षिण भेगमा हुने बस्ती तथा औद्योगिक क्षेत्र विस्तारका लागि आवश्यक पर्ने विद्युतीय पूर्वाधारलगायतका विषयमा जानकारी लिएको छ।
"परासी क्षेत्रका सिमन्ट, स्टिललगायतका ठूला उद्योगलाई विद्युत् आपूर्तिका लागि सुनवल सबस्टेसन मेरुदण्ड हो। अहिले बुटवल सबस्टेसनबाट लामो र कम क्षमताको ३३ केभी प्रसारणमार्फत आपूर्ति दिँदा पर्याप्त विद्युत् नपाएको, भोल्टेजको समस्या भएको गुनासो उद्योगीबाट आउने गरेको छ", कार्यकारी निर्देशक घिसिङले भने, "सुनवल सबस्टेसन सञ्चालनमा आएपछि सबै समस्या हट्छ।"
औद्योगिक करिडोरमा विद्युत् आपूर्तिको व्यवस्थापनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत प्राप्त बजेटमा सुनवल सबस्टेसन निर्माण गरिएको हो।
प्राधिकरणले परासी र रूपन्देहीको भैरहवा औद्योगिक करिडोरमा विद्युत्को बढ्दो मागलाई सम्बोधन गर्न, प्रसारण क्षमता वृद्धि गर्न, प्राविधिक चुहावट घटाउन, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि सुनवल (भुमही)–हकुई १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण गरिएको जनाएको छ।
त्यस्तै, नवलपरासीको सुनवल नगरपालिका–१३ मा निर्माण २२०/१३२ केभी नयाँ बुटवल सबस्टेसन निर्माण गरिएको छ। यही सबस्टेसनबाट भारतको गोरखपुरसम्म ४०० केभीको प्रसारण लाइन बन्दै छ।
अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)बाट प्राप्त हुने अनुदान रकमबाट नयाँ बुटवलमा ४०० केभीको सबस्टेसन निर्माण गरिने छ।
प्राधिकरणले नयाँ बुटवल–बर्दघाट २२० केभी २१ किलोमिटर प्रसारण लाइन निर्माण गरिरहेको छ। वन क्षेत्रको जग्गा प्रयोग र रूख कटानको स्वीकृतिमा भइरहेको ढिलाइले लामो समयदेखि प्रसारण लाइन निर्माण प्रभावित भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताए।
नवलपरासी, रूपन्देहीको दक्षिणी क्षेत्रमा आगामी दिनमा हुने विद्युत् मागलाई सम्बोधन गर्न दीर्घकालीन योजनाअन्तर्गत हुलाकी राजमार्गको आसपासबाट नयाँ बुटवल सबस्टेसनबाट कपिलवस्तुको मोतीपुर सबस्टेसनसम्म २२० केभी प्रसारण लाइन निर्माण गरिने उनले बताए।
भैरहवा क्षेत्रको विद्युत् आपूर्तिमा सुधार
विद्युत् प्राधिकरणले योगीकुटी (बुटवल)बाट मैनहियासम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइन र सबस्टेसनको निर्माण सम्पन्न गरी विद्युत् दिन थालेपछि भैरहवा क्षेत्रमा विद्युत् आपूर्तिमा सुधार आएको छ।
रूपन्देहीको भैरहवा क्षेत्रको विद्युत् आपूर्ति भरपर्दो तथा गुणस्तरीय, प्रसारण क्षमता वृद्धि र प्राविधिक चुहावट नियन्त्रणका प्रसारण लाइन र मैनहियामा १३२ केभी सबस्टेसन निर्माण गरी विद्युत् आपूर्ति दिइरहेको छ।
मैनहिया सबस्टेसनबाट भैरहवा क्षेत्रको विद्युत् दिन थालेपछि त्यस क्षेत्रको भोल्टेज सुधार भएपछि उद्योगीबाट गुनासो आउन छाडेको प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले बताए।
स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि मैनहिया सबस्टेसनबाट ३३ केभीका १० वटा फिडर निकालिएको छ। भोल्टेज सुधारका लागि दुइटा क्यापासिटर बैंक राखिएको छ।
मैनहिया सबस्टेसनबाट भारतको उत्तरप्रदेशसँग विद्युत् प्रवाहका लागि १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ। मैनहिया सबस्टेसनबाट भारतको उत्तर प्रदेशस्थित सम्पत्तिया (न्यू नौतनुवा) सबस्टेसन जोड्ने प्रसारण लाइन निर्माण सम्पन्न भएको हो।
भारतर्फको सबस्टेसनमा केही काम बाँकी रहेकाले प्रसारण लाइन सञ्चालनमा आएको छैन। अहिले उत्तर प्रदेशसँग ३३ केभीको मात्र प्रसारण संरचना रहेको छ। मैनहिया–सम्पत्तियाप्रसारण लाइनले नेपाल–भारतबीचको अन्तरदेशीय विद्युत् व्यापारलाई अझ सहज हुने प्राधिकरणले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
