एक महिनाअघि तीन वटा रेल परस्पर ठोकिएर दुर्घटना हुँदा क्षतिग्रस्त रेल लाइन र सिग्नलहरूको मर्मत नसकिँदा बाटोमा रोकिएका कन्टेनरहरु अझै १० दिन अड्किने रेल्वे अधिकारीहरुले बताएका छन्।
काठमाडौँ– सामान्य अवस्थामा एक हप्ताभित्रै आइपुग्ने नेपालका लागि आयाति सामान लादिएका मालवाहक कन्टेनरहरूले यसपटक असार १ गते भारतीय बन्दरगाह आन्ध्रप्रदेशकोे बिशाखापटनमबाट हिँडेर २५ दिनमा आधा बाटो पनि पार गरेका छैनन्। नेपाली आयातकर्ता व्यवसायीहरूले जनाएअनुसार असार १ मा हिँडेको रेक (९० वटा मालवाहक कन्टेनरको खेप) उडिसाको बालासोर रेल्वे स्टेशनमा रोकिएर बसेका छन्। त्यसपछाडिका अरू पाँच वटा ‘रेक’हरूसमेत विभिन्न स्टेशनमा रोकिइराखेको पुष्टि भएको छ।
आयातित मालवस्तु बाटैमा अड्किएपछि आफूहरू मर्कामा परेको व्यवसायीहरूले बताएका छन्। तेस्रो मुलकबाट नेपालको लागि मगाइने मालसमानका कन्टेनरहरू भारतीय बन्दरगाहको बाटो आउँछन्। कोलकाता र बिशाखापटनम गरी दुई ‘गेटवे’बाट नेपाली मालवस्तु भित्रिने गरेका छन्। नेपालले साबिकमा प्रयोग गर्दै आएको कोलकाता बन्दरगाहबाट रेलमार्ग र सडकमार्ग दुवै माध्यमबाट मालसामान आइपुग्छ। पछिल्लो सात वर्षयता नेपालको तेस्रो मुलुकसँगको व्यापारका लागि खुल्ला भएको बिशाखापटनम भएर भित्रिने कन्टेनरहरू रेलबाट मात्र आउने गरेका छन्।
रेलबाट आउने मालसामानका खेपहरू सिधै नेपाल भित्र्याउनुपर्दा वीरगन्जको सिर्सियास्थित सुक्खा बन्दरगाह भएर आउने गरेका छन्। उक्त बन्दरगाह भारतीय रेल सञ्जालमार्फत् त्यहाँका विभिन्न बन्दरगाह र अन्तराष्ट्रिय व्यापारिक जलमार्गहरूसँग जोडिएको छ। बिशाखापटनम भएर भित्रिने कन्टेनरहरू मालवाहक रेलबाट वीरगन्जको सुक्खा बन्दरगाहसम्म ल्याउने क्रममा बाटैमा अड्किएका हुन्। २० फिट लम्बाइका कम्तीका ६ रेक अर्थात ५४० वटा कन्टेनर अहिले बाटोमा अड्किएका छन्।
बिशाखापटनमबाट नेपालका लागि छुट्ने रेलहरू उडिसा प्रान्त भएर आउनुपर्छ। एक महिना अगाडि उडिसाको बालासोरमा तीनवटा रेल परस्पर ठोकिँदा भएको दुर्घटनामा रेल्वे ट्रयाक र सिग्नलहरू क्षतिग्रस्त भएको कारण उक्त रुटमा आवागमन प्रभावित भएको छ। वीरगन्जको सुक्खा बन्दरगाह सञ्चालन गर्ने कम्पनी प्रिस्टाइन भ्याली ड्राइपोर्ट प्रालिका निर्देशक बी. मोहनका अनुसार उक्त दुर्घटनाका कारण अवरुद्ध उक्त रुट पूर्ण रुपमा सञ्चालनमा आइनसकेकाले कन्टेनरहरु रोकिएका हुन्।
गत जेठ १९ गते उडिसाको बालासोरमा दुई वटा यात्रुवाहक र एउटा मालवाह रेल परस्पर ठोकिएर भएको भीषण दुर्घटनामा साढे दुई सयभन्दा बढी यात्रीको मृत्यु भएको थियो भने एक हजार जनाभन्दा बढी घाइते भएका थिए। उक्त रुटमा रेल लाइनको क्षतिग्रस्त भाग र सिग्नलहरूको मर्मत चलिरहँदा यता नेपालको व्यापार प्रभावित हुन पुगेको मोहनले बताए।
पछिल्लो पटक बिशाखापटनमबाट नेपाल आउने कन्टेनरहरूको आगमनमा प्रशासनिक कारणले हुने ढिलाइको समस्या समाधान हुँदै बाटोमा लाग्ने समय पनि घट्दै गएको थियो। “रेल दुर्घटना भएयता पुनः समस्या आएको हो, यसको समाधान हुन अझै कम्तीमा १० दिन लाग्ने जानकारी रेल्वेका अधिकारीहरूले हामीलाई दिएका छन्,” मोहनले उकालोसँगको टेलिफोन संवादमा भने। चीन, खाडी मुलुक र युरोपबाट आएका कन्टेनरहरू बाटोमा अड्किएको ‘रेक’मा परेका छन्। कन्टेनरहरू बाटैमा अड्किँदा व्यापार अवरुद्ध भई दिनदिनै आर्थिक नोक्सानी भइरहेको आयातकर्ताहरूले बताएका छन्।
“मैले मगाएको एउटा कन्टेनर जुन १६ (असार १) मा हिँडेको रेकमा छ। त्यो एउटै कन्टेनरमा ३ करोड रुपैयाँको तामाका रडहरू छन्। लामो समय बाटैमा रोकिँदा त्यसमा लाग्ने बैंकको दैनिक ब्याज अप्रत्यासित रूपमा घाटा भइरहेको छ, यसबाट व्यापार चक्र प्रभावित भएर हुने अरू नोक्सानी त छदैछ,” वीरगन्जस्थित सगरमाथा ट्रेडिङका सञ्चालक प्रदीप केडियाले भने।
उनका अनुसार पहिला सुक्खा बन्दरगाह सञ्चालन गर्ने कम्पनी हिमालयन टर्मिनल्सले नेपाल आउने कन्टेनरहरूको अध्यावधिक जानकारी अनलाइनमै उपलब्ध गराइदिने गरेको कारण यस्तो समस्याबारे तत्काल जानकारी पाइन्थ्यो। अहिलेको सुक्खा बन्दरगाह सञ्चालक कम्पनीले यो सेवा नदिँदा यसपालि अड्किएका कन्टेनरहरूबारे उत्पन्न अन्योलबाट आयातकर्ताहरू बढी चिन्तित छन्। बाटोमा अड्किएका कन्टेनरहरू कहिले आइपुग्ने हुन् भन्न नसकिने जवाफ सुक्खा बन्दरगाह सञ्चालक कम्पनीले दिएको केडियाले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
