काठमाडौँ विश्वविद्यालयबाट मेकानिकल इन्जिनियरिङमा मास्टर्स गरेका श्रीकृष्ण अमेरिका जान भिसा शुल्क तिर्ने लाइनबाटै अचानक घर फर्की गाउँमै 'फार्मस्टे' खोलेर उदाहरणीय व्यवसायी बनेका छन्।
काठमाडौँ– स्याउ फल्ने कुरा चल्नासाथ मनाङ, मुस्ताङ, हुम्ला, जुम्ला आदि हिमाली जिल्लाहरूको चर्चा हुन्छ। तर, काठमाडौँ उपत्यकासँगै जोडिएको काभ्रेमा असारको आधाआधीमा पाक्दै गरेका स्याउको बगैँचा रेखदेखमा रमाइरहेका छन्, श्रीकृष्ण धिताल।
श्रीकृष्णले पाँच वर्षयता बेमौसमी स्याउको स्वाद आफू मात्रै चाखिरहेका छैनन्, पाहुनालाई पनि चखाइरहेका छन्। ठूल्ठूला यी स्याउका रुखहरू उनले २०७४ सालमा रोपेका हुन्। उनका अनुसार यो जातको स्याउले रोपेको डेढ वर्षमै फल दिन्छ।
“यस पटक १०० किलो जति स्याउ फलेको होला, एउटै स्याउ ४०० ग्रामसम्मको छ। रसिलो, मीठो स्वादिलो पनि छ," श्रीकृष्ण आगामी योजनाबारे भन्छन्, "यो स्याउको बेर्ना गाउँभरि नै लगाउने उद्देश्यले काम गरिरहेका छौँ।"
धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयबाट मेकानिकल इन्जिनियरिङमा 'मास्टर्स' गरेका ३४ वर्षीय श्रीकृष्णले आफ्नै घरगाउँमा कृषि उद्यम गरेर देखाएका छन्। पढाइसँगै झन्डै आठ वर्षअघि शुरू गरेको उनको होमस्टे अर्थात् 'फार्मस्टे'मा स्याउ त फलाएकै छन्, त्यसबाहेक स्याउका बिरुवा पनि बेच्छन्।

वर्षको सातदेखि १० हजार स्याउ र अन्य फलफूलका बिरुवा हुर्काउने गरेको श्रीकृष्णकाे अनुभव छ। काभ्रे र सिन्धुपाल्चोक, सोलुखुम्बु, अछाम र रुकुमसम्मका किसानले आफूले हुर्काएका बिरुवा लगेको उनी बताउँछन्। "यी बिरुवाहरू १२०० देखि २५०० मिटर उचाइसम्म रोप्न हामी सिफारिस गर्छौँ," उनी भन्छन्, "सफल भएको उदाहरण मेरै बारीकै स्याउ हो।"
चेनङो स्ट्रबेरी, डोर्सेट गोल्डेन र आन्ना जातका स्याउ उनको बारीमा लटरम्मै फलेका छन्। र उनी यिनै जातका स्याउका बिरुवा पनि उत्पादन गरिरहेका छन्। हिमाली भेकमा फल्ने स्याउ असोजपछि पाक्छ भने यी जातका स्याउ असारको आधादेखि पाक्न शुरू भएर साउनभरमा टिप्न सकिन्छ।
आफ्नै घरसँगैको जमिनमा खोलेको फार्ममा उनले स्याउसँगै चार जातका आरु, आरुबखडा, दुई जातका नास्पाती, किबी, लहरे आँप, खुर्पानी, पेकानट, दाँते ओखर र अमिलो जातका १५ थरी सुन्तला गरी झन्डै ३५ जातका फलफूलका बिरुवा पनि हुर्काइरहेका छन्। उनले २०७५ सालमा नर्सरी स्थापना गरेका थिए।


विषेशगरी पिकानट जुन स्टोरेज गर्न पनि सजिलो र खेर पनि जाँदैन, त्यसको विश्वबजारमा राम्रो मूल्य छ। त्यसको उत्पादन गर्न सकिएमा गाउँगाउँमा रोजगारीको प्रशस्तै सम्भावना देखेकाले उत्पादनमा लागिपरेको उनी बताउँछन्।
“धुलिखेल, नमोबुद्ध र पाँचखाल नगरपालिकाबाट १०० किसान छनोट गरी फलफूल तथा अर्ग्यानिक तरकारी खेती प्रब्द्धर्न गरिरहेका छाैँ,” श्रीकृष्ण भन्छन्, “त्यसबाट आउने आम्दानीले युवाहरू उत्प्रेरित हुनेछन् र एग्रो टुरिजममा उनीहरूलाई समेट्न सकिन्छ भन्ने अभिप्राय हो, गाउँ फर्क अभियानमा यो महत्त्वपूर्ण पाइला हुनसक्छ, म मात्रै फर्केर भएन नि अरूलाई पनि फर्काउने तरिका हो यो।”
‘संस्कृति फार्म एन्ड रिसर्च सेन्टर फूलबारी होमस्टे’ नामक उनको फार्म प्रसिद्ध धार्मिकस्थल नमोबुद्धनजिकै पर्छ।
होमस्टे र फार्मस्टे
पुर्खौली घरभन्दा थोरै तल रहेको यो फार्मलाई उनी होमस्टेभन्दा पनि फार्मस्टे भन्न रुचाउँछन्। पशुपालन, तकार खेती, फलफूलका बोटले घेरिएको छ उनका पाहुना बस्ने घर।

“त्यसैले फार्मस्टे भनेको हुँ,” श्रीकृृष्णले पाहुनालाई जैविक(अर्ग्यानिक) खाना खुवाउने दाबी गर्दै भने, “सम्पूर्ण तरकारी, फलफूलका बोट शुद्ध प्राङ्गारिक मलबाट हुर्केका, बढेका हुन्, बोटबिरुवामा लागेका फल अर्ग्यानिक भएकोमा कुनै शंका गर्नुपर्दैन।”
श्रीकृष्णको अर्ग्यानिक फार्मिङको अभ्यास देखेर अचम्म मान्छन् उनको होमस्टेमा रात बिताएका मेकानिकल इन्जिनियर नै पढेका स्याङ्जाका सागरराज पौडेल।
“इथिकल बिजनेस कम हुँदै गइरहेको छ। नेपालका परिवेशमा यसले विकराल स्थिति लिँदै छ,” उनी भन्छन्, “उहाँले अर्ग्यानिक फार्मिङको अभ्यास गर्नुभएको छ, मलाईचाहिँ अचम्मै लाग्यो। जे खाना खुवाउनुहुन्छ, त्यही नै उमारेको, गाई छ, त्यसैको मल र जैविक मल प्रयोग गर्नुभएको छ। बस्ने सुत्ने ठाउँ अत्यन्तै सफासुग्घर व्यवस्थित, पाहुनालाई सत्कार गर्ने उहाँको शैलीले आफ्नै घरमा बसेको जस्तो अनुभूति दिनेहुँदा कुनै फरक नै पाएनौँ।”
उनले २०७३ सालमा बाँसका कटेज बनाएर होमस्टे सञ्चालनमा ल्याएका थिए। २०७२ सालमा गएको भूकम्पको पीडाबाट देश गुज्रिरहेका बेला उनी र साथीहरू मिलेर ‘रिभर्स माइग्रेसन’ अभियान चलाएका श्रीकृष्ण सम्झन्छन्, “त्यसलाई निरन्तरता दिइरहेका छौँ, म आफूले चाहिँ गाउँमै सम्भावना खोजेँ, भूकम्पले विचलन, आर्थिक संकट मात्रै होइन सम्भावना र अवसरका बाटो पनि ल्याउँदो रहेछ।”

उनले घर पछाडिका अग्लाअग्ला रुख देखाउँदै भने, “मैले नै लगाएर हुर्काएको हुँ।” ढुंगा, काठ र बाँसबाट निर्मित उनका पाहुना राख्ने घर अगाडि दाउरे चुलो बनाएका छन्। जहाँ पिजा, केक, पाउरोटी, बिस्कुट, कुकिज बनाएर खुवाउँछन्। “दाउरा बालेर चुलो तातेपछि थर्मामिटरबाट नापेर निश्चित तापक्रममा पकाउँछौँ,” उनले सोलार चुलो देखाउँदै भने, “दिउँसो घाम लागेको बेला यसैमा दाल, भात, तरकारी पकाउँछौँ, सूर्यको ऊर्जाले।”
प्लास्टिक पोखरी बनाएर बाह्रै महिना तरकारी, फलफूलमा सिँचाइ गर्ने व्यवस्था मिलाएका छन्। घरको छानोबाट पनि पानी संकलन गर्ने संरचना बनाएका छन्।
यो पनि : ‘किसानी पेसा गर्दा प्रोत्साहित होइन, हतोत्साही भइयो’
पोखरीबाट तरकारीमा सोलार प्रविधिबाट सिँचाइ गर्ने व्यवस्था मिलाएका छन्। उनको फार्म नै सोलारयुक्त छ। पर्यटन उद्यममा सिर्जशीलता र नवीकरणीय ऊर्जा विषयक एक प्रतिस्पर्धात्मक कार्यक्रमअन्तर्गत उनले १.४ किलो वाट सोलार प्यानल जितेका थिए। “पम्प र हिटर चलाउनबाहेक सबै सोलारबाटै चलेको छ,” उनले भने।
मौरी पनि पालेका छन्। तरकारीबारी वरिपरि विभिन्न रङमा फुल्ने फूल लगाएका छन्। तरकारीमा लाग्ने कीरालाई अल्झाउन विभिन्न थरिका फूल लगाएको बताउने उनले यसलाई ‘कीरालाई तिरिमिरी’ बनाउने विधि भन्छन्। यी विधि अपनाइयो भने तरकारीमा लाग्ने कीरा फूलमै अलमलिन्छ। उनका अनुसार कृषिमा यो तरिकालाई प्रभावकारी मानिन्छ।

गाईको मलमाथि सागबारी बनाएका छन्। त्यसमा पनि उनको आफ्नै विधि छ। माथिबाट माटो हालेर बनाइएको यो विधिमा कम्पोस्ट मल बनाइन्छ।
पिसाब संकलन गरी बायो पेस्टिसाइजको रूपमा प्रयोग गर्छन्। उनी भन्छन्,“डीएपी युरिया विस्थापित गर्ने यो राम्रो उपाय हो।”
पढाइ इन्जिनियरिङ, यात्रा कृषितिर
श्रीकृष्ण दोस्रो पटक भिसा लिने प्रक्रियामा बैंकमा शुल्क बुझाउन लाइनमा बस्दै गर्दा अचानक अमेरिका जाने विचार त्यागेर लाइनबाट सिधै घर फर्केका थिए।
“प्लस टु सकेर, पासपोर्ट बनाएर अमेरिकाका लागि ट्राई गरेँ, भिसा रिजेक्ट भयो, दोस्रो पटक अन्तर्वार्ताको समय लिन क्यास बोकेर बैंकको ढोकामा लाइन बसिरहँदा म एकाएक घर फर्केँ,” श्रीकृष्ण भन्छन्, "२०६५ सालतिरको कुरा हो, त्यतिखेर अमेरिकामा आर्थिक मन्दी चलिरहेको थियो।”

त्यसपछि उनी काठमाडौँ विश्वविद्यालयमा मेकानिकल इन्जिनियरिङतर्फ 'ब्याचरलर'मा भर्ना भए, २०७० सालमा पढाइ सके। २०७४ सालमा मास्टर्स गरे। ब्याचलर ढ्दापढ्दै राेटयार्क्ट क्लबमार्फत रोटरी क्लबमा जोडिन पुगेका उनले त्यहाँ सामाजिक विकासका विभिन्न गतिविधिमा स्वयंसेवक भएर काम गर्ने अवसर पाए।
“आकाशे पानी संकलन, अर्ग्यानिक खेती, इकोलोजी आदि विषयमा तालिम पाएँ,” तालिमबाट आफ्नै गाउँठाउँमै बसेर धेरै काम गर्ने प्रेरणा पाएको बताउने श्रीकृष्ण भन्छन् “साथीहरू मिलेर रिभर्स माइग्रेसनबारे बहस चलायौँ, आफ्नै घरगाउँमा बस्नुपर्छ भन्दै विदेश जान खोज्नेहरूलाई प्रोत्साहन गर्न थाल्यौँ।” रिभर्स माइग्रेसनलाई उनी 'गाउँ फर्क' भन्न रुचाउँछन्।
श्रीकृष्ण २०६७/०६८ सालदेखि नै रोटरी इन्टरनेसनलसँग जोडिएको हुँदा अन्तर्राष्ट्रियस्तरमै साथीहरूसँगको नेटवर्किङ बढ्दै थियो। आफ्नै घरगाउँमै केही गर्ने रहर भएका उनलाई त्यही सम्पर्कले काम गर्यो।
भोलियन्टर भएर काम गरिरहँदा उनलाई एउटा संयोग जुर्यो, वासिंटन युनिभर्सिटीमा पढ्ने एक साथीले होमस्टे खोल्न उनसँग प्रस्ताव गरे। त्यहाँ उनी अबोर्ड स्टडीका विद्यार्थी थिए। र त्यहाँका विद्यार्थी अध्ययनका लागि बर्सेनि ल्याउने छलफल भयो। उनले यसलाई ठूलो अवसरका रूपमा लिए। होमस्टेमा नेपाली खाना संस्कृति, आकाशे पानी संकलन जस्ता विभिन्न 'कम्पोनेन्ट' राख्न उनलाई भनिएको थियो।

“यसअघि पनि सानोतिनो घरमै होमस्टे चलाइरहेको, मेरो पनि सोच त्यस्तै थियो, अमेरिकी संस्थाले सहयोग गर्ने भएपछि उत्साहित भएँ,” उनी भन्छन् “तर संरचना बनाउन मलाई जम्मा दुई महिना समय दिइयो।”
२०७६ साल जेठ महिनाको शुरूको दिन थियो। उनका साथी साउनमा अमेरिकाबाट विद्यार्थी लिएर आउँदै थिए। जेठ र असार दुई महिनाभित्र संरचना बनाइसक्नु पर्ने थियो। “बाटोघाटो केही थिएन, मान्छेलाई बोकाएर ढुवानी गराएँ, त्यो चुनौतीलाई यति दिलोज्यान दिएर पूरा गरेँ कि, उनीहरू आए, मेरो काम देखेर खुशी भए।”
त्यसपछि जीवनले पूरै कोल्टे फेरेको अनुभूति उनले सुनाए, “मलाई कामको लतले समात्यो।”
उक्त विश्वविद्यालयबाट विद्यार्थीहरू उनको होमस्टे अर्थात् फार्मस्टेमा बर्सेनि आए। जसले गर्दा उनलाई अझै थप काम गर्ने उत्साह र जाँगर मिल्यो
समुदायले नपत्याएको योजना
श्रीकृष्ण इन्जिनियरिङ पढ्दै थिए, ०६७/०६८ सालतिर। त्यतिखेर रोटरी क्लबमा संलग्न थिए। उनलाई क्लबले सामाजिक क्षेत्रमा काम गर्ने विषय छान्न लगाउँदा ‘कृषि गर्न समुदायलाई परेको समस्या’ रोजे।
उनी सम्झन्छन्, “गाउँमा पानीको असाध्यै दुःख थियो, अहिले पनि त्यो कुवा छ, अहिलेचाहिँ इनार बनाएका छौँ, बिहान ३ बजेदेखि कुवामा लाइन लाग्थ्यो, कचौराले उभाएर ग्रागीमा पानी भर्नुपर्थ्यो।”
त्यति बेला उनका बुवाले धेरै भैँसी पालेका थिए, सधैँ पानीको हाहाकार। “दैनिक १०/२० लिटर दूध नबेचे घर चल्दैनथ्यो, त्यही दूध बेचेर हामीलाई पढाउनु भएको, गाउँका अरूको पनि अवस्था त्यस्तै थियो।”

उनी पानीको अभाव समाधान गर्ने उपायको खोजी गर्दै थिए। रोटरीकै अमेरिकन साथी जिम डानिस जो अनुसन्धानकर्ता पनि थिए, उनीसँग श्रीकृष्णको सम्पर्क भयो। उनीसँग निकट भएर धेरै काम गरेका जिमले उनलाई प्लास्टिकको पोखरी बनाउन सुझाए।
श्रीकृष्णले त्यतिबेला यो कुरा समुदायलाई सुनाउँदा खेप्नु परेको विरोध र अवरोध भुलेका छैनन्, “गाउँका सबै खिल्ली उडाउने, प्लास्टिकमा पनि पानी अड्छ भनेर, जति बुझाउँदा पनि गाउँका कसैलाई मनाउन सकिएन।”
उनीहरूसामु ठूलो चुनौती खडा भयो। त्यो परीक्षण गरेर देखाउनु थियो। देखाएर नै समुदायलाई बुझाउनु पर्ने भयो।
यो पनि : प्रम दाहालको त्यो लज्जाबोध मुहार
श्रीकृष्ण भन्छन्, “जिमले म स्रोत जुटाउँछु तिमी व्यवस्थापन गर भने, म पोखरी खन्न थाले, सानो होइन धेरै ठूलो, ६ फिट गहिरो, २५ फिट लम्बाई र १५ फिट चौढाईको पोखरी चिम्ट्याइलो माटो खन्न गाह्रो, दुःखले खनेँ। नीलो प्लास्टिक ल्याएर हाल्यौँ।"
उनका अनुसार त्यो वर्ष परेको पानीले प्लास्टिक पोखरी टनाटन भयो। ५० हजार लिटर पानी संकलन भयो। समस्या हल भयो। हिजो नपत्याउनेहरू मान्न बाध्य भए। सबैले अनुसरण गरे।
सबैको घरको छानाबाट च्यानलाइज गरी पानी संकलन हुन्छ। अहिले गाउँमा बस्तुभाउलाई खुवाउन पानीको दुःख छैन। श्रीकृष्णको पोखरीमा अहिले पनि ६० हजार लिटर जति पानी जम्मा भइरहेको छ।

"त्यो कामले गाउँमा हलचल नै ल्यायो। त्यसपछि गाउँभरी २०० भन्दा बढी प्लास्टिकका पोखरी बनाइयो," उनी भन्छन्।
अनुसन्धान केन्द्रको रूपमा फार्मस्टे
प्राकृतिक फार्मिङ गरिरहेको उनको फार्म अनुसन्धानकर्ता, विद्यार्थीहरूका लागि अवलोकन गर्ने महत्त्वपूर्ण थलो बनेको छ। उनको फार्ममा विभिन्न अनुसन्धानका गतिविधि सञ्चालन भइरहेको छ।
“हाम्रो फार्म युनिभर्सिटी अफ मेरिल्यान्ड, डब्लीन युनिभर्सिटी आयरल्यान्ड आदि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरू मिलेर बायोचार भन्ने प्रविधिको अनुसन्धान र काम भइरहेको छ,” उनी भन्छन्, “मुख्यत माटोको उर्बरता बढाउन, बिरुवाको वृद्धि पोषणमा यो बायोचार मल प्रयोग गरिन्छ, समग्र कृषि उत्पादकत्व सुधार हुन्छ, साथै पशुआहारमा यसको उपयोग हुन्छ।”
बर्ड वाचर, हाइकिङ कल्चर टुर गर्नेहरू र आवासीय तालिम सञ्चालन गर्नेहरू उनका मुख्य ग्राहक हुन्। वातावरणलाई ग्रामीण नेपाली परिवेश दिने कोशिश गरेको हुँदा उनको फार्मस्टे विदेशीहरूका लागि पनि आकर्षणको केन्द्र बनेको छ।

होमस्टेमा बस्न आउने पाहुनाहरूबाट र फलफूलका बेर्ना बेचेर वार्षिक ३० देखि ४० लाखसम्मको आर्थिक कारोबार भइरहेको उनले बताए। अहिले उनको फार्ममा २५ जना जति पाहुना बस्न सक्छन्। पाहुना बढ्न थालेको हुँदा पाँच वटा कोठा थप्दै छन्।
उनले आफ्नो कामको क्षेत्र पनि विस्तार गरेका छन्। उनी जस्तै भएर बस्न चाहने, गाउँठाउँबाट आएर सेवा निवृत्त जीवन बिताउन खोज्नेलाई सल्लाह मात्रै होइन व्यवस्थापन र संरचना निर्माणका कामको जिम्मा पनि उनी लिन्छन्।
स्थानीय सरकारको भूमिका नगण्य
स्थानीय होस् वा प्रदेश र संघीय गाउँमै केही गरेर बसौँ भन्नेहरूका लागि ती निकायका भूमिका सराहनीय नभएको श्रीकृष्णको बुझाइ छ।
“हामी जस्ता किसानलाई स्थानीय निकायले कुनै सहयोग गर्न सकेको छैन। सरकारले पर्यापर्यटन, कृषि पर्यटनलाई सहयोग गर्ने नीति बनाउनुपर्छ,” उनी भन्छन्, “स्थानीय विकास निर्माणको नाममा वातावरणीय र सांस्कृतिक पक्षलाई जोगाउनु पर्छ, त्यस्तो हुन सकेको छैन।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
