Thursday, April 25, 2024

-->

‘किसानी पेसा गर्दा प्रोत्साहित होइन, हतोत्साही भइयो’

मरुभूमिमा उत्पादन भएको बाली देखेर चकित चन्द्रबहादुरले स्वदेशमा ‘सुनै फलाउन’ सकिने सम्भावना देखेर घर फर्के। उत्पादनका लागि सबै पूर्वाधार तयार गरे। तर अब उनीसँग फार्म चलाउने पुँजी छैन।

‘किसानी पेसा गर्दा प्रोत्साहित होइन हतोत्साही भइयो’

काठमाडौँ- इजराइलमा १० वर्ष कृषि फार्ममा काम गरी दुबईको आबुधाबीमा ६ वर्ष कृषि फार्ममा सुपरभाइजर भएर काम गरिरहँदा चन्द्रबहादुरले (४६) सोचे– यो मरुभूमिमा यतिका उत्पादन? मेरो गाउँमा त सुन फल्छ होला। 

घरै फर्केर कृषि कर्म गर्ने अठोट गरे।

गाउँमै ‘सुन फलाउन’ खाइपाई आएको लोभलाग्दो कमाइ त्यागी तातो मरुभूमि छाडेर स्वदेश फर्किए।

शून्यदेखि शुरूआत गरेका चन्द्रबहादुरलाई एकीकृत कृषि फार्म खोल्ने जमिन जोड्न २० महिना लाग्यो। जमिनलगायतका संरचना बनाउँदा नै उनले कमाएर ल्याएको पुँजी सकियो, थप कामका लागि बैंकबाट ऋण लिए। जमिन धितो राखेर लिएको ऋण तिर्न नसक्ने अवस्थामा पुगेका छन् उनी। 

“कृषि फार्ममै काम गर्न छनोट भई सन् २००१ मा इजराइल पुगेँ। पाँच वर्ष ३ महिनाको सम्बन्धन सकिएपछि फर्कनुपर्ने थियो, तर नेपालमा चलिरहेको द्वन्द्वका कारण इजराइल सरकारले ‘जीवन सुरक्षा भनी’ ३ महिना, ६ महिनाको भिसा अवधि थप्ने व्यवस्था गरेको थियो। त्यसरी थप्दै झन्डै पाँच वर्ष धेरै बसेँ।” 

सन् २०११ मा इजराइलबाट नेपाल फर्केको केही समयपछि उनलाई दुबईस्थित आबुधाबीमा एक शेखले चलाएको कृषि फार्ममा सुपरभाइजर भएर काम गर्ने अवसर जुर्‍यो। “मेरो अनुभवको आधारमा बीएसी (एजी) गरेका विद्यार्थीभन्दा म प्राथमिकतामा परेँ। हजारौँ हेक्टरमा चलाएको ‘अलरवाफिड’ कृषि फार्ममा झन्डै ६ वर्ष काम गरेँ,” चन्द्र भन्छन्, “त्यति बेला आफूलाई नेपालमै फार्म चलाउन सक्छु भन्ने पूर्ण विश्वास भयो। र विदेशमा कति बस्नु भनी सन् २०१७ मा नेपाल फर्किएँ।”

जब, उनी गाउँ पुगे। गाउँ खण्डहर भइसकेको थियो। घरका भग्नावशेष झाडीले पुरिएका थिए। आफू हुर्कीबढी खेलेको ठाउँ पत्ता लगाउनसमेत उनलाई गाह्रो भयो। खेतबारी सबै बाँझो, सिस्नो, पातीघारी र जंगलले ढाकिएका थिए।

गाउँका कोही शहर त कोही घरदेखि तीन किलोमिटर जति तल बेँसी पक्की सडक छेउमा घरघडेरी जोडी, गाडी कुद्दा उड्ने धुलोमा हराइरहेका पाए। रोपनीका रोपनी घरघडेरी खण्डहर बनाएर सडक छेउ आनामा रमाइरहेको देख्दा उनलाई त्यस्तै लाग्थ्यो। 

उनको उत्साह अझ उचालियो। सबैका बाँझो जमिन देख्दा अवसरको ढोका अझ फराकिलो देखे। गाउँको सबै जमिन भाडामा लिन उनी कस्सिए।  “गाउँ छाडी हिँडेका सबैलाई जहाँजहाँ बसोबास गरेका छन् भेट्न घरघरमा पुगेँ,” उकालोसँगको कुराकानीमा चन्द्रबहादुर त्यति बेला सबैले निःशर्त जग्गा दिन तयार भएको क्षण सम्झदै भने, “कानून व्यवसायी सँगै लिएर कागजात गर्न जाँदा जग्गाधनी सबैले जति वर्ष चाहिन्छ दिन्छौँ भनी जग्गा दिन तयार भए। सबैसँग १५ देखि २५ वर्षसम्मको कागज गरेको छु। आवश्यक परे अझै समय थपिदिन तयार छन्।”

तनहुँ जिल्ला, तनहुँसुर धारापानी बगालेथापा गाउँ, भानु नगरपालिका–६ मा उनको घर पर्छ। डुम्रे चन्द्रावति भानुमार्गको ११ किलोमिटर, पट्केपसलबाट पश्चिमतर्फ तनहँसुर डाँडा उक्लिँदा तीन किलोमिटरजति माथि दक्षिण–पूर्व फर्किएको रमणीय स्थानमा उनको फार्म छ। फार्मबाट लमजुङ र गणेश हिमालको मनोरम शृंखला देखिन्छ।

चन्द्रबहादुरको फार्मबाट देखिएका हिमाली दृश्य।

यहाँबाट पैदल हिँडेर जान सकिने ऐतिहासिक, धार्मिक र दृश्यावलोकनका लागि गन्तव्य प्रशस्तै छन्। तनहुँसुर दरबार, भानु जन्मस्थल, वसन्तपुर, मिर्लुङकोट महत्त्वपूर्ण स्थान हुन्।  

जिउँदै मर्याको भनी नाम छ कस्को?
उद्यम विना बित्तछ काल जस्को।’

यिनै पंक्ति कोर्ने आदिकवि भानुभक्तको गाउँ चुँदी रम्घा पूर्वतर्फ ऐना हेरेझैँ नाकैमा ठोक्किन्छ चन्द्रको घरगाउँबाट। 

चन्द्रबहादुरको फार्मबाट पारि देखिएको भानुभक्तको गाउँ चुँदी रम्घा।

गाउँलेहरू पनि खुशी भए। बाँझो छाडिएका जमिनमा खेतीपाती हुने भयो भनेर। स्थानीय बगाले गाउँका हाल काठमाडौँ बसोबास गर्ने बाबुराम वाग्ले भन्छन्, “हामी त धेरै खुशी भयौँ, सबै जमिन बाँझो छाडेका थियौँ। कसैले खेती गर्छ भने किन नदिने? हाम्रो परिवारले राजीखुशी आठ रोपनी जमिन दिएका छौँ।” 

स्थानीय झपडबहादुर थापाकहाँ जग्गा माग्न जाँदा उनलाई ‘लिजको रकम चाहिँदैन, तिमी नै चलाऊ। ५० वर्षसम्म खेती गर्छौ भने पनि म छोरानाति सबैले हस्ताक्षर गरेर जग्गा दिन्छु’समेत भने। 

बगाले गाउँको पुछारमा घर भएका चन्द्रबहादुरले रातदिन नभनी जग्गा भाडामा लिने काममा लागे। १२–१५ परिवार गाउँले सबैकहाँ पुगी जमिन भाडामा लिने कागजात गरे। त्यसरी नै उनले ६६ रोपनी जमिन एकीकृत गरे। 

कृषि पेसामा आवश्यक बीउबिजन उत्पादन, परागसेचन, माटो र जग्गा छनोटदेखि, रोप्ने, गोडमेल, सिँचाइ, उत्पादन, फसल काट्ने, वर्गीकरण र बजार व्यवस्थापनसम्मको ज्ञानसीप भएको दाबी गर्ने चन्द्रबहादुर दिनरात नभनी काममा लागेको देख्दा त्यतिखेर वरपरका गाउँका मानिसले उनलाई ‘पागल’समेत भने। आफ्नै बुवाले समेत उनको काम मन पराएनन्।

जंगल झाडीले पुरिएका सबै जग्गा फडानी गरे। डोजर लगाएर जग्गा सम्याए। यी सबै काम गर्न उनलाई वर्ष दिन नै लाग्यो। चन्द्रबहादुर भन्छन्, “त्यति मात्र होइन, गाउँको पाटी–चौतारो र पँधेराको संरक्षण पनि गरेको छु। खण्डहर घरबाहेक त्यहाँका जमिन फेरि सिँचित भएको छ। माटो मलिलो भएको छ। फलफूलका बिरुवा मौलाएका छन्। बिछट्टै स्वादिला तरकारी उत्पादन भएको छ।”

उनको फार्ममा पुग्दा बस्ने घर, गाईबस्तु बाँध्ने गोठ, बारीमा तरकारी, खेतीका लागि तयारी जमिन सबै ठीकठाक अवस्थामा देखिन्छ। उनले समेटेको ६६ रोपनी जमिन सबै प्रयोगमा ल्याएका छन्।

वरिपरि जंगल र बस्ती सबै नै जंगलले ढाकिएका कारण बाघको त्यतिकै जगजगी थियो। अहिले पनि वरिपरि बाघ कराउँछ। तर फार्मभित्र पसेको छैन। फार्मको चारैतिर ठड्याइएका अग्लाअग्ला काठको खाँबाका टुप्पामा १८ वटा  बिजुली बत्ती बाल्छन्। उज्यालोमा बाघ आउन सक्तैन रहेछ। बाँदरबाट उत्पादन जोगाउन दुइटा कुकुरसमेत पालेका छन्, एउटा भोटे र अर्को जर्मन सेफर्ड। 

यद्यपि, पछिल्लो समय हलो कतै अट्केको छ। फार्मको गतिविधि सुस्त छ। लय समात्न  सकेको छैन। चन्द्रबहादुरको छट्पटीले त्यस्तै देखाउँछ। 

“जति कमाएर ल्याएको थिएँ, लगानी गरेर सकियो, कमाइ गर्ने बेलामा फार्म चलाउन गाह्रो भयो। फार्मका कतिपय संरचना बन्ने प्रक्रियामा छन्। आर्थिक अभावले फार्म सञ्चालनमा सकस छ,” उनी भन्छन्, “उत्पादित वस्तुसमेत बिक्री गर्न सकेको छैन। पाँच सात क्विन्टल अदुवा र बेसार त्यसै थन्क्याएर राखेका छु।” उनले तयारी अवस्थामा रहेको कुखुराको खोरमा चल्ला हाल्न नसकेको दुखेसो गरे। 

११ सय निबुवाको बोट, चार सय सुन कागती, ४५ जति अभोकाडो लगाएका छन्। तीबाहेक पहिलेदेखिका रैथाने फलफूल संरक्षण गरेका छन्। लगाएका बिरुवा हर्लक्क हुर्किरहेका देखिन्छन्।

‘फार्म स्टे’ बनाउने उनको सोच हो। त्यसैअनुसार उनले स्थानीय जातका गाईभैँसी, बाख्रा, हाँस पालेका छन्। पानी प्रचुर मात्रामा रहेका कारण विभिन्न पन्छी पाल्ने तयारी पनि उनले गरेका छन्। फार्ममा बस्न चाहेमा २० जनासम्म अट्नसक्ने घर निर्माण गरेका छन्। तर, पैसाको अभावले बस्नयोग्य भइसकेको छैन।

उनले कृषि ऋण लिन निकै पहल गरे। नेपाल बैंक लिमिटेड ऋण दिन इच्छुक पनि भयो। तर उनको काम हेरेरभन्दा पनि उही धरौटी नै खोज्यो, कुरा त्यहीँ टुंगियो। विभिन्न निजी तथा सरकारी बैंक, सहकारी चाहारे। तर ऋण दिन ती संस्थाहरूले उनलाई पत्याएनन्। उनको सीप, क्षमता, उत्साहको कदर गर्ने कोही भएनन्।  

“मैले गरिरहेको काम देखेर कसैले ऋण दिन चाहेनन् उसले दिने रकमभन्दा बढीको ‘कोल्याटर’ पाए मात्र ऋण दिने भन्छन्, त्यसो भए म जग्गा बेचेर नै कृषि फार्म चलाइ हाल्थे नि, किन बैंकको ढोकाढोका चाहर्थेँ?,” चन्द्रको आक्रोश थियो, “कृषि विकास तथा पशुपक्षी मन्त्रालयअन्तर्गतका निकाय चाहिँ समूह, सहकारी खोज्छन्, व्यक्तिलाई विश्वास गर्दैनन्, अब म कहाँ गएर समूह बनाऊँ।”

उनले काम गरेको फार्म देखाएर ऋण नदिएपछि सडकछेउमा रहेको आफ्नो सानो टुक्रा जग्गा धरौटी राखेर एक निजी बैंकबाट १५ लाख ऋण लिए। सबै फार्ममा लगाए। तर अहिले उनलाई त्यो पैसाको ब्याजसमेत तिर्न कठिनाइ भइरहेको छ। “पटक पटक बैंकले फोन गरेर कालोसूचीमा राख्ने चेतावनी दिइरहेको छ,” उनी भन्छन्, “फार्मबाट लगाएको फलफूलबाट आम्दानी लिन अझ चार वर्ष जति लाग्छ। फेरि फाइनान्समा ऋणको लागि कुदिरहेको छु।”

सडक छेउमा रहेको एक रोपनी जमिन बैंकमा राखेर ऋण लिन दौडधूप गरिरहेका छन्। “बैकले धितो मूल्याकंन थोरै गर्छ, त्यति पैसाले मेरो व्यवहार चल्दैन,” उनी निराश सुनिए।

फलफूलका धेरै बिरुवाहरू तनहुँ दमौलीस्थित क्षेत्रीय कृषि निर्देशनालय, कृषि ज्ञान केन्द्रबाट ल्याए। केन्द्रले धेरैथोरै उनलाई सहयोग पनि गरेको छ।

चन्द्रबहादुरले लगाएको तरकारी।

“तर त्यति सहयोगले उहाँले चाहेको र गर्न खोजेको कामका लागि एकछेउ पनि पुग्दैन। विदेशमा राम्रो सीप पाएर आएका उत्साहित युवा हुन्। उनको फार्ममा २–३ चोटि पुगेको छु। उनले गर्न खोजेको काम उदाहरणीय र देशमा अहिले गर्नुपर्ने यस्तै हो।” कृषि ज्ञान केन्द्रका प्रमुख कूलप्रसाद तिवारीले उकालोसित भने, “तर त्यस्ता कृषकलाई सहयोग गर्न सकिने प्रावधान ज्ञान केन्द्रसँग छैन। तर पनि बीउबिजन लगायत साना कृषि औजार दिएर चार/पाँच लाख जतिको सहयोग केन्द्रले गरेको छ।” 

उनका अनुसार रहर र उत्साहले युवाहरू कृषि पेसामा लागेका छन्, तर तिनीहरूको स्थिति बिजोग छ, ऋणमा डुबेका छन्। भएको सम्पत्ति पनि सकेर पुनः बेरोजगार भई विदेशतिरै लाग्नुपर्ने अवस्था छ। त्यसलाई राज्यले सम्बोधन गर्न सकेको छैन। 

“सहकारी र समूहलाई विशेष प्राथमिकतामा राखिएको छ। ८०–९० प्रतिशतसम्म अनुदान सहयोग केन्द्रले दिने गरेको छ, तर व्यक्तिलाई ५० प्रतिशतभन्दा बढी दिन सकिँदैन” ज्ञान केन्द्रका प्रमुख तिवारी भन्छन्, “त्यो रकमले उनीहरूको अट्केको हलो जोतिन्न।”

लामो समय विदेशमा बसी सीप र पैसा लिएर उत्साहसाथ कृषि पेसामा लागेका युवाहरूलाई ध्यानमा राखी राज्यले कार्यक्रम बताउनु पर्ने तिवारीले बताए।

चन्द्रबहादुरले पछिल्लो पटक ज्ञान केन्द्रले दिएको पाँच लाख लिन पनि अस्वीकार गरे। किनभने त्यसमा आफ्नो तर्फबाट पाँच लाख थपेर लगानी गर्नुपर्थ्यो, त्यसको बिल भर्पाई बुझाउनुपर्थ्यो।

“म ढाँट्न सक्तिनँ, त्यो सहयोगले मजस्ता किसानलाई काम गर्नमा भन्दा नगर्न प्रोत्साहित गरेको छ,” उनले अनुदान सहयोग नलिनुको कारण खुलाए, “थप पाँच लाख म कहाँबाट खोजेर ल्याऊँ? फेरि ऋण नै लिनुपर्ने हुन्छ। मेरो काम र फार्म हेरेर कसैले दिँदैनन्।”

जिल्लाका ठूलासाना सबै राजनीतिक दलका नेताहरूकहाँ उनी बरोबर धाइरहेका छन्। सहयोगका लागि अनुरोध गर्न। तर कसैले उनको समस्यालाई गम्भीरतापूर्वक लिएका छैनन्। उनी भन्छन्, “चुनावका बेला चाहिँ हुँदैन भन्दैनन् पछि हामीले भनेको कहाँ मान्छन् र भनेर टालिदिन्छन्।” यद्यपि, नेताकहाँ धाउन र भन्न चाहिँ उनले छाडेका छैनन्। 

चन्द्रबहादुरको फार्ममा निर्माणाधीन संरचना तथा भैँसी–गोठ।

अहिले उनी आफ्नै नगरपालिकामा धाइरहेका छन्। धेरथोर सहयोग पाउने आसमा। 

तर, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले उकालोलाई भने “उनी उत्साही र सीप भएका युवा हुन्। त्यो उनको कामले देखाएको छ। पूरै गाउँको बन्जर भूमिलाई पुनर्जीवन दिएका छन्। उनले खोलेको फार्म धेरै राम्रो छ। गर्नुपर्ने त्यस्तै काम हो। तर उनको आवश्कता अनुसारको सहयोग दिने क्षमता नगरपालिकाको छैन।”

उनका अनुसार मौरीका केही घार, हजारी, बीउ, सानातिना कृषि औजार वितरण गर्नमा नगरपालिका सीमित छ। ५० माहुरीको घार बाँड्ने बजेट हुन्छ, माग दुई सयभन्दा बढीको आउँछ।

उनी गाउँका यस्ता परिश्रमी कृषिप्रति आकर्षित युवाहरूलाई कृषि पेसामा अड्याउन राज्यले स्थानीय निकायमा पर्याप्त बजेट उपलब्ध गराउन सके मात्र सम्भव हुने बताउँछन्। “नत्र अक्षता छरेजस्तो मात्र हो,” उनले भने।

उनलाई कृषिसम्बन्धी विभिन्न कार्यक्रममा पनि बोलाइन्छ। त्यहाँ पनि उनीजस्तै कृषक भेटिन्छन्। पीडा उस्तै सुनाउँछन्। “कृषिको यही काममा हिँड्दा धेरै जनासँग सम्पर्क हुन्छ। कुराकानी हुन्छ, व्यथा उस्तै हो,” उनी भन्छन्, “अब घर न घाटका भएका छौँ।”

करिब दुई वर्षको अवधिमा खेपेको सास्तीले बैंक सहकारी तथा वित्तीय संस्थाहरू कृषक सहयोगी नभएको निष्कर्षमा उनी पुगेका छन्। नगर, प्रदेश र संघीय सरकारका कार्यक्रमसमेत किसानमैत्री नभएको उनको ठहर छ।

“यी निकायमा धाउन थाल्यो भने कृषि कर्मप्रतिको रहर र उत्साह नै मरेर जान्छ,” उनी आफ्नो निचोड सुनाउँछन्, “प्रोत्साहित होइन निरुत्साहित हुन पुग्छौँ।”


सम्बन्धित सामग्री