एडीबीले नेपाललाई साढे ६ अर्ब ऋण दिने

एडीबीले आन्तरिक र बाह्य व्यापारको नीतिगत सुधार कार्यान्वयनका लागि नेपाललाई ५ करोड अमेरिकी डलर ऋण सहयोग स्वीकृत गरेको जनाएको छ। 

काठमाडौँ– एशियाली विकास बैंक (एडीबी)ले नेपाललाई ५ करोड अमेरिकी डलर (६ अर्ब ५८ करोड) ऋण सहयोग गर्ने भएको छ। आन्तरिक र बाह्य व्यापारको नीतिगत सुधार कार्यान्वयनका लागि सो ऋण सहयोग स्वीकृत गरेको एडीबीले जनाएको छ। 

एडीबीका अनुसार, आर्थिक वर्ष २०२२ मा नेपालकाृ कुल गार्हस्थ्य उत्पादनमा व्यापार र उद्योगको योगदान १४.१ प्रतिशत रहेको छ। व्यापार र उद्योगको प्रवर्द्धनको वातावरणमा सुधार र प्राथमिक वस्तुको आपूर्ति प्रणालीमा सुधार गर्दे जीडीपीमा व्यापारको योगदान बढाउन नेपाल सरकारले जोड दिएको पनि उसले जनाएको छ।

एडीबी दक्षिण एशिया विभागका क्षेत्रीय सहयोग तथा सञ्चालन समन्वय निर्देशक थियाम ही एनजीले व्यापार र उद्योग क्षेत्रको विकासले प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्दै मुलुकको दिगो आर्थिक वृद्धिमा मद्दत पुग्ने जनाए।

एडीबीको सहयोगमा सञ्चालित कार्यक्रमले भन्सार महसुल तथा शुल्कको विद्युतीय भुक्तानी लगायत डिजिटल प्रविधिको प्रयोग गर्दै भन्सार प्रक्रिया सहज बनाउने जनाइएको छ। 

भन्सार क्लियरेन्सलाई सहज बनाउनुका साथै अनलाइन भन्सार मूल्यांकन डाटाबेस स्थापना र कागजातको प्रयोग पनि घट्ने एडीबीले जनाएको छ।