पुटिनले आफ्नो वर्चस्व कायम राख्ने र कुनै एउटा समूहलाई अधिक शक्तिशाली हुन नदिने रणनीति अनुरूप 'पालेको' यो प्रतिस्पर्धात्मक अन्तर्द्वन्द्व आखिर उनकै लागि घातक/प्रतिकूल सिद्ध भयो।
रुसी शक्तिकेन्द्र बीचको अस्वस्थ प्रतिस्पर्धा र चरम महत्वाकांक्षाले जन्माएको ३६ घण्टे 'वाग्नर विद्रोह'को तरंग उक्त कु-प्रयासभन्दा लामो समय कयम छ।
यसले विश्व राजनीतिलाई अझै केही समय प्रभावित पारिरहने देखिएको छ। वाग्नर अर्धसैनिक समूहका प्रमुख येभगेनी प्रिगोजिन र रुसी सेनाका शक्तिशाली प्रमुखहरू सर्गेई शोइगु र भलेरी गेरासिमोभबीचकाे अन्तर्द्वन्द्वले बल दिएको यो विद्रोहको पृष्ठभूमिमा रुसले गुमाएको विश्वव्यापी प्रभाव पुनस्थापना गर्ने राष्ट्रपति भ्लादिमिर पुटिनको उद्देश्य रहेको छ।
रुसको रक्षा संयन्त्रमा प्रिगोजिनको बढ्दो प्रभावले आन्तरिक रूपमा यी शक्तिकेन्द्रबीच तनाव उत्पन्न भए पनि युक्रेनसँगको युद्ध, खासगरी बख्मुतमा भएको रक्तपातपूर्ण लडाइँपछि प्रिगोजिनले शोइगु र गेरासिमोभका लागी धेरै अगाडिदेखि पालेको घृणा सतहमा आएको थियो।
पुटिनले आफ्नो वर्चस्व कायम राख्ने र कुनै एउटा समूहलाई अधिक शक्तिशाली हुन नदिने रणनीति अनुरूप 'पालेको' यो प्रतिस्पर्धात्मक अन्तर्द्वन्द्व आखिर उनकै लागि घातक/प्रतिकूल सिद्ध भयो।
प्रिगोजिनको नियति के हुन्छ भन्नेबारे चासो र आन्तरिक राजनीतिमा पुटिनको घट्दो प्रभावको विश्लेषणबीच रुसी महासंघमा यस्ता विद्रोह फेरी दोहोरिने प्रशस्त संभावना देख्न सकिन्छ। मर्सिनरी समूहको यो विद्रोहलाई शोइगु-गेरोसिमोभले प्रारम्भिक चरणमा नै निष्क्रिय बनाउन सफल भए पनि यस्ता विद्रोहले जन्म लिने अवस्था यथावत् रहेको जानकारहरू बताउँछन्।
अमेरिकी खुफिया एजेन्सीका अनुसार रुसमा हाल कम्तीमा १० वटा वाग्नर समूह जस्तै: सुरक्षा-अधिकारी, कुलीन-वर्ग र तेल-कम्पनीद्वारा परिचालित अर्धसैनिक समूह छन्।
विद्रोह मत्थर भएपछि के गर्दैछन् पुटिन?
पुटिनले गत सप्ताहान्तको वाग्नर विद्रोहमा संलग्न मुख्य पात्रमाथि रुसलाई रक्तपातपूर्ण द्वन्द्वमा निसासिएको हेर्न चाहेको आरोप लगाएका छन्।
मंगलबार देशलाई संबोधन गर्दै सिधै प्रिगोजिनको नाम नलिए पनि 'विद्रोहका योजनाकार'लाई दण्डित गर्ने बताएका थिए। वाग्नर सेनामा रहेका 'देशभक्त'लाई सेनामा भर्ती हुन, बेलारुस जान वा घर फर्कन अनुमति दिइने बताए। उनले वाग्नर ग्रुपका सैनिकलाई 'भ्रातृहत्या'मा संलग्न नभएकोमा धन्यवाद दिँदै उनीहरूलाई बेलारुस जान दिने वचन पूरा गर्ने प्रतिबद्धता जनाए।
शनिबारको घटनापछि पहिलो पटक सार्वजनिक रूपमा देखा परेका उनी निकै आक्रामक रूपमा प्रस्तुत भएका थिए। वाग्नर समुहको विद्रोह प्रयासका दौरान हतासिएको प्रतिक्रिया दिएको भनिएका रुसी राष्ट्रपतिले यो सम्बोधनलाई आफ्नो 'अख्तियार' पुनः स्थापित गर्ने मौकाको रूपमा उपयोग गर्दै 'देश र जनतालाई धोका दिने तत्त्वले परिणाम भोग्नुपर्ने' कडा सन्देश दिएका थिए।
सदाझैँ उनले पश्चिमाले रुसी जनता एकआपसमा लडेर मरुन् भनेर चाहेको आरोप लगाए भने यो प्रकरणमा आफ्नो दक्षता र व्यवस्थापकीय क्षमताका कारण देशलाई संकटबाट पार लगाएको उनकाे दाबी छ।
विभाजित वाग्नर समूह
प्रिगोजिनले आफ्नो अर्धसैनिक वाग्नर समूहमा रहेका सबै २५ हजार सदस्यको वफादारी आफूसँगै रहेको दाबी गर्दै आएका छन्। तर उनले नेतृत्व गरेको विद्रोह 'फिर्ता' लिने बित्तिकै धेरै सेना र उनीहरूका आफन्तले प्रिगोजिनको पछिल्लो निर्णयको निन्दा गरेका थिए।
अहिले उनी बेलारुसतर्फ लाग्दा केही सैनिक उनकै साथमा जाने बताएका छन् भने केहीले उनको निर्णयमाथि प्रश्न उठाएका छन्।
नियन्त्रणमा लिइएको रोस्तोभ-ना-दानु शहरबाट मस्कोतर्फ बढेको डफ्फा फिर्ता गर्दै नियन्त्रित शहर छाड्ने प्रिगोजिनको घोषणाबिरुद्ध आक्रोषित सन्देश प्रेषित भएका थिए। "प्रिगोजिनले वाग्नर पिएमसीलाई आफ्नै हातले नष्ट गर्यो, यस विद्रोहलाई अर्थहीन बनायो र सबैलाई हानी पुर्यायो," आफूलाई वाग्नर सैनिक बताउने एउटा अनलाइन पोस्टरले लेखेका छन्।
वाग्नर समूह र युद्ध समर्थक सर्कलका लागि रुसमा टेलेग्राम रोजाइको ‘सोसल मिडिया’ प्लाटफर्म हो, जसले हजारौँ प्रयोगकर्तालाई एकै समयमा अज्ञात सञ्चार गर्ने अनुमति दिन्छ।
त्यही प्लाट्फर्ममा अर्की महिलाले प्रिगोजिनले आफ्नो सैनिकहरूलाई धोका दिएको लेखेकी छन्। "मैले उनीमाथि विश्वास राखेको थिएँ, तर उनले जे गरे, त्यो निन्दनीय छ," उनले लेखेकी छन्। लामो समयदेखी प्रिगोजिनलाई सामाजिक सञ्जालमा प्रभावकारी समूहले समर्थन र उनको विरोधी विशेषतः शोइगुमाथि आक्रमण गर्दै आएका छन्।
तर 'वाग्नर-कम्युटिनी' विकसित हुँदै गर्दा 'ग्रे-जोन' र 'रिभर्स साइड अफ द मेडल' जस्ता ठूला समूह पनि आश्चर्यजनक रूपमा मौन थिए। प्रिगोजिनको कदमलाई सँधै झैं निशर्त समर्थन नगरेर उनीहरू तटस्थ भूमिकामा देखिएका थिए।
प्रिगोजिनलाई 'स्वागत' गर्दै बेलारुस
प्रिगोजिन विद्रोह समाप्तिको तीन दिनपछि बेलारुस निर्वासनमा आइपुगेका छन्। बेलारुसका राष्ट्रपति आलेक्सान्दर लुकाशेन्कोले स्थानीय संचारमाध्यमसँग उनी बेलारुसमा आइपुगेको पुष्टि गरेका थिए।
पछिल्लो पटक प्रिगोजिन शनिबार राति दक्षिणी रुसमा गाडीमा सवार रहेको अवस्थामा देखिएका थिए भने मंगलबार निजी जेटमा बेलारुसी राजधानी मिन्स्क प्रवेश गरेको जानकारी प्राप्त भएको थियो।
लुकाशेन्कोले वाग्नर समूहका सैनिकलाई चाहेको खण्डमा मिन्स्क नजिक रहेको खाली सैन्य आधार-शिविरमा रहने व्यवस्था भएको बताएका छन्। बेलारुसी राष्ट्रपतिले मध्यस्थता गरेको विद्रोहको अन्त्य गर्ने सम्झौताअन्तर्गत प्रिगोजिनलाई सुरक्षा दिने वाचा गरिएको छ भने वाग्नर समूहविरुद्ध आपराधिक मुद्दा खारेज गरिएको छ।
अर्कातर्फ, नेटो सदस्य राष्ट्रहरू पोल्यान्ड, लात्भिया र लिथुआनियाले वाग्नरको बेलारुसमा आगमनले छिमेकी राष्ट्रमा समस्या उत्पन्न हुने चेतावनी दिएका छन्। उनीहरूले भाडाका सैनिक अराजक हुने, तोडफोड र घुसपैठ गर्नसक्ने भन्दै बेलारुसमा शरण दिने निर्णयमाथि आपत्ति जनाएका छन्।
युक्रेन
गत सप्ताहन्त भएको वाग्नर-विद्रोहलाई मध्यनजर राख्दै युक्रेनी राजधानीमा कीभमा 'पुटिनको समय समाप्त हुँदैछ' भन्ने सशक्त धारणा बन्दै गएको छ।
राष्ट्रपति जेलेन्स्कीका निकटतम् सल्लाहकार एन्ड्री यर्माकले पुटिनको 'काउन्टडाउन' शुरू भएको बताएका छन्। "युक्रेनको सन् २०१४ देखिको भोगाई विश्व समक्ष स्पष्ट भएको छ। रूस एक आतंकवादी देश हो जहाँँ वास्तविकतासँग सम्बन्ध नभएको व्यक्तिको शासन छ। विश्वका सबै मुलुकले बुझ्न जरूरी छ कि त्यो देशसँग कुनै पनि प्रकारको गम्भीर सम्बन्ध राख्न असम्भव छ।"
केही दिनअघि युक्रेनी राष्ट्रपति भ्लदिमिर जेलेन्स्कीले पनि रुस (पुटिन) कमजोर भएको र आफ्नै देशमा विश्वसनीयता गुमाएको बताएका थिए। अर्कातर्फ, पूर्वी युक्रेनको क्रामाटोर्स्क शहरमा रुसी मिसाइल प्रहार हुँदा तीन बालबालिकासहित आठ जनाको मृत्यु भएको छ भने कम्तीमा ६० जना घाइते भएका छन्।
युक्रेनी नियन्त्रणमा रहेको तर रुसले कब्जा गरेको भूभाग नजिक रहेको उक्त शहरको केन्द्रमा मंगलबार स्थानीय समय अनुसार बेलुकी ७:३० बजे आक्रमण भएको थियो। मिसाइलले ध्वस्त पारेको भग्नावशेषमा फसेका मानिसको खोजी कार्य जारी छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
