यो कर्णालीको सेरोफेरोमा कुँदिएको वियोगान्त कथा हो। तपाईंको आँखामा आँसु आएन भने, तपाईं नौरतीले काखमा प्रेमले सुमसुम्याइरहने बच्चाजस्तै हो। आँसु त आउँछ नै, हाँस्दाहाँस्दै आउँछ।
शहर रित्तो हुनलाई केही दशकभन्दा बढी समय भोग्नु नपर्ला शायद, जसरी अहिले गाउँहरू रित्ता छन्। यस्तै कुरा मनमा खेलिरहेको बेला कोर्दै गरेको भावना हो यो। यसअघि यस्तै भावना बोकेको छोटो नाटक विद्यार्थीको पाठ्यक्रममा पनि छापिइसकेको छ।
यस लेखाइलाई ‘पज’ गरेर हेर्न पुगेको थिएँ मन्डला थिएटरमा नाटक ‘हिउँभन्दा चिसो।’ उक्त नाटक हेर्नु अगाडि ‘अफर’ आयो कोराघाट नाटक हेर्ने। मन्डलाको सानो थिएटरमा मञ्चन भएको कुमार नगरकोटीको कथामा आधारित नाटक कोराघाटले उत्साहित नपारेको बेला अर्काे सजाय भोग्नु पर्ने हो कि भन्दै मन्डलाको ठूलो हलमा प्रवेश गर्याैं केही थान आमन्त्रित दर्शक। केही दर्शकहरू कोराघाटले अघाए र घरतिर लागे। थिएटरमा पस्ने अनुरोध गर्दा पनि उनीहरूले टेरेनन्।
धन्न कोराघाटको नियति दोहोरिएन। यति मात्रै भन्दा पनि ‘अमेच्योर, बच्चाको काम गर्नेले फुर्ती गर्ने’ भनेर कुरा काट्नेहरू बढ्ने हुन्। बढुन्। कुरा काटिरहेकै छन्। कसैले यसो भन्लान् भन्ने भयले लागेको कुरा नभनी रहन पनि सकिँदैन। यस्तै भयले गर्दा नेपाली रंगमञ्चका समिक्षकहरू हराउँदै छन्। दर्शकहरू पनि घट्दै छन्। नबोलाई स्वतस्फूर्त रुपमा आउने दर्शक कुनै पनि थिएटरमा छैनन्।
हिउँभन्दा चिसो नाटकभित्र प्रवेश गर्नुअघि तलका भावना प्रस्तुत गर्ने अनुमति चाहान्छु। यो अंशले नाटकको केही भाव त बोक्छ नै!
बेबी, नजाऊ है धेरै टाढा
सुत्रधार (रे)
बसपार्क
बस चढने ठाउँ
प्वाँ, प्वाँ, पिँ, पिँ, हल्लाखल्ला
भिड अनेक अनेक
कसले चढ्छ बस?
को फर्किन्छ गाउँ?
हेरिराख्नुस् रमिता, को फर्किन्छ गाउँ?
गाउँ, गाउँ गाउँ, सररर गाउँ
छोड्नेले छाडिहाल्यो छोडिनेको कथा हो
छोडिएपछिको चिसो हुन्छ नि
चिसो, चिसो, चिसो, चिसो सम्बन्धको चिसो
चिसो, चिसो, चिसो, चिसो, समय नै चिसो
हिउँभन्दा चिसो, हिउँभन्दा चिसो।
मेरा बाजे चन्द्र,
चन्द्रले ल्याएथे बाउआमालाई शहर,
हुर्काउन छोरो, पकाउन भात
छोरो हुर्कियो, रहर मेटियो
गाउँ पुर्याउने बस ठ्याक्कै भेटियो
बसपार्कमा आएको चिल्लो गाडी उनकै हो
छेलिएर आँशु पुछ्ने बाउआमा उनकै हुन्
आँशु पुछे छेलिएर, बिदा लिए मुस्कुराउँदै
कार पस्यो भिडभाडमा
बसले ताक्यो गाउँको बाटो।
आमा (सुशीला)
बनाउनु छ आफ्नो छोरो सिपालु सिर्जनशील
सिकाएर सीप, देखाएर बाटो
प्रदूषित पार्क काठमाडौँको
खुला ठाउँ यति नै हो
बेबीको नरम खुट्टा– पाइडलमा।
बेबीको नरम हात– ह्यान्डलमा।
आज सिकाएँ मैले
भोलि पालो बाबाको
जान्यौ, जान्यौ, जान्यौ,
बेबी, साइकल तिमले चलायौ
आई लभ यू प्रकाश, हाम्रो माया गाढा,
पर्खिन्छु यहीँ
बेबी, नजाऊ है धेरै टाढा।
सुत्रधार
गाउँ पुगेका बाउआमा छोरीको शरण
पकाउने, खान दिने नातिनीको भरण
थला परे बुढाबुढी, माया ममता शून्य
आफन्त नातागोता, भेटघाट शून्य।
गर्छिन् छोरी गुनासो,
सम्पत्ति खाने दाजुभाइ स्याहार्ने म
एक रात बुढाबुढी मरे ओछ्यानमै
शव उठाउने को?
शव उठाउने को?
शव उठाउने को?
हुर्किएर प्रकाश
पुगे सात समुद्र पार
बिहे गरे उतै,
जन्म भयो मेरो
तेल भिसा, तेल भिसा, तेल भिसा, तेल
बोलाए बाउआमा दोहोर्याउन खेल
दुई–चार वर्ष रमझम, समुद्रको फोटो
बुढाबुढी बाउआमाको भाग्य नै खोटो
बुहारी एयरपोर्टमा बुढाबुढी छोड्न
प्रकाश उतै पार्कमा साइकल सिकाउन
प्यारो छोरा रेलाई साइकल सिकाउन
पछिल्लो जन्मदिनमा हजुरबाको उपहार
नातिले पाएको त्यही साइकल सिकाउन।
बुबा (प्रकाश)
संसारकै सुन्दर भूमि,
मानिसहरू असल
बनाउनु छ बेबी हाम्रो,
हर कुरामा सफल
सिकाएर सीप, देखाएर बाटो।
विदेशको सुन्दर पार्क,
खुल्ला स्वच्छ सबैतिर,
बेबीको नरम खुट्टा– पाइडलमा।
बेबीको नरम हात– ह्यान्डलमा।
आज सिकाएँ मैले
भोलि पालो ममीको
हजुरबुबा हजुरआमा फर्किनु भो,
आफ्नै देशमा नपुगे बस्ने को?
भो–भो कुरालाई अगाडि नबढाऊ
हजुरबाले दिएको साइकल चलाऊ।
जान्यौ, जान्यौ, जान्यौ बेबी,
साइकल तिमले चलायौ
आई लभ यू रे, हाम्रो माया गाढा,
पर्खिन्छु यहीँ
बेबी, नजाऊ है धेरै टाढा।
डाक्टर (अस्पताल)
अप्रेसन नै गर्नुपर्छ आफन्त खै बुबा?
फोन गर्नुस् है आमा, को छन् आउने?
यहाँ हस्ताक्षर गर्ने, खाना ल्याउने
नदेखाउनू चेक, थान्को लाउनू यो कार्ड
ठूलो घरको छ लालपुर्जा
तर
यो बेला हुन्छ बेकार।
सुत्रधार (रे)
म छु वहाँको आफन्त
हस्ताक्षर गर्ने, खाना ल्याउने
वहाँहरूसँगै यहीँ बसेर सेवा गर्ने
सुनेँ मैले सबैको कथा
बाजे, हजुरबुबा, बुबाको व्यथा
नदोहोर्याउन नियति
फर्कियो तपाईंको नाति।
भरोसा गर्नुस् म माथि।।
गाउँका मानिसहरू शहर आए। गाउँ रित्तो भयो। शहरका मानिसहरू विदेश भासिँदै छन्, कुनै दिन शहर रित्तो हुन्छ नै। यस्तै रित्तो गाउँको कथा हो हिउँभन्दा चिसो। जुन गाउँमा मानिसहरू हैनन्, तिनका आत्माहरूको बास छ। गोपी (गोविन्द सुनार) र गोपीकी श्रीमती नौरती (रेणु नाथ योगी) त्यही आत्माहरूसँग कुरा गर्छन्। आफन्तका आत्माहरू डाकेर सुखदुःख बाँड्छन्। आत्माले अराएको काम गर्छन्। राति सबैका घरमा आफैँ बत्ती बालिदिन्छन्। उनीहरूलाई लाग्दैन, ती घरमा कोही मान्छे बस्दैनन्। आफूलाई नलागेपछि त भइहाल्यो नि, हैन?
खासमा नौरतीको छोरो बिरामी छ। छोराको उपचार गर्न डा. सिद्धान्त (भोलाराज सापकोटा) गोपीसँग उसको घर पुग्छ। तर, डाक्टर हिँडेका थिए अर्कै कामले। आफ्नो भारी बोक्ने भरियाकी श्रीमतीले फोन गरेर छोराको उपचारका लागि डाक्टर ल्याउन भनेपछि डाक्टरको धर्म पूरा गर्नु थियो उनलाई।

डाक्टर ल्याएर छोराको उपचार गर्नु गोपीको इच्छा हैन, उसकी श्रीमतीको इच्छा हो। यति मात्रै भन्नु उपयुक्त लाग्छ मलाई। अरू थाहा पाउन चाहिँ नाटक नै हेर्नुस्। नेपाली नाटक हेर्ने दर्शकले यो नाटक छुटाउनै नहुने केही कारण छन्।
प्रमुख कारण अभिनय नै हो। नौरतीको भूमिका निर्वाह गर्ने रेणु नाथ योगीको अभिनयले कायल बनाउँछ। गोपीको भूमिकामा देखिएका गोविन्द सुनुवार पनि बबाल छन्। यी दुई कलाकारलाई उनीहरूकै आञ्चलिकताले साथ दिएको छ। कर्णालीको खस भाषा थपक्कै टिपेर ल्याएका छन्। नभए भोलाराज सापकोटा पक्कै अगाडि आउँथे।
नाटक हेर्नै पर्ने अर्काे कारण हो, नाटकमा प्रयोग भएको खस भाषा। आञ्चलिक भाषाले असाध्यै मिठास दिएको छ। मञ्च निर्माण पनि नाटकको महत्त्वपूर्ण पाटो हो। संगीत र प्रकाश संयोजन पनि शक्तिशाली छ। यी सबैको संयोजन मिलेको हुनाले नै नाटक शक्तिशाली भएको हो।
डाक्टरको धर्म, श्रीमानको दायित्व र श्रीमतीको बच्चाप्रतिको आशा यही तीनजनाको द्धन्दमा नाटक अगाडि बढ्छ। नाटक मध्यान्हतिर पुग्दा तीनै जना आआफ्नो चरित्रको लक्ष्य प्राप्तिको विन्दुमा पुग्छन्। तर, उनीहरूले मानसिक सन्तुलन गुमाएका हुन् कि जस्तो लाग्छ। हरेक चरित्रको आन्तरिक द्घन्द र बाहिरी द्धन्द्धले दर्शकलाई अनुभूतिको त्यो चरम विन्दुमा पुर्याउँछ।
हरेक दर्शक हाँस्छन्, तथापि यो नाटक दर्शक हँसाउन बनाइएको होइन। यो कर्णालीको सेरोफेरोमा कुँदिएको वियोगान्त कथा हो। तपाईंको आखामा आँशु आएन भने, तपाईं नौरतीले काखमा प्रेमले सुम्सुम्याइरहने बच्चाजस्तै हो। आँशु त आउँछ नै, हाँस्दाहास्दै आउँछ।

अति पीडामा मान्छे किन हाँस्छ? कसरी हाँस्छ? मैले यो नाटक हेरेपछि मात्रै अनुभूत गरेँ। यो मानिसले भोगेको पीडा हो, पीडामा हाँस्न मिल्दैन भनेर आफूलाई रोक्दारोक्दै पनि ओठबाट हाँसो फुस्किजान्छ। तपाईं आफू हाँसेको थाहा पाउनु हुन्न। यो नाटकको बलियो पक्ष नै यही हो। गाउँका मानिसको निर्मल, निस्वार्थी मन, जस्तोसुकै दुःखको पहाडले थिचोस्, मुस्कुराउन सक्ने खुबी, सहयोगी व्यवहार जस्ताको तस्तै ल्याउनु नाटकको गहना हो।
नौरतीलाई सुतेको सुत्यै गर्ने आफ्नो काखे बच्चा हिँडाउनु छ, बोलाउनु छ, पकाएर राखेको दूध रोटी खुवाउनु छ, आफ्नो दूध चुसाउनु छ, बस् त्यति हो। नौरतीको बच्चाको चाहना बिम्ब हो रित्तो समाजको। यो बिम्बमार्फत रित्तो समाजको कथा भन्ने सिपालु निर्देशक हुन् सोमनाथ खनाल।
अभिनयमा निखारता ल्याउन कलाकार छनौटमै निर्देशकले आफनो खूबी देखाए। भारतीय लेखक सौरभ शुक्लाले लेखेको नाटक बरफबाट प्रभावित भनिएको छ। अनुवादमा नम्रता केसीको नाम छ। तर, कुनै पनि दृष्टिकोणबाट अनुवादित नाटक जस्तो लाग्दैन। भारतीय पृष्ठभूमिमा लेखिएको मूल नाटकलाई यसरी कर्णालीको सेरोफेरोमा ढालेर मञ्चन गराउने कला तारिफयोग्य छ।
मन्डला थिएटरले प्रस्तुत गरेको नाटक साउन १४ गतेसम्म मञ्चन हुने छ। रमाइलो, इदमित्थम, तीन ट्रान्जिट निर्देशन गरिसकेका सोमनाथ खनाल मन्डला थिएटरका फाउन्डर पनि हुन्। यो नाटकका सहायक निर्देशक अनुभवी कलाकार इँगिहोपो कोइँच सुनुवार हुन्। प्र्रकाश परिकल्पना पनि उनैको हो। नाटकको मूल भाव बुझाउन प्रकाश मात्रै पनि पर्याप्त छ।
कथा नयाँ नभए पनि भन्ने शैली नयाँ भयो भने रोचक बन्दो रहेछ, हिउँभन्दा चिसो यसको उदाहरण हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
