आफूमातहतका महिला प्रहरीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका एसएसपी पाल यसअघि पनि यस्तै आरोपमा मुछिएका थिए। तर, त्यसबेला जिम्मेवारी खोसिए पनि उनीमाथि कारबाही भएन।
काठमाडौँ– कञ्चनपुरको महेन्द्रनगरस्थित प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) योगबहादुर पालले आफ्नै कार्यालयमा कार्यरत महिला प्रहरीमाथि यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएको छ। दुर्व्यवहारमा परेकी ती प्रहरीले धनगढीस्थित प्रदेश प्रहरी कार्यालयमा पालविरुद्ध उजुरी दिएपछि प्रहरीकै वरिष्ठ अधिकृतबाट भएको यौन दुर्व्यवहारको घटना बाहिर आएको हो।
कानून कार्यान्वयन गर्ने प्रमुख निकाय, नेपाल प्रहरीकै वरिष्ठ अधिकृतले आफूमातहतका जुनियर महिला कर्मचारी (प्रहरी सहायक हवल्दार)माथि यौन दुर्व्यवहार गरेको यो घटना बाहिर आउँदै गर्दा पीडितपक्षले कानूनी कारबाही अघि नबढाइएको आरोपसमेत लगाएका छन्। पीडित महिला प्रहरी हवल्दारका एक आफन्तले कानूनअनुसार कारबाही अघि बढाउनुपर्नेमा त्यसो नगरिएको बताए। “अरूको हकमा यस्तै घटना भएको भए प्रहरीले पक्राउ गरेर अनुसन्धान अघि बढाउँथ्यो। तर, यो केसमा त्यसो गरिएको छैन,” उनले भने, “हाम्रो माग यति हो, यो केसलाई प्रहरीले सामान्य रूपमा लिएर थामथुम नपारिइदेओस्। कानूनबमोजिम अगाडि बढाइदेओस्।”
पालविरुद्ध उजुरी परेपछि प्रदेश प्रहरी कार्यालयले प्रहरी उपरीक्षक (एसपी) श्यामसिंह चौधरीको नेतृत्वमा छानबिन समिति गठन गरेको छ।
नेपाल प्रहरीका प्रवक्ता, डीआईजी कुबेर कडायतले उजुरी परेपछि सम्बन्धित प्रहरी अधिकृतलाई प्रशासनमा हाजिर हुने गरी प्रहरी प्रधान कार्यालयमा बोलाएर बुझ्ने काम भइरहेको बताए। “उहाँविरुद्ध प्रदेश प्रहरी कार्यालयमा दुर्व्यहारको उजुरी परेको छ। त्यसबारे प्रदेशले अध्ययन गर्दैछ,” उनले भने, “प्रशासनमा हाजिर हुन भनिएको हो, थप बुझ्ने काम भइरहेको छ।”
यौन दुर्व्यवहारको आरोप लागेका एसएसपी पाललाई हेडक्वार्टर झिकाइए पनि थप प्रक्रिया अघि बढाइएको छैन। निमित्त प्रहरी महानिरीक्षक, एआईजी टेकप्रसाद राईले भने प्रहरीले कानूनअनुसार नै काम गरिरहेको दाबी गरे।
“यौन दुर्व्यवहारका घटनामा प्रहरी संगठनले शून्य सहनशीलता अपनाउँदै आएको छ। केही समयअघि धादिङमा एक जना इन्स्पेक्टरलाई मुद्दा नै चलाएका थियौँ। यस्ता विषयमा प्रहरी निर्मम हुन्छ,” राईले भने, “उजुरीमाथि छानबिन भइरहेको छ। दोषी देखिएमा के–के कानून आकर्षित हुन्छ, त्यहीअनुसार कारबाही हुन्छ। यसमा केही तलमाथि हुँदैन।”
पाल २०७८ कात्तिक ३० मा एसपीबाट एसएसपीमा बढुवा भएका थिए। पालले भने आफूलाई बदनाम गराउन खोजिएको दाबी गरे। “मलाई परिवारमै बसिखान दिने भएनन्। कोही मलाई सिध्याउन लागेको छ। जहिले पनि यस्ता काण्ड लगाएर सिध्याउने प्रयास भइरहेको छ,” उनले भने, “नेपाल प्रहरी लैंगिकमैत्री छ। यस्तो आरोप पुष्टि भए जेल सजाय हुन्छ। म गलत भए जेल गएको देखिहाल्नु हुन्छ नि।”
निवासमा बोलाएर दुर्व्यवहार
एसएसपी पाल २०७९ पुस २९ गते गृहमन्त्रीस्तरीय निर्णयअनुसार मधेश प्रदेश प्रहरी कार्यालयको शान्ति सुरक्षा महाशाखा जनकपुरबाट महेन्द्रनगरस्थित प्रहरी प्रदेश कार्यालयमा सरुवा भएका थिए। महेन्द्रनगरस्थित सोही कार्यालयमा कार्यरत एक महिला प्रहरी सहायक हवल्दार जेठ १९ गते बिदा स्वीकृत गराएर घर जाने तयारीमा थिइन्। उनले कर्मचारी प्रशासन हेर्ने अधिकृतसँग बिदा स्वीकृत गराइसकेकी थिइन्।
बिदाबारे कार्यालय प्रमुख रहेका पाललाई जानकारी दिइयो। पालले आफ्नो सञ्चार सेटबाटै बिदा जाने हवल्दारलाई आफूलाई भेट्न पठाइदिनू भनेका थिए। त्यहाँ कार्यरत एक प्रहरी अधिकृतका अनुसार त्यसबेला पाल आफ्नो निवासमा थिए।
बिदा स्वीकृत भइसकेकी महिला प्रहरी कार्यालय प्रमुखले नै भेट्नू भनेपछि उनको निवासमा पुगिन्। उनले उजुरीमा उल्लेख गरेअनुसार एसएसपी पालले उनलाई ‘तिमी मलाई मन पर्यो, आज गुड फ्राइडे मनाउनुपर्छ’ भनेका थिए। उनले त्यहीँ नै त्यसको प्रतिवाद गरेकी थिइन्।
“उनी बिदा स्वीकृत गराएर घर जाने तयारीमा थिइन्, त्यही बेला कार्यालय प्रमुखले बोलाएर यौन दुर्व्यवहार गरे। यो विषय उनले तत्काल ड्युटी अफिसरलाई जानकारी दिएर त्यसपछि प्रदेश प्रहरी कार्यालयमा उजुरी दिएकी हुन्,” उनीसँगै काम गर्ने एक प्रहरी जवानले भनिन्, “उहाँ (कार्यालय प्रमुख)ले महिला कर्मचारीसँग गर्ने व्यवहार राम्रो छैन।”
दुर्व्यवहारमा परेकी प्रहरीले घटनाबारे परिवारलाई जानकारी गराएपछि परिवारले पत्रकार सम्मेलन गरेरै घटना सार्वजनिक गर्ने तयारी गरेको थियो। “तर प्रहरीबाटै दबाब आएपछि परिवारले पत्रकार सम्मेलन गरेन। घटना भइसकेपछि पालसाबले सामान्य विषयलाई ठूलो बनाउन हुँदैन भन्दै फकाउने प्रयास पनि गर्नुभयो,” त्यहाँ कार्यरत एक प्रहरी अधिकृतले भने।
पहिले पनि मुछिए, तर कारबाही भएन
एसएसपी पाल पहिलोपटक यस्तो आरोपमा मुछिएका होइनन्। यसअघि उनी सोलुखुम्बु जिल्ला प्रहरी कार्यालय प्रमुखका रूपमा कार्यरत रहँदा पनि यौन दुर्व्यवहारको आरोप लागेको थियो।
सहकर्मीबाट आरोप लागेपछि प्रहरी प्रधान कार्यालयले उनको जिम्मेवारी खोसेको थियो। तर, उनीमाथि त्यसबेला पनि कुनै कानूनी कारबाही अगाडि बढाइएन। अहिले पनि कानूनअनुसार कारबाही नगरेर उन्मुक्ति दिन चलखेल भइरहेको आरोप पीडितपक्षले लगाएको छ।
निमित्त प्रहरी महानिरीक्षक टेकप्रसाद राई भने छानबिनका लागि सम्बन्धित कार्यालयबाट हेडक्वार्टर झिकाइसकिएको, अनुसन्धानबाट जे खुल्छ त्यसैअनुसार कानूनी कारबाही प्रक्रिया अघि बढाइने बताउँछन्।
पाल शुरूमा प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गर्न चाहन्थे। तर उनी प्रहरी निरीक्षकको लिखित परीक्षामै असफल भएका थिए। त्यसपछि २०५२ सालमा राजनीतिक पहुँचको आधारमा राष्ट्रिय अनुसन्धान विभाग (राअवि)मा उनी प्रहरी निरीक्षकमा भर्ना भए।
२०५८ पुस २५ को मन्त्रिपरिषद् बैठकले राअविबाट ३० प्रहरी निरीक्षकसहित ४६ जनालाई नेपाल प्रहरीमा स्थानान्तरण गर्ने निर्णय गरेको थियो। त्यही निर्णयबाट नेपाल प्रहरीमा भित्र्याइएकामध्ये पाल पनि एक हुन्।
राअविका अधिकृतहरूलाई सिधै नेपाल प्रहरीमा स्थानान्तरण गराउन तत्कालीन गृहमन्त्री खुमबहादुर खड्काको जोडबल रहेको प्रहरी अधिकृतहरू बताउँछन्।
पूर्वप्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेलले राअविबाट प्रहरी सेवामा कसरी स्थानान्तरण गराइयो र त्यसका लागि कस्तो दबाब दिइयो भनेर आफ्नो आत्मकथामै लेखेका छन्। खरेल राअविका अधिकृतहरूलाई नेपाल प्रहरीमा स्थानान्तरण गर्ने प्रयासमा सहमत थिएनन्। उनले आफू आईजीपी रहुन्जेल त्यसरी ल्याइएकालाई हेडक्वार्टर प्रवेश नै गर्न नदिने अडान राखेका थिए। त्यहीकारण उनको पालामा यसबारे निर्णय भएन।
पछि प्रदीपशमशेर जबराको पालामा मात्र उनीहरूलाई स्थानान्तरण गरिएको थियो। “उहाँ (आईजीपी जबरा)ले पनि शुरूमा अडान नै राख्नुभएको थियो। पछि सरकारको निर्णय मान्नु नै पर्ने स्थिति बनेको थियो,” एक वरिष्ठ प्रहरी अधिकृत भन्छन्, “पाल मात्र होइन, राअविबाट यसरी नेपाल प्रहरीमा स्थानान्तरण भएका धेरैजसो अधिकृत विवादमा पर्दै आएका छन्।”
पाल महानगरीय प्रहरी वृत्त बौद्धमा कार्यरत रहँदा अर्को एक घटनामा कारबाहीमा परेका थिए। ती अधिकृत पाल पटक–पटक गम्भीर आरोपमा मुछिँदै र विवादमा पर्दै आए पनि प्रहरी संगठनले नै कानूनी कारबाही नगर्दा उनको अराजकता बढेको र फेरि गम्भीर घटनामा मुछिएको बताउँछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
