व्यापार सरकारले होइन निजी क्षेत्रले नै गर्ने हो: मन्त्री रिजाल

पञ्चायतकालदेखि चलिआएको बजेटको परम्परागत प्रणालीलाई परिवर्तन नगरेसम्म देश र उद्योगीहरू सुखी हुन नसक्ने उनको भनाइ छ। 

काठमाडौँ– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सरकार व्यापार गर्ने काममा लाग्नु नहुने बताएका छन्। मंगलबार जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै उनले सरकारले व्यापार गर्ने नभई व्यापारका लागि सहजीकरण गरिदिने बताएका हुन्। 

“सरकारले व्यापार गर्ने होइन, निजी क्षेत्रले गर्ने हो व्यापार भनेको। सरकारले त मात्र सहयोग गर्ने हो। के गर्नुपर्छ बाटो बनाइदिने हो। अहिलेको गठबन्धन सरकारले तपाईंहरूका समस्या समाधान गर्नेछ,” उनले भने। 

वर्तमान सत्ता गठबन्धन ५ वर्ष नै टिक्ने बताउँदै उनले उद्योग क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको उल्लेख गरे। पञ्चायतकालदेखि चलिआएको बजेटको परम्परागत प्रणालीलाई परिवर्तन नगरेसम्म देश र उद्योगीहरू सुखी हुन नसक्ने उनको भनाइ छ। 

संघीय सरकारलाई मात्रै कराएर मात्र देश बन्ने भन्दै उनले सबै मिलेर सहकार्य गरी काम गर्नुपर्ने बताए। उनले पहाडबाट बगेर जाने बालुवाको उत्खनन गरी बिक्री गर्दा विरोध भइरहेको भन्दै असन्तुष्टि जनाए।