ब्याजदर घटाउन माग गर्दै व्यवसायी सडकमा

महासंघले ब्याजदर घटाउनेलगायत माग राखी अर्थमन्त्री जनार्दन शर्मा, नेपाल राष्ट्र बैंकलाई पनि ध्यानाकर्षणपत्र बुझाउने जनाएको छ।

काठमाडौं– ब्याजदर घटाउन माग गर्दै आएका उद्योगी-व्यवसायीले सडक आन्दोलन शुरू गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा उद्योगी-व्यवसायीले शुक्रबार काठमाडौंको माइतीघर मण्डलमा बैंक तथा वित्तीय संस्थाले ब्याजदर दोब्बर गरेर आतंक फैलाएको भन्दै मौन विरोध प्रदर्शन गरेका हुन्।

उनीहरूले मुलुकको उद्योग-व्यवसायलाई बचाउनका लागि एक अंकको ब्याजदर कायम गर्न र तत्कालका लागि लिलामीको नीतिगत व्यवस्था खारेज गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन्। विगत ६ महिनायता मात्रै ब्याजदर दोब्बर वृद्धि हुँदा आफूहरू मारमा परेकाले सरकारविरुद्ध सडकमा उत्रिन परेको महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले बताए।

उनले स्वदेशी उद्योगी-व्यवसायीलाई मारमा पार्ने काम बैंक तथा वित्तीय संस्थाले गरेकाले मुलुकको अनधिकृत व्यापार फस्टाएको भन्दै आक्रोशसमेत व्यक्त गरे।

"एक अंकले बढी नहुने गरी ब्याजदर कायम गर्न सरकारसँग माग गर्दछौँ", उनले भने, "त्यसैगरी बैंक तथा वित्तीय संस्थाहरूले लिलामी गर्न नीतिगत व्यवस्था पनि तत्कालका लागि खारेज गर्न नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूको गम्भीर ध्यानाकर्षण गराउँदछौँ।"

व्यवसायीले सरकारद्वारा बैंकिङ तरलता, ब्याजदर लागत न्यूनीकरणका लागि सुझाव दिन गठित उच्च स्तरीय समन्वय समितिले कामै नगरेको भन्दै आक्रोश पोखेका छन्।

उनीहरूले सेवा शुल्क कम गर्न, ब्याजदरमा स्थिरता कायम गर्न, एक अंकभन्दा बढी ब्याजदर नराख्न माग गर्दै 'प्ले कार्ड' प्रदर्शन गरेका थिए। महासंघले ब्याजदर घटाउनेलगायत माग राखी अर्थमन्त्री जनार्दन शर्मा, नेपाल राष्ट्र बैंकलाई पनि ध्यानाकर्षणपत्र बुझाउने जनाएको छ।