थप २२ मेगावाट बिजुली भारत निर्यातका लागि अनुमति

चिलिमेको अनुमतिसँगै अब दैनिक ३८६ मेगावाट बिजुली भारत निर्यात हुने नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले बताए।

फाइल तस्वीर

काठमाडौं– चिलिमे जलविद्युत् कम्पनी लिमिटेडले उत्पादन गरेको २२ मेगावाट बिजुली भारत निर्यात हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले थप बिजुली भारत निर्यातका लागि अनुमति प्राप्त भएको जानकारी दिए। भारतको केन्द्रीय विद्युत् प्राधिकरणले चिलिमे जलविद्युत् कम्पनीको बिजुली निर्यातका लागि यही कात्तिक १४ गते अनुमति प्राप्त भएको हो।

चिलिमेको अनुमतिसँगै अब दैनिक ३८६ मेगावाट बिजुली भारत निर्यात हुने प्रवक्ता भट्टराईले जानकारी दिए। गत असोज २५ गतेसम्म भारतर्फको विद्युत् निर्यात एक अर्ब युनिट नाघेको प्राधिकरणले जनाएको थियो। त्यसपछिको विवरण पनि आउने क्रममा छ।

नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको थप १००.९ मेगावाट विद्युत् इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्रीका प्रस्ताव यसअघि नै गरेको थियो।

निजी क्षेत्रले निर्माण गरेका २९ मेगावाट क्षमताको लिखूखोला ए, २५ मेगावाट क्षमताको काबेली बी–एक, २२ मेगावाटको माईखोला, १५ मेगावाट क्षमताको हेवाखोला ए र १० मेगावाटको तल्लो मोदी–१ जलविद्युत् गृहबाट उत्पादित एक सय मेगावाट क्षमताको विद्युत् निर्यातको प्रस्ताव गरिएको थियो।

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् गत १९ जेठदेखि इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो। देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारततर्फ निर्यात गरी त्यस अवधिमा सात अर्ब ९३ करोड २२ लाख रुपैयाँ खुद आम्दानी भएको थियो। निर्यात गरिएको विद्युत्को प्रतियुनिट औसत मूल्य सात रुपैयाँ ९१ पैसा रहेको छ।