गएको आमनिर्वाचनमा जाजरकोटको कटिगाउँका घरका भित्तामा टाँसिएका पोस्टर अझै निकालिएका छैनन्। जो नेताका पोस्टर भित्तामा छन्, उनीहरूकै संरक्षणमा साहुकारले स्थानीयलाई उठिबास लगाएका छन्।
काठमाडौँ– जाजरकोट भेरी नगरपालिका–११ कटिगाउँ उर्फ ‘कमरेड गाउँ’का चन्द्रमान तिरुवा, भित्तामा टाँगिएको पोस्टर देखाउँदै भन्छन्, “ऊ त्यसैमा हाल्या हुँ भोट।”
एकतले ‘चन्द्रमान निवास’को भित्तामा अझै पनि २०७९ मंसिर ४ गते भएको संघ र प्रदेशको निर्वाचनका उम्मेदवारको प्रचार सामग्री छन्। निर्वाचन आचारसंहिताविपरीत टाँसिएको पोस्टरमा लेखिएको छ, “प्रतिनिधिसभातर्फ माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत र प्रदेशसभातर्फ नेपाली कांग्रेसका वेदराज सिंहलाई जिताऔँ।”
पोस्टरमा ‘संविधान रक्षाका लागि मत’समेत लेखिएको छ। संविधान रक्षा भयो या भएन चन्द्रमानलाई थाहा छैन, तर उनको जीवनरक्षा गर्न भने मुस्किल छ।
जाजरकोटबाट जितेका बस्नेत अहिले संघीय सरकारको ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री छन्। सिंह पनि कर्णाली प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री छन्। तर, उनीहरूलाई ‘भोट हालौँ’ भनेर पोस्टर बोक्ने र टाँस्दै हिँड्ने कटिगाउँवासी भने साहुकारको ऋणको पासोले ‘मर्नु न बाँच्नु’को अवस्थामा छन्।
यो पनि: साहुको ‘शासन’ले उठिबास लाग्दैगरेको ‘कमरेड गाउँ’
२०६० सालसम्म चन्द्रमानको जीवन राम्रैसँग चलिरहेको थियो। गाउँमा चलेका मिस्त्री थिए। सबै घरको जग खन्दा उनी नै हुन्थे। माटो–कमेरोले लिपेका जगतीपुरका सेता–राता घर उनै चन्द्रमानको पसिनाले बनेका हुन्। त्यसैले घर खर्च चलाउन कठिन थिएन।
पाथी पिठोको ज्यालामा ती घर बनाएको चन्द्रमान सम्झिन्छन्। “अहिले पो सिमेन्टको चल्ती भयो। ज्यालामा पनि पैसाको चल्ती भयो। पहिला मेरो ज्याला मानो पिठो थियो। पछि पाथी नै भयो,” उनी भन्छन्, “पाथी पिठोले परिवार पाल्थेँ, अहिले ऋणले डुबायो। उसले (श्रीमती) पनि छोडेर गइहाली।”
श्रीमती तुलसीको ९ वर्षअघि देहान्त भयो। हुर्केका छोराहरूसँग पनि धुरी छुट्टियो। “साहुले बाँचो गर्ने नाइँ (साहुले बाँच्न दिने छैनन्।) उठ्ने त होला (उठिबास हुने त होला),” आठ सन्तानका बाबु चन्द्रमान भन्छन्, “तागतपागत सकियो। काम गर्न सकिँदैन। म त डाँडामाथिको जुन, अब साहुले जग्गा लिँदा छोराहरू कालिपार (भारत) थिर लाग्ने त होलान्।”
कटिगाउँमा १७० घरधुरी छन्। त्यसमध्ये ८० परिवारलाई ऋणले पासोमा पारेको छ। १२ परिवारको जग्गा साहुले कब्जा गरिसकेका छन्। सिंगो गाउँसँग कारोबार गरेर कटिगाउँलाई कब्जामा दुई जनाले मात्र राखेका छन्। यदुप्रसाद आचार्य र हरिप्रसाद शर्मा। उनीहरूले कटिगाउँमाथि ज्यादती कस्तो छ? त्यसभन्दा डरलाग्दो दृश्य कटिगाउँलाई उठीबास लगाउने नेताहरूकै संरक्षण कस्तो छ? यसबारे खोजमूलक सामग्री उकालोमा प्रकाशित छ। तिनै साहुको ज्यादती चन्द्रमानमाथि पनि छ। हरि शर्मा, चन्द्रमानका साहु हुन्।
“साहु १४ लाख ऋण छ भन्छन्। त्यो सबै पसलबाट उधारो खाएको ऋण हो। तर, हामीले त्यति धेरै खाएका होइनौँ। ०७० साल यता नै यत्रो ऋण लागेको हो,” उनी भित्तामा टाँगिएका चुनावी पोस्टरतिर फर्केर भन्छन्, “यिनीहरू सहायता गर्छु भन्थे। भोट हाल्यौँ। त्यहाँबाट देखिएका छैनन्। के लुकाउनु... उनीहरूलाई नै (भोट) हालेको हुँ।”
चन्द्रमानको मात्र नभई कटिगाउँका अधिकांश घरहरूले उनीहरूको पोस्टर अहिले पनि सुरक्षित राखेका छन्। साहुका नातेदार नेता र साहुलाई नै संरक्षण गर्ने नेताको पोस्टर किन राखेको भनेर चन्द्रमानलाई सोध्दा जवाफ दिन्छन्, “हामीलाई सरकारले हेर्ने छैन। साहुको ज्यादती रोक्ने छैन। जिल्लामा मान्ने नेता उनीहरू नै हुन्। केही गर्छन् कि भन्ने आश लाग्छ।”
चन्द्रमानले मात्र होइन, जसले पीडा दिएका छन् उनीहरूबाटै आशा राख्नेमा सिंगो कटिगाउँ नै छ।
१० वर्षे माओवादी युद्धमा कटिगाउँका अधिकांश परिवारले योगदान गरेका कारण ‘कमरेड गाउँ’समेत भन्ने गरिन्छ। अहिले पनि जिल्लादेखि केन्द्रसम्म प्रभाव जमाएका माओवादी, एमाले र कांग्रेसका कतिपय नेता त्यहीँ वडाका छन्। तर, चुनावमा देखिएका नेता अहिले चन्द्रमानले मात्र नदेखेका होइनन्, अर्का स्थानीय अगुवा तथा निवर्तमान वडा सदस्य नन्दबहादुर विकले पनि देखेका छैनन्।
“चन्द्रमानको मात्र नभई सिंगो गाउँकै अवस्था यहीँ हो। फेरि सबैभन्दा धेरै ठूला नेता यही गाउँमा छन्, सबै पार्टीका,” नन्दबहादुर भन्छन्, “चुनावको अघिल्लो दिन आउँछन् र लौ हजुर भन्छन्। अरू बेला कहाँ जान्छन् थाहा हुँदैन।”
भेरी नगरपालिका वडा नं. ११ नेता उत्पादन गर्ने थलोका रूपमा चिनिन्छ। नेकपा माओवादी केन्द्रका नेता तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रशासनिक सल्लाहकार रामदीप आचार्य, राष्ट्रियसभा सदस्य मायाप्रसाद शर्मा, नेकपा एमालेका युवा नेता निरज आचार्य लगायतका नेता यही वडाका हुन्। पूर्वमन्त्री कृष्ण शाह पनि यहीँका हुन्। माओवादी केन्द्रको प्रदेश कमिटीमा यहाँका ६ जना सदस्य छन्। नेपाली कांग्रेस मुख्यालय सानेपाका सचिव मुक्तिप्रसाद आचार्य पनि यहीँका हुन्। प्रमुख दलका विद्यार्थीदेखि युवा संगठनमा पनि यहाँका नेता छन्।
विडम्बना, उनीहरूकै संरक्षणमा साहुले कटिगाउँमाथि ज्यादती गरिरहेका छन्। सिंगो गाउँमाथिको अत्याचार गर्ने दुई साहुको पहुँच यी नेतामार्फत केन्द्रसम्मै छ। जसले गर्दा कटिगाउँमाथिको ज्यादती रोकिएको छैन।
निवर्तमान वडासदस्य समेत रहेका नन्दबहादुर कटिगाउँको समग्र अवस्थालाई यसरी बेलीविस्तार पार्छन्, “साहुले जग्गा लिनेगरी ऋण नभएको मात्रै १०/१२ घर छौँ। बाँकी सबैको अवस्था उस्तै हो। भारत नगए परिवार पाल्न सकिँदैन। सयौँको संख्यामा युवाहरू भारत छन्। दर्जनौँको संख्यामा खाडीतिर छन्। फेरि सबैभन्दा धेरै ठूला नेता यहीँ गाउँमा छन्। नेताहरूलाई यहाँको भोट मात्रै चाहिन्छ।”
१० वर्षसम्म युद्धमा होमिँदा पनि कटिगाउँको अवस्था नफेरिएको उनी बताउँछन्। सामाजिक हिंसा, गरिबी र अभावले थिलथिलो परेको छ। त्योभन्दा डरलाग्दो चाहिँ साहुले उठीबास लगाउने शासन रहेको उनको गुनासो छ।
साहुको ज्यादती नियन्त्रण गर्न जतिपटक पहल गरे पनि राज्यले नसुनेको नागरिक समाजका अगुवा राजेन्द्रविक्रम शाहले बताए। उनी भन्छन्, “कटिगाउँको विषयमा कसलाई चासो? कसलाई चिन्ता? बारम्बार भेटेर भनेको छु। ज्ञापनपत्र लेखेर भनेको छु। तर जिल्लाका नेताहरूलाई कटिगाउँमाथिको ज्यादती सामान्य लाग्छ। कटिगाउँको दर्द सुन्ने नेता छैन।”
‘कटिगाउँमा शोषण गर्नेलाई नेताकै संरक्षण’

-राजेन्द्रविक्रम शाह
साहुको ऋणको अत्याचार मात्र नभई अशिक्षा, गरिबी र चरम जातीय विभेदमा परेको छ कटिगाउँ। माथि उकास्न केही गर्नुपर्यो भनेर धेरै पटक भन्यौँ, भनिरहेका छौँ। तर सत्ता, शक्तिमा रहेकाहरूको नजर यता परेन।
मैले बस्तीमै पुगेर अवस्था बुझेको छु। उच्च शिक्षामा कसैको प्रवेश छैन। प्राथमिक शिक्षामा गुणस्तर छैन। स्वास्थ्य अवस्था नाजुक छ। आयस्रोत छैन। भारतबाट ल्याएको पैसा साहुलाई बुझाउनुपर्छ। आधारभूत आवश्यकताबाटै बञ्चित छन्। उनीहरूको कुरा कसैले सुन्दैन। साहुको शोषले नागरिकको उठीबास हुँदैछ।
प्रत्येक वर्ष कटिगाउँका सबै पुरुष भारत जान्छन्। उनीहरूसँग रोजगारी छैन। उत्पादन गर्ने ठाउँ छैन। थाप्लोमा ऋणको भारी छ। भारत जाने भनेको एक दिन छाक टार्नका लागि मात्रै हो। कमाएर ल्याएकोले साहुको ऋण तिर्ने कि हातमुख जोड्ने?
त्यहाँ ३ कक्षासम्मको एउटा स्कुल छ। त्यसको व्यवस्थापन साहुकै परिवारको हातमा छ। स्कुलप्रति समुदायको अपनत्व छैन। अनि, उनीहरूको भविष्य उज्यालो हुन्छ? यो सबै हुनुको पछाडिको कारण ऋण हो। सत्ताको पहुँचमा रहेकाहरूले नै उनीहरूको जग्गा हडपिरहेका छन्। शोषण गरिरहेका छन्। उनीहरूलाई नेताकै संरक्षण छ।
कटिगाउँका मान्छेहरूमा आफैँ आत्मनिर्भर बन्न सक्छौँ, उद्यम गर्न सक्छौँ, आफ्नो खुट्टामा उभिन सक्छौँ भन्ने आत्मविश्वास नै गुमिसकेको छ। त्यो अवस्थाबाट हामीले मुक्ति पाउनुपर्छ भन्ने तृष्णासमेत छैन। उनीहरूलाई सामान्य अवस्थामा फर्काउन राज्यले पहल गर्नुपर्छ। मनोवैज्ञानिक काउन्सिलिङ हुनुपर्छ। त्यसको शुरूआत साहुकारमाथि कारबाहीपछि मात्र हुन्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
