३ महिनामा भित्रियो साढे २ अर्बको आलु र १ अर्ब ६८ करोडको प्याज

भन्सार विभागका अनुसार ३ महिनामा नेपालमा २ अर्ब ५४ करोडको आलु, १ अर्ब ६८ करोडको प्याज, २५ करोडको लसुन र ११ करोडको टमाटर आयात भएको छ।

काठमाडौं– राजनीतिक दलहरूले घोषणापत्रमार्फत् आगामी ५ वर्षमा देशले कृषि क्षेत्रमा फड्को मार्ने वाचा बाँडिरँदा आलु, प्याज, लसुन र टमाटरजस्ता कृषिउपज किन्न अर्बौं रुपैयाँ बाहिरिएको भन्सार विभागको तथ्यांकले देखाएको छ।

विभागका अनुसार चालु आर्थिक वर्ष २०७९/०८० को पहिलो ३ महिनामा नेपालमा २ अर्ब ५४ करोडको आलु, १ अर्ब ६८ करोडको प्याज, २५ करोडको लसुन र ११ करोडको टमाटर आयात भएको छ।

यो अवधिमा नेपालले १ अर्ब ६८ करोड १७ लाख ३२ हजार रुपैयाँको ४६ हजार ३३३.४४ टन प्याज आयात गरेको छ। गत आर्थिक वर्षको पहिलो ३ महिनामा १ अर्ब ५८ करोड ८१ लाख ३७ हजार रुपैयाँको ४३ हजार १५४ टन प्याज आयत भएको थियो। प्याज आयातबाट भन्सारलाई २० करोड ७८ लाख २९ हजार रुपैयाँ राजश्व प्राप्त भएको छ।

त्यस्तै, यही अवधिमा २५ करोड ३३ लाख ३३ हजार रुपैयाँको २ हजार ११४.८ टन लसुन भित्रिएको छ। गत आर्थिक वर्षको पहिलो ३ महिनामा २५ करोड १७ लाख रुपैयाँको २ हजार २०० टन लसुन भित्रिएको थियो।

टमाटरको आयात भने अघिल्लो आर्थिक वर्षको तुलनामा ३२.३६ प्रतिशतले बढेको छ। तीन महिनाको अवधिमा ११ करोड ५४ लाख ९७ हजार रुपैयाँको ९ हजार १४३ टन टमाटर आयात भएको विभागको तथ्यांक छ। यो भनेको १२ हजार किलो अट्ने ६ चक्के ट्रकमा करिब ७६२ खेप बराबर हो।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १० करोड ४ लाख रुपैयाँको ६ हजार ९०८ टन टमाटर नेपाल भित्रिएको थियो। यो अवधिमा टमाटर आयातबाट भन्सारलाई १ करोड ५३ लाख ५१ हजार रुपैयाँ राजश्व प्राप्त भएको छ।

पछिल्लो ३ महिनामा आलुको आयात भने १५.७४ प्रतिशतले घटेको छ। यो अवधिमा २ अर्ब ५४ करोड ६२ लाख ३२ हजार रुपैयाँको १ लाख २५८ टन आलु आयात भएको छ। गत आर्थिक वर्षमा १ लाख १८ हजार ९९८ टन आलु आयात गर्दा अर्ब ४७ लाख २७ हजार रुपैयाँ बाहिरिएको थियो। आलु आयात गर्दा भन्सारले ३० करोड ९३ लाख ४५ हजार राजश्व प्राप्त गरेको छ। विभागका अनुसार कृषिउपजमा ‘कृषि सुधार शुल्क’ मात्र लाग्ने गरेको छ।

फूलको आयात बढ्यो
विमागका अनुसार दशैँ र तिहारको बेला धेरै खपत हुने विभिन्न खालका फूल र फूलका कोपिला आयात साढे ६६ प्रतिशतले बढेको छ।

यसपटक तिहार अघिसम्ममा विदेशबाट विभिन्न खालका ताजा फूल, फूलका कोपिला, फूलका हाँगासहितको टुक्रा र सुकाइएका ३४८.२८ टन फूल आयात भएको छ। गत आर्थिक वर्षमा २०९.१८ टन फूल आयात भएको थियो।

यो अवधिमा फूल आयात गर्दा २ करोड ७७ लाख ९७ हजार रुपैयाँ बाहिरिएको छ। गत आर्थिक वर्षमा १ करोड ८४ लाख ९४ हजार रुपैयाँका यस्ता वस्तु आयात भएका थिए। फूलबाट ४१ लाख २५ हजार राजश्व प्राप्त भएको विभागले जनाएको छ।