सरकारले भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिन हुने आश्वासन दिँदै आएको छ। नागरिकहरू भने छानबिनमा दबाब पर्न सक्ने भन्दै सडक आन्दोलनमा उत्रिएका छन्।
काठमाडौँ– नक्सालस्थित नारायणचौरमा नागरिकले भ्रष्टाचारविरुद्ध विरोध प्रदर्शन गरेका छन्। शनिबार सर्वसाधारण नागरिक, बुद्धिजीवी, राजनीतिक दलका नेता तथा विभिन्न पेसा व्यवसायीमा आबद्ध व्यक्तिहरू नारायणचौरमा स्वतन्त्र रूपमा उपस्थित भएर भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका हुन्।
नक्कली भुटानी शरणार्थी प्रकरणमा राज्यकै माथिल्लो तहमा रहेर काम गरेका व्यक्ति मुछिएपछि अहिले देशभर प्रदर्शन भइरहेको छ। नागरिक अगुवाहरू मिलेर भ्रष्टाचार र भ्रष्टाचार ढाकछोपविरुद्ध बृहत् आन्दोलन शुरू गरेका छन्।
प्रदर्शनमा सहभागीले ‘अति भो, अति भो दाइभाउजूबाट देशलाई सास्ती भो’, ‘दाइभाउजू मात्र होइन, भ्रष्टाचारी भए मेरै आमाबाबुलाई पनि कारबाही गर’, ‘भन्नेछौँ हामी बारम्बार भ्रष्टाचारीलाई कारागार’, ‘नेतालाई सधैँ मोज मस्ती, जनालाई सधैँ सास्ती’, ‘किन पक्ष विपक्ष छानबिन गरौँ निष्पक्ष’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

प्रदर्शनका क्रममा धारणा राख्दै नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बहुमतको स्थिर सरकार नभएका कारण निष्पक्ष छानबिन हुने कुरामा आशंका उब्जिएको बताए। उनले जनताले यसैगरी खबरदारी गरिरहे भ्रष्टाचारीहरू बच्न नसक्ने बताए।
“सडक, सदन र सरकारबाट नै नागरिकले खबरदारी गर्नुपर्छ। हामीले खबरदारी गरिरहे भ्रष्टहरू छुट्दैनन्। हामीले यो गर्न सके राजनीतिक शुद्धीकरण र सुशासनको दिशामा जान सकिन्छ,” उनले भने।
आन्दोलनमा सहभागी हुन पुगेका पूर्वप्रधानमन्त्री डा. भट्टराईप्रति नागरिकहरूले असन्तुष्टि जनाएका थिए। उनीहरू यस्ता गतिविधिमा डा. भट्टराई र उनकी धर्मपत्नी एवं पूर्वमन्त्री हिसिला यमिको पनि संलग्नता रहेको भन्दै विरोध जनाएका थिए।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एउटा काण्डको छानबिन गर्दैमा सरकार सफल भयो भन्न नसकिने बताए। उनले भुटानी शरणार्थी प्रकरणलाई सरकारले शुरूआत बिन्दु मानेको भए सरकारलाई धन्यवाद दिनुपर्ने बताए। सरकारले अन्य लाइनमा रहेको काण्डहरूको अनुसन्धान अघि बढाउन रोकिन नहुने उनको भनाइ छ।

“एउटा काण्डको अनुसन्धान खोल्दैमा सरकार सफल भयो भन्दा अलि धेरै हुन्छ। त्यति धेरै पनि नलियौँ होला। आशावादी हुनुपर्छ। धेरै काण्ड लाइनमा छन्। ती काण्ड पनि अनुसन्धान हुनुपर्छ। सरकारले यसलाई शुरूआत बिन्दु मानेको हो भने स्याबास, सरकार तर यो रोकिनु भएन,” उनले भने, “अहिलेलाई विषयान्तर कसैले नगरोस्। आफ्नो दलको लागि दोषीलाई बचाउने छेक्ने ढाँट्ने नगर्नुस्।”
सभापति लामिछानेले सरकारले भ्रष्टाचार गर्ने पूर्वगृहमन्त्रीलाई समेत कारबाहीको दायरामा ल्यायो भन्ने नजिर अन्तर्राष्ट्रिय देशलाई देखाउनु राम्रो भएको उल्लेख गरे। उनले नक्कली भुटानी शरणार्थी प्रकरणका मुछिएकाहरूलाई अनुसन्धानको दायरामा ल्याउन र दोषी देखिएका कसैलाई पनि नछाड्न माग गरे।

त्यस्तै, चिकित्सा शिक्षा अभियन्ता एवं वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले भुटानी शरणार्थी प्रकरणको सत्यतथ्य छानबिन गर्न सरकारले खुट्टा कमाउनु नहुने बताए। भ्रष्टाचारको विस्तृत र निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उनको माग छ। उनले सरकारले शीर्ष नेताहरूको पनि छानबिन गर्नुपर्ने र छानबिनमा दोषी ठहरिए कारबाही गर्नुपर्ने बताए।
“शीर्ष नेता भ्रष्ट नभईकन ऊभन्दा तलको नेता भ्रष्ट हुन गाह्रो छ। निर्दोष हो भने प्रहरीमा उजुरी आउँदैनथ्यो,” उनले भने, “उनीहरू भाग्न खोज्नु र भाग्नुले स्वतः प्रष्ट हुन्छ।” उनले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको पार्टी नेकपा माओवादी केन्द्रलाई भ्रष्टाचारमा भाग नपुगेको हो कि भन्दै आशंकासमेत व्यक्त गरे। “प्रचण्डको पार्टीलाई भाग नपुगेको हो की के हो? तर सबै पार्टी भ्रष्ट नै छन्,” उनले भने।

भुटानी शरणार्थी प्रकरणलाई भित्रभित्रै मिलाउन खोजिएको भन्दै नागरिकहरूले विरोध प्रदर्शन गर्दै सरकारमाथि दबाब दिँदै आएका छन्। यस प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १२ जनालाई प्रहरीले नियन्त्रणमा लिए अनुसन्धान गरिरहेको छ भने पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। साथै सरकारले भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिन हुने आश्वासन दिँदै आएको छ। नागरिकहरू भने निष्पक्ष छानबिनमा दबाब पर्न सक्ने भन्दै सडक आन्दोलनमा उत्रिएका छन्।










Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
