सरकारलाई दिएको समर्थन फिर्ता लिने रास्वपाको निर्णय

रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।

केन्द्रीय समिति र संसदीय दलको शुक्रबारको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको केन्द्रीय सदस्य दीपक बोहराले जानकारी दिए। 

पुस ११ मा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा रास्वपा गृह, शिक्षा र श्रम तथा रोजगार मन्त्रालय लिएर सरकारमा गएको थियो।

पार्टी सभापति रवि लामिछानेको नागरिकता विवादमा अदालतको फैसलापछि उनको सांसदका साथै उपप्रधानमन्त्री तथा गृहमन्त्री पद गुमेको थियो।

नागरिकता पुनः प्राप्ति पछि लामिछानेले फेरि सोही मन्त्रालयका लागि दाबी गर्दा प्रधानमन्त्री दाहालले नदिएपछि सरकारलाई दिएको समर्थन यथावत् राख्दै रास्वपा मन्त्रिपरिषद्बाट बाहिरिएको थियो।