निर्माण, व्यापार र उत्पादन क्षेत्रको वृद्धि ऋणात्मक हुने प्रक्षेपण, सरकारले नै गर्यो आर्थिक मन्दीको संकेत
कृषिपछिको बढी योगदान रहने व्यापारसहित तीन क्षेत्रको वृद्धिदर नकारात्मक हुनु आर्थिक मन्दीकै संकेत भएको विभागका निर्देशक भण्डारी बताउँछन्।
काठमाडौँ– कुल गार्हस्थ्य उत्पादनमा कृषिपछिको बढी योगदान रहने व्यापारसहित तीन क्षेत्रको वृद्धिदर नकारात्मक हुने देखिएको छ। राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७९/८० मा निर्माण, व्यापार र उत्पादन क्षेत्रको वृद्धिदर कोरोना महामारीयता दोस्रोपल्ट ऋणात्मक हुने देखिएको हो।
कार्यालयले चालु आर्थिक वर्ष २०७९/८० मा निर्माण क्षेत्रको वृद्धिदर २.०४ प्रतिशतले ऋणात्मक हुने प्रक्षेपण गरेको छ। विगत १० वर्षयताको तथ्यांक हेर्दा कोरोनाकालमा मात्र मुलुकको निर्माण क्षेत्रको वृद्धिदर ४.३९ प्रतिशतले ऋणात्मक थियो।
चालु आर्थिक वर्षको शुरूआतमा बाह्य क्षेत्र दबाबमा परेपछि विभिन्न वस्तुहरूको आयातमा प्रतिबन्ध लगाएको थियो। यसले कूल विनिमय सञ्चितिसहित मुलुकको बाह्य क्षेत्र सुधार देखिए पनि सरकारको आन्तरिक वित्त व्यवस्थापनमा दबाब देखिएको छ। जसले राजस्व संकलनमा गिरावटसँगै सरकारको विकास निर्माण खर्च बढ्न सकेको छैन।
तथ्यांक कार्यालयका निर्देशक ईश्वरीप्रसाद भण्डारीका अनुसार सरकारी तथा निजी क्षेत्रबाट निर्माण कार्यमा आएको शिथिलता, निर्माण सामग्रीको आयात तथा आन्तरिक उत्पादनमा देखिएको कमीले निर्माण क्षेत्रको वृद्धिदर ऋणात्मक हुने प्रक्षेपण गरिएको हो।
“चालु आर्थिक वर्षमा निर्माण कार्य नै अगाडि बढेको छैन। सरकारको पुँजीगत खर्च पनि भएन,” उनले भने, “अर्कोतर्फ सरकारको राजस्व संकलन लक्ष्यअनुसार भएर परिचालन भएको भए त्यसले सकारात्मक प्रभाव पर्ने थियो, यी सबै कारणहरूले वृद्धिदर ऋणात्मक हुने अनुमान छ।”
सरकारको वित्त व्यवस्थापन चुनौतीपूर्ण अवस्थामा रहँदा त्यसको असर निर्माण क्षेत्रमा परेको निजी क्षेत्रको टिप्पणी छ। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहका अनुसार सरकारले करिब ७० अर्ब रुपैयाँ ठेकेदार कम्पनीहरूलाई भुक्तानी दिन बाँकी छ। निर्माण क्षेत्रमा देखिएको सुस्तले समग्र आर्थिक गतिविधि प्रभावित बनेको उनी बताउँछन्।
यस्तै, चालु आर्थिक वर्ष सकिन साढे २ महिना मात्र बाँकी रहँदा सरकारले विकास निर्माणतर्फ विनियोजित बजेटको ३० प्रतिशत मात्र खर्च गर्न सकेको छ। यसको प्रत्यक्ष प्रभाव निर्माण क्षेत्रमा परेको हो।
व्यापार र उत्पादन क्षेत्र पनि ऋणात्मक
यो वर्ष नाकाबन्दी, कोरोना महामारी नियन्त्रणका लागि लगाइएको बन्दाबन्दीमा जस्तै मुलुकको व्यापार र उत्पादन क्षेत्रमा पनि शिथिल बन्ने देखिएको छ। चालु आर्थिक वर्षमा व्यापार क्षेत्र पनि २.६२ प्रतिशतले ऋणात्मक हुने प्रक्षेपण तथ्यांक कार्यालयले गरेको छ।
यसअघि कोरोना महामारीको समय आर्थिक वर्ष २०७६/७७ मा ११. ३९ प्रतिशत र भारतको अघोषित नाकाबन्दीताका २०७२/७३ मा २.५६ प्रतिशतले व्यापार (थोक तथा खुद्रा व्यापार, गाडी तथा मोटरसाइकल मर्मत सेवा) क्षेत्र ऋणात्मक थियो।
यी दुई आर्थिक वर्षपछि फेरि मुलुकको व्यापार क्षेत्र पनि शिथिल देखिएको तथ्याकंले देखाएको छ। आयात तथा आन्तरिक उत्पादनमा देखिएको गिरावटले यो क्षेत्रको वृद्धिदरमा नकारात्मक असर परेको तथ्यांक कार्यालयले जनाएको छ। गत आर्थिक वर्ष २०७८/८९ मा व्यापार क्षेत्रको वृद्धिदर ७.०८ प्रतिशत थियो।
यस्तै, चालु आर्थिक वर्षमा मुलुकको उत्पादन क्षेत्रमा पनि २.०४ प्रतिशतले नकारात्मक हुने तथ्यांक कार्यालयको प्रक्षेपण छ। १० वर्षको अवधिको तथ्यांक हेर्दा कोरोना महामारी नियन्त्रणका लागि लगाइएको बन्दाबन्दी र २०७२/७३ को नाकाबन्दीको समयमा यो क्षेत्र नकारात्मक थियो।
तथ्यांक कार्यालयका निर्देशक ईश्वरी भण्डारी सरकारले चालु आर्थिक महिनामा बाँकी रहेको पुँजीगत खर्च लगायतका आर्थिक क्रियाकलाप बढाउन नसके आर्थिक वृद्धिदर योभन्दा अंकले ऋणात्मक हुन सक्ने बताउँछन्।
“एउटा क्षेत्र सकारात्मक हुँदा त्यसको मल्टिपल असर अन्य क्षेत्रहरूमा पर्छ, त्यहाँबाट आम्दानी आश्रित हुनेले निर्माण बढाउँछ, थप होटल रेस्टुरेन्टमा जान्छ, पैसा त्यसरी च्यानलिङ हुन्छ, बाँकी तीन महिना पनि खराब नै भयो भने अझै बढी असर गर्न सक्छ,” उनले भने।
कुल गार्हस्थ्य उत्पादनमा कृषिपछिको बढी योगदान रहने व्यापारसहित तीन क्षेत्रको वृद्धिदर नकारात्मक हुनु आर्थिक मन्दीकै संकेत भएको विभागका निर्देशक भण्डारी बताउँछन्। “यसले आर्थिक मन्दीकै संकेत गर्छ, तीन वटा सेक्टर नकारात्मक हुनु भनेको आर्थिक मन्दीको संकेत हो, तर मन्दीमै गइसकेको अवस्था भने होइन,” उनले भने।

उत्पादन, व्यापार र निर्माण क्षेत्रको असर आर्थिक वृद्धिदरमा
उत्पादन, व्यापार र निर्माण क्षेत्रमा शिथिलता देखिँदा त्यसको असर आर्थिक वृद्धिदरमा परेको छ। सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत ८ प्रतिशतको वृद्धिदर हासिल गर्ने लक्ष्य लिएको थियो। तर, तथ्यांक कार्यालयले भने आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा खुम्चिने अनुमान गरेको छ। गत आर्थिक वर्षमा यस्तो वृद्धिदर ५.३ प्रतिशत थियो।
तथ्यांक कार्यालयका निर्देशक गणेशप्रसाद आचार्यका अनुसार व्यापार, निर्माण र उत्पादन क्षेत्रमा देखिएको मन्दीले आर्थिक वृद्धिमा असर पार्ने देखिएको छ। विकास निर्माणका क्रियाकलापमा आएको सुस्तता, सरकारले लक्ष्यअनुसार खर्च गर्न नसक्दा र आन्तरिक उत्पादनमा कमी आउँदा त्यसको असर समग्र आर्थिक वृद्धिमा परेको उनको भनाइ छ।
भर कृषि क्षेत्रकै
चालु आर्थिक वर्षमा मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा सबैभन्दा धेरै कृषि क्षेत्रको योगदान २४.१२ रहेको तथ्यांक कार्यालयको अनुमान छ। यो क्षेत्र २.७३ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको छ। यस्तै, जीडीपीमा दोस्रो बढी (१५.३९) प्रतिशत योगदान रहने व्यापार क्षेत्रको वृद्धिदर ऋणात्मक हुँदा यसको असर आर्थिक वृद्धिमा पर्ने आचार्य बताउँछन्। यसका अलावा मुलुकको औद्योगिक उत्पादन पनि शिथिल देखिएको छ।
“औद्योगिक उत्पादन कम भयो, निर्माण गतिविधि बढेको भए, त्यहीअनुसार नेपालमा सिमेन्ट, रड लगायतका निर्माण सामाग्रीको उत्पादन बढ्थ्यो, विदेशबाट पनि निर्माण सामग्रीको आयात हुन्थ्यो,” आचार्य भन्छन्, “मुख्य रूपमा निर्माणमै शिथिलता देखियो, बैंकहरूले ऋण दिएनन्, राष्ट्रिय गौरवका आयोजनाहरूले गति लिन सकेनन्, त्यसकै असर देखियो।”
कार्यालयले मंगलबार सार्वजनिक गरिएको आर्थिक वर्ष २०७९/८० को वार्षिक राष्ट्रिय लेखा अनुमान साउनदेखि फागुनसम्मको यथार्थ विवरण र त्यसपछिका चार महिनाको अनुमानित आर्थिक क्रियाकलापका आधारमा तथ्यांक विश्लेषण गरी तयार गरिएको जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
