अयोग्य लडाकुलाई २ लाख दिने सरकारको निर्णयविरुद्ध कांग्रेस सांसदले सदनमा जनाए आपत्ति

सत्तारूढ दल नेपाली कांग्रेसका सांसद प्रदीप पौडे‍ल र रामहरि खतिवडाले सदनमा माओवादी अयोग्य लडाकुलाई २/२ लाखका दरले राहत दिने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन्।

काठमाडौँ– सत्तारूढ दल नेपाली कांग्रेसका सांसदहरूले माओवादी अयोग्य लडाकुलाई २/२ लाखका दरले राहत दिने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन्। शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रसका सांसद प्रदीप पौडेल र रामहरि खतिवडाले सरकारको निर्णयविरुद्ध आपत्ति जनाएका हुन्। 

विशेष समय लिएर बोल्दै सांसद पौडेलले आर्थिक संकट बेला सरकारले संसद् छलेर सो निर्णय गरेको भन्दै आपत्ति जनाए। सांसद पौडेलले यसबारे संसद्लाई तत्काल जानकारी गराउन पनि सरकारसँग माग गरे। 

"अयोग्य लडाकुलाई २/२ लाख रुपैयाँ निर्णय भएको भन्ने कुरा विभिन्न माध्यमाबाट बाहिर आइरहेको छ। यस्तो आर्थिक संकटको बेलामा यो निर्णय अपारदर्शी ढंगले संसद्लाई छलेर गर्नु स्वाभाविक होइन। त्यसकारण म सर्वप्रथम सभामुखमार्फत सरकारलाई माग गर्न चाहन्छु–यो विषयमा के भएको हो? यथार्थ जानकारी सदनलाई गराइयोस्," उनले भने। 

त्यस्तै, कांग्रेसका सांसद खतिवडाले पनि माओवादीका अयोग्य लडाकुले २ लाख दिन लागिएको भन्दै सदनमा असन्तुष्टि व्यक्त गरे। उनले अयोग्यलाई मात्र नभई नेपालको योग्य नागरिकलाई पनि २ लाख दिइयोस् भन्ने माग गरे। उनले अहिले आर्थिक अवस्था कमजोर भएका बेला अयोग्यका नाममा रकम बाँड्न बन्द गर्न सरकारलाई आग्रह गरे।