आईपीएलमा दिल्लीको पहिलो जित

कोलकत्ताले दिएको १२८ रनको विजयी लक्ष्य दिल्लीले १९.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो।

काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल)को जारी सिजनमा दिल्ली क्यापिटल्सले पहिलो जित दर्ता गरेको छ।

बिहीबार घरेलु मैदानमा कोलकत्ता नाईट राईडर्सलाई ४ विकेटले पराजित गर्दै दिल्ली विजयी भएको हो। १२८ रनको विजयी लक्ष्य दिल्लीले १९.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो।

दिल्लीका ओपनर तथा कप्तान डेबिड वार्नरले ५७ रन बताए। उनले ४१ बलमा ११ चौका प्रहार गरे। मनिष पान्डेले २१ तथा पृथ्वी शाले १३ रनको योगदान दिए। 

कोलकत्ताका अनुकुल रोय, वरुण चक्रवर्ती र कप्तान नितिश राणाले समान २/२ विकेट लिए। 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले १२७ रन मात्र बनायो।

कोलकत्ताका ओपनर जेसन रोयले ४३ रनको योगदान दिए। उनले ३९ बलमा ५ चौका र १ छक्का प्रहार गरे। आन्द्रे रसेलले ३८ रन बनाए। उनी ३१ बलमा अविजित रहे।

दिल्लीका एनरिच नोर्टजी, अक्षर पटेल, कुलदिप यादव र ईशान्त शर्माले समान २/२ तथा मुकेश कुमारले १ विकेट लिए।

दिल्ली ६ खेलमा २ अंकसहित दिल्ली पुछारमा छ। समान खेलमा ४ अंक जोडेको कोलकत्ता आठौँ स्थानमा छ।