समाजको चरित्र यस्तो रहेछ, जसले कुनै कुरा बिर्सन दिँदैन। रेकर्ड राखिरहन्छ। कोही आफ्ना वा गाउँका मानिसलाई चिनाउँदा पनि ‘चौकीमा सुई लगाउँदा बितेको टिचर थिइन् नि, उनकी छोरी’ भनेर चिनाउने क्रम अझै जारी छ।
सत्यलाई स्वीकार्न मन नलाग्ने, तर स्वीकार गर्नैपर्ने एउटा संघर्ष। त्यही संघर्षले सम्झाइरहन्छ बिर्सन खोजेका पलहरू।
हरेक वर्ष आउने मातातीर्थ औँसीलाई सामना गर्न मुस्किल छ। तर, सामना गर्नैपर्छ। जारी छ सामना गर्ने संघर्ष।
ती पुराना र धुमिल सम्झना।
म मनमस्तिष्कमा पैदा भएका भावनाहरूलाई सहजै व्यक्त गर्न सक्छु। तर एउटा भावना यस्तो छ, जसबाट भाग्नु नै उत्तम विकल्प ठान्छु।
छापिएका यी शब्द पनि धेरै संघर्ष गरेर लेखेको हुँ। यी हरेक शब्दको लेखनी पीडादायी भए।
०००
एउटा अभाव, बेलाबखत बिरामी हुँदा महसुस हुने अभाव।
मामाघरबाट अजा–अजी (हजुरबुवा–हजुरआमा) आउनु हुँदा, अनि मातातीर्थ औँसीमा महसुस एकै व्यक्तिको मात्र अभाव।
साथीभाइ माझ आफ्नो ममीबारे हुने कुराकानी, उनीहरूलाई आउने आमाको फोन।
केही दिनअघि घर फर्कने क्रममा बसको सिटमा सँगै रहेकी एक बहिनीलाई फोन आयो। बाहिर पानी परिरहेको थियो। ‘ममी’ भनेर नाम सेभ रहेछ। फोनमा उनलाई आमाले पानी परेको बेला न्यानो कपडा लगाएर निस्किएको हो कि होइन भनेर सोधेको मेरो कानमा ठोक्कियो। केही झर्किएर उनले ‘लगाएको छु’ भनिन्।
एकछिन त रिस पनि उठ्यो, कस्तो झर्केको होला। पछि सोचेँ– मेरो पनि आमा हुनु भएको भए म पनि यस्तै भन्थेँकी!
फेरि एकैछिनमा दुःखी पनि भएँ, मलाई यस्तो फोन कहिल्यै आउने छैन। आमाको यस्तो ख्याल नपाएको १८ वर्ष बितेछ। मेरो मोबाइलमा ‘ममी’ भनेर सेभ हुने नम्बर रहेनछ।
अभाव महसुस गर्न बिमारीको समय मात्र होइन, यस्तै मिहिन समय नै काफी हुँदा रहेछन्।
त्यसो त, मानव जीवनमा अनेकन् कुराको अभाव हुन्छन्। तर, जीवनका १८ वर्षसम्म महसुस गरेको यो अभावबाहेक मलाई अन्य केही कुनैले खास दुखाउँदैन।
दुई वर्षअघि मेरो कान्छो मामाको बिहे भयो। बिहेको लागि मामाघर (उदयपुर)बाट अजा पनि आउनु भएको थियो। अजालाई देख्नेबित्तिकै एउटा धुमिलो अनुहार आकृतिको सम्झनाले फेरि झसंग भएँ। सायद, १८ वर्षपछि फेरि उस्तै अनुहार, उस्तै आभास। जुन आभास कहिलेकाहीँ सपनामा बाहेक कहिले महसुस भएन। अजा र नातिनी दुई पुस्तालाई जोड्ने बीचको एउटा पुस्ताको अभाव।
आमा गुमाएको त्यो दिन
त्यो दिन, साउन ३० गते। रोपाइँको समय भएको कारण ममी, बुबा बिहानै धान गोड्न खेतमा जानुभयो। दिदीले मलाई र भाइलाई खानपिन गराएर स्कुल पठाइन्।
हामी छिमेकी गाउँ बागेश्वरीमा पढ्न जान्थ्यौँ। दिदी भने भक्तपुरको इष्ट पोइन्ट एकेडेमीमा कक्षा ६ मा पढ्थिन्। म र भाइ सोही स्कुलको शाखा बागेश्वरी इष्ट पोइन्टमा पढ्थ्यौँ। म २ कक्षामा पढ्थेँ, भाइ युकेजीमा। ममीले पनि त्यहीँ पढाउनु हुन्थ्यो।
स्कुलको ‘फस्ट आवर’मा १५ मिनेटको ब्रेक हुने गर्थ्यो। उक्त ब्रेकमा पानी खाने, शौचालय जाने सुविधा थियो। म पनि शौचालय गएँ। शौचालयमा लाइन बस्दा ममी युकेजी कक्षामा क्लास लिइरहनु भएको थियो। मैले एक झलक ममीलाई देखेँ। गएर कुरा गर्न मन भयो। तर, फेरि के विचार आयो, गइनँ।
यदि मलाई थाहा हुन्थ्यो कि, त्यही नै मैले ममीलाई देख्ने अन्तिम समय थियो, मेरो होस् हवास् कस्तो हुन्थ्यो होला? आफैँलाई बेलाबेला प्रश्न गरिरहेको हुन्छु। नबोलेकोमा पश्चताप पनि लाग्छ। ममीको त्यो हेराइबाहेक अन्तिम पलको सम्झना केही छैन।
दिउँसो टिफिन टाइममा ममी खोप लगाउन स्कुल नजिकैको स्वास्थ चौकी जानु भयो। मुटुसम्बन्धी रोग भएको कारण महिनैपिच्छे खोप लगाउनु पर्ने थियो। म खाजा खान ममीलाई पर्खिरहेकी थिएँ।
ममी आउनु भएन। स्वास्थ चौकीमा एक्कासि मानिसहरूको भीड बाक्लिन थाल्यो। म हेर्दै थिएँ। स्कुलको वातावरण पनि बिस्तारै अनौठो लाग्न थाल्यो। पारि मेरो गाउँ (जीतपुर)बाट मेरा बाजे, दाइ, भाउजू, काका, ठूलोबुबा आउन थाल्नुभयो। स्कुलका सरहरूले मलाई केही थाहा नदिन इशारा गर्न थाले। त्यही बेला मेरो एक जना मिल्ने साथीले आएर भने, “हाम्रो मिस, तिम्रो ममी त मर्नु भयो रे!”
ममीसँगै खाजा खान पर्खिरहे पनि मन थाम्न नसकेपछि चाउचाउ बिस्तारै खाँदै थिएँ। स्कुलमा शिक्षकशिक्षिकाको लागि पाक्ने खाजा मेरो लागि पनि थोरै छुट्टिएको हुन्थ्यो। ममीले आफ्नै भागको खाजा पनि दिनुहुन्थ्यो। त्यो दिन स्कुलको सहायक दिदीले मलाई खाजा पस्किएर दिनुभएको थियो। त्यति सुनेपछि भोक रहेन।
स्कुलको कम्पाउन्ड परबाट बाटोमा भाउजू रुदै आएको देखेँ। हेल्थ पोस्टमा तोडफोड भयो भन्ने सुनेँ। अरू सम्झना छैन। भाइलाई कसले भन्यो, दिदीले कसरी थाहा पाइन्, हामी कसरी घर पुग्यौँ, केही याद छैन।
साँझ बुबा अर्धहोसको अवस्थामा घर आइपुग्नु भयो। हामीलाई काकाकाकीहरूले अनेक तरिकाले सम्झाइरहनु भएको याद छ। डाक्टरले खोप लगाउने बेलामा गल्ती हुँदा ममीको मृत्यु भएको भन्ने थाहा पाएँ। बुबा रुदै हुनुहुन्थ्यो। बुबा रुनु भएको देखेर म फेरि रुन थालेको याद छ।
त्यो दिनको घटनाबारे हामी तीन दिदी, म र भाइबीच कहिले कुराकानी भएन।
त्यसपछि, दैनिकी असामान्य बने। घरको अवस्था सबै तितरबितर भयो। दिदीले घरको काम गरेर हाम्रोसमेत ख्याल राख्न थालिन्। हामी सकेको सहयोग गर्थ्यौँ।
बुबा अबेर घर आउन थाल्नु भयो। साँझमा पनि काकाकाकीको घर वा नजिकैको पसलमा गएर बस्नु हुन्थ्यो। खाना खान पनि छाड्नु भयो। एकातिर हाम्रो पढाइमा असर परिरहेको थियो, अर्कोतर्फ बुबाको हालत खराब हुँदै थियो। त्यसपछि, बुबालाई बिहेको लागि परिवारले सल्लाह दिए। ६ महिनाको अवधिमा कान्छा काका र काकीले घरायसी तथा व्यवाहारिक काममा सहयोग गरिदिनु हुन्थ्यो।
त्यसपछि बुबाको बिहे भयो।
हामीलाई हाम्रो पढाइको लय मिल्यो, बुबालाई एउटा साथी। हरेक घरका समस्या, दुःखसुखका आफ्नै पाटो हुन्छन्, चाहे आफ्नै आमा हुँदा होस् या सानीआमा। तर, खुशी यो कारण पनि लाग्छ कि, हामीले सहज गरी पढ्न पायौँ। बुबालाई सहारा मिल्यो। घर जाँदा खुशी लाग्छ, दुवै जना मिलिजुली घरका कामकाज गर्नुहुन्छ।
सानीआमाले हामीलाई माया गर्नु हुन्छ। हामीले दिने सम्मान पनि दिएका छौँ। तर एउटा सत्य म आफैँलाई ढाँट्न सक्दिन कि, मलाई मेरो जन्म दिने आमाको अभाव महसुस हुन्छ।
अनि, समाजको चरित्र यस्तो हुनेरहेछ, जसले कुनै कुरा बिर्सन दिँदैन। रेकर्ड राखिरहन्छ। कोही आफ्ना वा गाउँका मानिसलाई चिनाउँदा पनि ‘चौकीमा सुई लगाउँदा बितेको टिचर थिइन् नि, उनकी छोरी’ भनेर चिनाउने क्रम अझै पनि छ। यो आधारभूत परिचय नै बन्यो। अहिले सुनेको नसुनै गर्छु।
थाहा पाए पनि धेरै जनाले सहानुभूति देखाउँथे, देखाउँछन्। वाक्क लाग्थ्यो। लाग्छ। आलो घाउमा नुनचुक छरेजस्तो। कस्तो असंवेदनशील समाज! बाल्यकालको त्यो छापले अझै पनि त्यही भएर साहानुभूति भन्ने शब्दसँग एलर्जी हुन्छ। अरूले साहानुभूति देखाएको पटक्कै मन पर्दैन।
एउटा अहम्
रुनु हुन्न भन्ने एउटा अहम छ। रुने मान्छे कमजोर हुन्छन् जस्तो लाग्छ मलाई। सामाजिक सञ्जाल वा साथीभाइबीच आफ्ना यी भावना व्यक्त गरेर कमजोर हुनु हुन्न भन्ने अहम्। अरूभन्दा म फरक छु, बलियो छु भन्ने अहम् अझै पनि गडेको छ।
अहम् र कमजोरीको द्वन्द्वले दिमागलाई थकित पार्छ। अनेकन् भावना, विचार, तर्कको रेस चल्छ।
जस्तै परिस्थितिमा पनि म आफूलाई बलियो नै राखिरहेकी हुन्छु। तर, कहिलेकाहीँ झ्वाट्ट कसैबाट आउने प्रश्न, “ममी के गर्नु हुन्छ? कति वर्ष पुग्नु भयो? औँसीमा के किनिदिनु भयो?”
मेरो दोस्रो आमा पनि हुनुहुन्छ। हरेक वर्ष औँसीमा बिहानै नुहाइधुवाइपछि पूजा गर्छु। भौतिक रूपमा नहुनु भएकी जन्म दिने आमाको सम्झना गर्छु। सानी आमालाई साँझमा मुहार गर्छु। नेवार समुदायमा टीका लगाउने, भोज खाने साँझमै हुनेगर्छ।
तर, यो दिन कसरी कट्ला भनेर तड्पिरहेको हुन्छु। भन्छन्, अंग्रेजी महिनाको जुन २३ गते सबैभन्दा लामो दिन हो, मलाई भने मातातीर्थ औँसी सबैभन्दा लामो लाग्छ।
म भावनात्मक रूपले कमजोर व्यक्तिमा पर्दिनँ। जस्तै अवस्था पनि सहजै कट्छन् भन्ने लाग्छ। तर यो एउटा यस्तो यथार्थ हो, जसले मलाई भुतुक्कै पार्छ।
सामाजिक सञ्जालमा खुशीका साथ आफ्ना आमासहितको तस्वीर राख्नेदेखि आमा नभएकाले आमाको अभावमा गर्ने विलापमा पोख्ने शब्द देखिन्छ।
मलाई अझै पनि असहज लाग्छ। मनमा उकुसमुकुस पनि भइरहेको हुन्छ। लाग्छ, यी मेरो नितान्त भावना किन साझा गरूँ?
०००
धेरैले मलाई ममीसँग अनुहार, शान्त स्वभाव र हाँसो मिल्ने बताउँछन्। यति भन्दै गर्दा हाँसिरहेकी छु भने हाँसो रोकिन्छ। शायद, झल्याँस्स आउने उहाँको यादले होला। मनको कुनामा रहेको एउटा खालीपन, जहाँ एउटा यस्तो नोक्सानी छ, जसको भरपाई हुँदैन।
ममीको ममताको त्यो रिक्तता र खालीपन सायद कहिले पनि भरिने छैन। अनि केवल अभाव, अहम्, संघर्षले खालीपनमा पर्खाल बनाएर बस्नेछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
