कोरोना संक्रमणबाट १ जनाको मृत्यु, थपिए १०४ संक्रमित

आरटीपीसीआर विधिबाट ५६१ नमुना परीक्षण गर्दा ६३ जनामा र एन्टिजेन विधिबाट १ हजार ६१ जनाको परीक्षण गर्दा ४१ जनामा संक्रमण देखिएको छ।

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा १०४ जना कोरोना संक्रमित थपिएका छन् भने संक्रमणका कारण १ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार अपराह्न जारी गरेको संक्रमितको विवरणअनुसार यो अवधिमा १ हजार ६३२ जनाको नमुना परीक्षण गरिएको थियो।

आरटी–पीसीआर विधिबाट ५६१ नमुना परीक्षण गर्दा ६३ जनामा र एन्टिजेन विधिबाट १ हजार ६१ जनाको परीक्षण गर्दा ४१ जनामा संक्रमण देखिएको छ।

देशभर ३७९ जना सक्रिय संक्रमित रहेका छन्। आरटी–पीसीआर परीक्षणका क्रममा संक्रमण पुष्टि भएकालाई मात्रै सक्रिय संक्रमितको तथ्यांकमा समावेश गरिएको मन्त्रालयले जनाएको छ।

मंगलबार कोरोना संक्रमणमुक्त भएर ६० जना डिस्चार्ज भएका छन्। काठमाडौँ उपत्यकामा मंगलबार दिउँसो २ बजेसम्म संस्थागत आइसोलेसनमा ३४ जना रहेका छन्। यो अवधिमा ७ जनाको आईसीयू र गम्भीर अवस्थामा रहेका तीन जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ।

अहिलेसम्म नेपालमा १२ हजार २३ जनाले संक्रमणका कारण ज्यान गुमाएको मन्त्रालयको तथ्यांक रहेको छ। पछिल्लो समय कोरोना संक्रमण बढेको भन्दै मन्त्रालयले सतर्कता अपनाउन आग्रह गरेको छ।