प्रहरीको प्रारम्भिक अनुसन्धान– वर्षमान पुनकी आमालाई गोली लाग्नु दुर्घटना

प्रारम्भिक अनुसन्धानमा ‘दुर्घटना’ भएको देखिएको नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक दीपेन्द्र जिसीले बताए।

काठमाडौँ– नेपाल प्रहरीले नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनकी आमा तीर्थमाली पुनमगरलाई गोली प्रहार गर्नाका कारण दुर्घटना भएको बताएको छ।

उक्त घटनाको प्रहरीले अनुसन्धान गरिरहेको छ। घटनामा संलग्न प्रहरी सहायक हबल्दार प्रकाश पुनमगरलाई शनिबार बिहान प्रहरीले बागडोलबाट पक्राउ गरी प्रहरी प्रधान कार्यालयस्थित नं १ गणमा आन्तरिक थुनामा राखेको छ।

प्रकाशले नियतवश गोली नचलाएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष रहेको जनाइएको छ। प्रारम्भिक अनुसन्धानबाट ‘दुर्घटना’ भएको देखिएको नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक दीपेन्द्र जिसीले राससलाई बताए। 

उनले भने, “प्रारम्भिक अनुसन्धानबाट नियतवश गोली हानेको जस्तो देखिँदैन, यो दुर्घटना हो, यस विषयमा थप अनुसन्धान भइरहेको छ।” प्रधान न्यायाधीशका सुरक्षा टोलीमा कार्यरत प्रहरी सहायक हबल्दार पुनमगरसँग प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको चाइनिज ‘टाइप–५४’ पेस्तोल साथमा थियो।

सोही पेस्तोलबाट शनिबार राति एक राउन्ड फायर भएको भेटिएको प्रहरीले जनाएको छ। शनिबार राति नयाँ वर्ष मनाउन ७४ वर्षीया हजुरआमा तीर्थमालीको निवास बालुवाटार गएका प्रकाश गोली चलेपछि भागेका थिए। 

पेस्तोलबाट फायर भएपछि डरले उनी त्यहाँबाट भागेको अनुसन्धान अधिकृतहरू बताउँछन्। नयाँ वर्ष मनाउने क्रममा पारिवारिक जमघटमा वर्षमान पुनका भाइहरू पनि सहभागी रहेका प्रहरीले जनाएको छ।