सदनबाहिर साझा न्यूनतम कार्यक्रम प्रस्तुत गरेर सरकार चुक्यो : सुवास नेम्वाङ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेका थिए। 

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारको साझा न्यूनतम कार्यक्रम संसद् अधिवेशन चालु रहेका बेला सदनबाहिर प्रस्तुत गर्ने कार्यले गम्भीर प्रश्न खडा गरेको बताएको छ।

उक्त पार्टीका संसदीय दलका उपनेता सुवास नेम्वाङले सरकार संसद्प्रति उत्तरदायी बन्ने सुन्दर लोकतान्त्रिक पक्षलाई बेवास्ता गर्दै सदन चलिरहेकै समयमा सदनबाहिर त्यस्ता कार्यक्रम प्रस्तुत गरिनु गम्भीर चिन्ताको विषय भएको बताए।

“सरकारले के गर्‍यो भन्नेबारे प्रतिनिधिमूलक संस्था संसद्ले थाहा पाउनुपर्छ। सदन चलिरहेको छ। सरकारले बिजनेश दिन सकेको छैन,” उनले भने, “संसद्लाई बेवास्ता गरिएको छ। साझा कार्यक्रम संसद्ले थाहा पाउन पर्ने होइनरु यस विषयमा सरकार चुकेको छ।”

सरकारले न्यूनमत साझा कार्यक्रम प्रस्तुत गरेको विषय सञ्चार माध्यमबाट थाहा पाएको बताउँदै उपनेता नेम्वाङले २०६२/६३ सालको आन्दोलनपछि जनताले जनताका लागि पूर्णाधिकार सम्पन्न तुल्याउन भइरहेको संसदीय अभ्यासलाई छलेर गरिने यस्ता कार्यले लोकतन्त्र बलियो हुन नसक्ने उनको भनाइ थियो।

“सरकारले सदनको अबको पहिलो बैठकमै सदन बाहिर साझा कार्यक्रम प्रस्तुत गर्नु पर्नाको कारण र औचित्यबारे जानकारी गराउनुपर्छ। हामी त्यो माग गर्छौँ,” नेम्वाङले भने।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेका थिए।