‘पुरुषले कमाएर परिवार पाल्नुपर्ने’ सोचका कारण पनि मिर्गौला लिने पुरुष धेरै र दिनेमा महिला धेरै भएको समाजशास्त्रीहरू बताउँछन्।
काठमाडौँ- “मेरो ठाँउ उहाँ (श्रीमान्) हुनु भएको भए सायद मलाई मिर्गाैला दिनुअघि दुई–तीनपटन सोच्नु नै हुन्थ्यो होला,” फोनवार्तामा झापाकी यमुना घिमिरेले भनिन्।
यमुनाले पाँच वर्षअघि श्रीमान् नरप्रसाद घिमिरेलाई मिर्गाैला दान दिएकी थिइन्। श्रीमानलाई मिर्गाैला प्रत्यारोपण गर्नुपर्ने भएपछि उनी आफैँ अघि सरिन्। मिर्गाैला दान गर्न पनि उनलाई सहज भएन।
दानका लागि पहिला ‘क्रस म्याच” गराइन्। तर उनको र श्रीमानको ब्लड–ग्रुप एउटै नभएको रिपोर्ट आयो। श्रीमानको ब्लड ग्रुप ‘ए पोजिटिभ’ रहेछ भने उनको ‘बी पोजिटिभ।’
ब्लड ग्रुप नमिलेपछि उनले मिर्गाैला दान गर्न मिल्ने कुरै भएन। त्यसपछि सहयोगको अपेक्षासहित जेठाजु र देवरलाई गुहारिन्। “घरसल्लाहमा बोलाएका जेठाजु र देवर दुवै केही बोल्नु भएन। चुप लागेरै बस्नु भयो,” यमुना सम्झिन्छिन्, “चिरफार गर्नुपर्ने र घाउचोटले कमजोरी हुने भन्दै मेरो माइतीले त मलाई नै मिर्गाैला दान नदिन सुझाव दिएका थिए।”
बिस्तारै यमुनाको आशा मर्दै जान थालेको थियो। अस्पतालमा आफ्नो अवस्थाबारे जानकारी गराउँदा ‘पियर एक्सचेन्ज’ अर्थात्, अर्को व्यक्तिसँग मिर्गाैला साटासाट गर्न मिल्ने व्यवस्थाबारे थाहा पाइन्। उनी श्रीमानलाई दान गर्न मिर्गौला दान गर्न मिल्ने अर्को व्यक्तिको खोजीमा लागिन्, जसको आफन्तलाई उनकै रक्त समूहको चाहिएको थियो। उनी लगातारजस्तो अस्पताल धाउँथिन्।
त्यस्तो व्यक्ति भेट्टाउन उनलाई चारपाँच महिना कुर्नु पर्यो। अन्ततः उनले संखुवासभाकी बालिका लिम्बुकी भान्जीसँग आफ्नो मिर्गाैला साटिन्। बालिकालाई उनको मिर्गौला मिल्यो भने बालिकाकी भान्जीले नरप्रसादलाई मिर्गाैला दिइन्।
१० वर्षअघि सुर्खेतका नन्दलाल ढकाललाई उच्च रक्तचाप भयो। सुर्खेतमा स्वास्थ्य जाँच गराउँदा मिर्गाैलामा समस्या देखियो। उनी काठमाडौँ महाराजगञ्जस्थित शिक्षण अपस्ताल आए। मिर्गौला प्रत्यारोपण गरिहाल्नुपर्ने अवस्था थिएन। डाक्टरले सिफारिस गरेको औषधीले काम गरिरहेको थियो।

तर औषधि सेवनले तत्कालका लागि मात्र बिसेक भयो। बिस्तारै समस्या बल्झियो। गत कात्तिक २१ गते उनले मिर्गौला प्रत्यारोपण गराए।
६१ वर्षीय दाहाललाई ६० वर्षिया श्रीमती टीका ढकालले मिर्गाैला दान गरिन्। “मेरो श्रीमतीको ब्लड ग्रुप ‘ओ प्लस’ रहेछ। मेरो ‘ए प्लस’। ओ प्लस रगत भएका समूहले सबैलाई रगत दिन मिल्ने रहेछ,” ढकाल भन्छन्, “त्यही भएर मैले भने कतै धाइरहनु परेन।”
प्रत्यारोपणपछि करिब एक हप्ता शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा बसे। हप्ता दिनको बसाइमा प्रत्यारोपणका लागि आएको बिरामीमध्ये आफूले अधिकांश पुरुष नै देखेको उनी बताउँछन्।
“मिर्गाैला प्रत्यारोपणमा महिलाभन्दा पुरुषको संख्या धेरै देखेँ,” ढकालले भने, “बिरामी धेरै पुरुष हुँदा र दान दिने महिला धेरै देखिनु मलाई भने स्वाभाविक लाग्यो।”
दान गर्ने महिला धेरै, लिने पुरुष धेरै
स्वास्थ सेवा विभागअन्तर्गत विपन्न महाशाखाको वैशाखदेखि फागुनसम्मको तथ्यांक अनुसार, यस अवधिमा कुल ३२४ जनाले मिर्गाैला प्रत्यारोपण गरेका छन्। जसमध्ये मिर्गौला लिनेमध्ये ८० प्रतिशतभन्दा बढी पुरुष र दतामा ८० प्रतिशतभन्दा बढी महिला छन्।
यो अवधिमा २४८ महिलाले मिर्गाैला दान दिँदा पुरुष दाताको संख्या ७६ मात्र छ। त्यस्तै २६५ पुरुषले प्रत्यारोपण गर्दा महिला भने ५९ जनाले मात्र प्रत्यारोपण गरेका छन्। दाता महिलामध्ये पनि ७३ जना आमा र ९६ जना श्रीमती छन्। यसबाहेक, दिदीबहिनी, जेठानीदेखि हजुरआमासमेतले मिर्गाैला दिएको तथ्यांक छ। त्यस्तै पुरुषतर्फ ३२ श्रीमानले श्रीमतीलाई र १४ जना बाबुले आफ्ना सन्तानलाई मिर्गौला दिएका छन्।
बीएमसी नेफ्रोलोजीको जर्नलमा, सन् २०१७ देखि २०२० सम्म १० जना मिर्गाैला दान गरेका महिलासँग गरेको अध्ययनले ३० प्रतिशत रगतको नाता (आमा, दिदीबहिनी) र ७० प्रतिशत सामाजिक नाता (श्रीमती)ले पुरुषलाई मिर्गाैला दान गरेको देखाएको छ।
सबैभन्दा बढी मिर्गाैला प्रत्यारोपण गर्ने शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा गएको माघ ६ गते एक हजारौँ जनामा प्रत्यारोपण भएको थियो। जसमध्ये ७४२ महिला र २७१ पुरुष दाता छन्। यता, दान लिने बिरामी भने ७९२ पुरुष र २०० महिला छन्। केन्द्रमा मात्र दान दिने पुरुषको तुलनामा महिला करिब तीन गुणा बढी छन्। दान लिनेमा महिलाभन्दा पुरुष करिब चार गुणा बढी छन्।
नेपालमा राष्ट्रिय प्रत्यारोपण केन्द्र, त्रिवि शिक्षण अस्पतालसहित वीर, ग्रान्डी, किस्ट, निदान, सुमेरु, नोबल अस्पताल विराटनगर, कलेज अफ मेडिकल साइन्स चितवन, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान गरी १० वटामा प्रत्यारोपण हुन्छ। प्रत्यारोपण केन्द्रपछि बढी प्रत्यारोपण शिक्षण अस्पतालमा भएको छ। त्यहाँ १४ वर्षमा ८५० जनाको प्रत्यारोपण भएको छ। नेपालमा पहिलोपटक मिर्गौला प्रत्यारोपण शिक्षण अस्पतालमा नै भएको थियो।
विकसित मुलुकको तथ्यांकमा पनि दाता महिला बढी छन्। अक्सफोर्ड एकेडेमिक, नेफ्रेलोजी डायलासिस ट्रान्सप्लान्टेसनले २०२२ अक्टोबर २० मा तयार गरेको जर्नलमा १४ देशमा ३६ हजार ६६६ सय मिर्गाैला दान भएको उल्लेख छ। जसमध्ये दाता ४५.४ प्रतिशत पुरुष र ५४.६ प्रतिशत महिला छन्। मिर्गाैला प्राप्त गर्नेमा ५९.७ प्रतिशत पुरुष र ४०.३ प्रतिशत महिला छन्।
सोही अध्ययनले ओमानमा महिला र पुरुष दाता समान रहेको देखाएको छ। इराक, दक्षिण कोरिया, थाइल्यान्ड भने दाता पुरुष बढी छन्। उक्त अध्ययनले विकसित देशमा पनि महिला र पुरुषले गर्ने मिर्गाैला दानमा लैंगिक, आर्थिक–सामाजिक, सांस्कृतिक तथा मनौवैज्ञानिक कारण महिला बढी भएको उल्लेख छ।
किन मिर्गौला दाता धेरै महिला छन्?
नेपाली समाजमा महिला अझै पनि आर्थिक रूपले परिवारका पुरुष सदस्यसँगै आश्रित रहेका कारण दबाब र प्रभावले मिर्गौला दान गर्नेमा महिला बढी भएको हुनसक्ने समाजशास्त्री चैतन्य मिश्र बताउँछन्। पुरुष प्रधान समाजले अप्रेसन तथा स्वास्थका अन्य जटिल विषयको जोखिम र पीडा दुवै लिन नचाहने उनको भनाइ छ।
“यसको उपयुक्त उदाहरण हो, परिवार नियोजन,” मिश्रले भने, “परिवार नियोजनमा पनि पुरुषको तुलनामा महिलालाई अघि सारिन्छ। यस्ता जटिल विषयमा नेपाली समाजमा पुरुषको सहभागिता अपेक्षा गर्न मुनासिव होला?”
यद्यपि, यसो भन्दैमा सबै पुरुष डराउँछन् र महिला मात्र अघि सार्छन् भन्ने विचार राख्नु गलत हुने उनले बताए। एकाध पुरुषले मिर्गाैला दान दिएको तथ्यांकलाई पनि ध्यान दिनु पर्ने उनको जोड छ।
यो पनि: ‘धुले भवन’बाट सेवा शुरू, १० वर्षमा १ हजार जनाको मिर्गौला प्रत्यारोपण
राष्ट्रिय प्रत्यारोपण केन्द्रकी डा. कल्पना श्रेष्ठ महिलाहरू प्राकृतिक स्वभावले नै दानी, मायालु र जिम्मेवार हुने बताउँछिन्। उनी भन्छिन्, “सोही कारण पनि महिलाहरू दानमा अघि देखिन्छन्। तर श्रीमानले दान दिनुपर्दा ठीक उल्टो भएको छ। शुरूआती वर्षमा श्रीमतीको मिर्गौला फेल भयो, प्रत्यारोपण गर्नुपर्छ भन्दा धेरैका श्रीमान् भागेका घटना हामीसँग छन्।”
परिवारको आर्थिक पक्ष पनि अर्को कारण हुनसक्ने डा. श्रेष्ठको अनुमान छ। पुरुषप्रधान समाजमा पुरुषलाई पैसा कमाउनु पर्ने पाटोलाई नकार्न नसकिने उनी बताउँछिन्। “यसो हुँदा श्रीमानको दान लिन नमान्ने, परिवारका कोही सदस्यलाई दिनु परे पनि महिला नै अघि तम्सने गरेको देखिन्छ,” उनी भन्छिन्।
मिर्गौला प्रत्यारोपण गरेका उज्ज्वल दाहाल यसलाई लैंगिक असमानता मान्छन्। उनका अनुसार, महिलाको जिम्मेवारी र उदारपनलाई नेपाली समाजमा उल्टो तरिकाले लिइएको छ। “उनीहरू केही गर्न सक्ने होइन। घरायसी कामकाज गर्नेलाई किन चाहियो दुई–दुई वटा भन्ने मानसिकता अझै पनि व्याप्त छ,” उनी भन्छन्, “यसो हुँदा चाहेर होस् वा नचाहेर महिलाले अंग दान बढी गरेका छन्।”
उज्ज्वल खड्काको १७ वर्षकै उमेरमा पेट फुल्ने, ग्यास्टिक हुने समस्या देखिएको थियो। त्यतिबेला उनी होस्टेलमा बस्थे। विराटनगरमा बस्ने उनी त्यहाँकै एक अस्पतालमा जाँच गर्ने क्रममा किड्नी फेल भएको थाहा पाए। उनलाई आमा हिरामायाले मिर्गौला दान दिएकी थिइन्।
नेपालमा हरेक वर्ष तीन हजारभन्दा बढी मिर्गाैला फेल भएका बिरामी आउने किस्ट मेडिकल कलेज एन्ड टिचिङ कलेजका मिर्गाैला रोग विशेषज्ञ डा. सन्तोष क्षेत्री बताउँछन्। पुरुष बिरामी बढी आए पनि त्यही बराबर महिलाको संख्या हुनुपर्ने उनको अनुमान छ।
“उच्च रक्तचाप र बाथ रोग मिर्गाैला फेलियरको प्रमुख कारण हो, जुन समस्या नौ जना महिला बराबर एक जना पुरुषमा देखिन्छ। यो ट्रेण्डलाई हेर्न हो भने पनि महिला बिरामी पनि उत्तिकै हुनुपर्ने हो, तर छैनन्,” डा. क्षेत्री भन्छन्, “यसको सम्भावित एउटा कारण स्वास्थ्य क्षेत्रमा हुने महिलाहरूको कम पहुँच हो। ”
पुरुषसरह अस्पताल गएर महिलाको चेकजाँचको चलन ग्रामीण क्षेत्रमा अझै पनि नभएको उनको अनुमान छ। यता, मिर्गाैला बिरामीमा पुरुषको सख्ंया बढ्नुमा भने खानपिन तथा वैदेशिक रोजगारी प्रमुख कारण बन्न थालेको डा. क्षेत्री बताउँछन्।
महिला दाता बढी हुनुको कारणमा उनी सामाजिक संरचनालाई नै प्रमुख कारण मान्छन्। यद्यपि, यसबाहेक मेडिकल क्षेत्रमा श्रीमतीले श्रीमान्लाई अंग दान दिँदा जोखिम कम हुने उनले बताए।
“यो विशेषत श्रीमान् र श्रीमतीको हकमा लागू हुन्छ,” डा. क्षेत्री भन्छन्, “गर्भवती अवस्थामा श्रीमतीको हकमा श्रीमान्को शरीरको एन्टीजेनसँग एक्सपोजर भयो भने श्रीमतीको शरीरले त्यसविरुद्ध विभिन्न केमिकलहरू (एन्टिबडी) पैदा गरेको हुन्छ। यस्तो अवस्थामा यदि श्रीमानले श्रीमतीलाई मिर्गाैला दिनु पर्यो भने श्रीमतीको शरीरले उक्त मिर्गाैला रिजेक्ट गर्ने सम्भावना हुन्छ।”
“उसलाई यता–उता गर्न आउँदैन”
नवलपरासीका मल्लु कुर्मी गएको चैत १९ गते मिर्गाैला प्रत्यारोपणपश्चात औषधीका लागि सरकारले दिएको सुहलियत रकम लिन टेकुस्थित स्वास्थ बीमा बोर्डको विपन्न महाशाखा आइपुगेका थिए। गत वर्ष चैतमा उनका छोरा रामप्रसादको मिर्गाैला प्रत्यारोपण भएको थियो। छोरालाई मिर्गाैला उनकी श्रीमतीले आरमतीले दिएकी थिइन्।
“आमालाई सन्तानको धेरै माया हुन्छ। फेरि बाहिरको काम आमाले धेरै गर्न सक्दैन। बुबा (पुरुष)ले बाहिर काम गर्नु पर्ने हुन्छ,” मल्लुले भने, “फेरि अस्पतालमा बिल, रिर्पोट यताउता काममा जान्ने मान्छे पनि चाहियो। उपचारको लागि एक वर्ष काठमाडौँ बस्दा भाषा बुझ्नदेखि ठाँउठाउँ धाउन मलाई कति गाह्रो भयो। उनले (श्रीमतीले) यो सबै सक्थिन् होला र?”
समाजशास्त्री मधुसूदन सुवेदी श्रीमान्, बुबा, दाजभाइ अथवा परिवारका पुरुष सदस्य नहुँदा महिलाहरू समाजमा कमजोर हुने भाष्य अझै पनि जीवित रहेको बताउँछन्। सुवेदी भन्छन्, “आफ्नो श्रीमान् नै नभए सन्तानको भविष्यको चिन्तादेखि श्रीमान् नबचाए समाजमा बस्न गाह्रो हुन्छ भन्ने विश्वास महिलाहरूमा व्याप्त छ। नाता, इष्टमित्र सबैबाट त्यस प्रकारको भनाइ आउँछ।”
सोही कारण पनि चेत अथवा अचेत रूपमा श्रीमती, आमा, छोरी दिदीबहिनी अंगदानमा अघि हुने सुवेदी बताउँछन्।
पाँच वर्षअघि भएको मिर्गाैला प्रत्यारोपणपछि झापाका यमुना र उनको श्रीमान नरप्रसाद घिमिरेको दैनिकी सामान्य चल्दैछ। तर, यस वर्ष हिउँदमा यमुनालाई पिसाबमा समस्या देखियो। चेकजाँचको क्रममा भएको एउटै किड्नीमा पनि पथरी देखियो। “डाक्टरले धेरै पानी पिउन सल्लाह दिनुभएको छ। एउटा भएको किड्नी जोगाउनै पर्यो,” उनले भनिन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
