Friday, April 26, 2024

-->

‘धुले भवन’बाट सेवा शुरू, १० वर्षमा १ हजार जनाको मिर्गौला प्रत्यारोपण

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले १० वर्षअघि मिर्गौला प्रत्यारोपण शुरू गर्दा न्यून सुविधा थियो। सुविधा थप गर्दै गएको केन्द्रमा गत माघ ६ गते १ हजारौँ बिरामीको मिर्गौला प्रत्यारोपण भयो।

‘धुले भवन’बाट सेवा शुरू १० वर्षमा १ हजार जनाको मिर्गौला प्रत्यारोपण
मिर्गौला प्रत्यारोपणपछि बिरामीसँग चिकित्सकको टिम।

काठमाडौँ– छोरीलाई मिर्गौला दान दिन आमा तयार थिइन्। आमा–छोरी दुवैको स्वस्थ्य जाँच भएर अन्तिम तयारी सकिएको थियो। तर प्रत्यारोपणका लागि शल्यक्रिया तोकिएको अघिल्लो दिन आमा बेपत्ता भइन्। आमा भागेको खबर छोरीले चिकित्सकलाई रुँदै सुनाइन्।

अस्पतालले आमाको खोजी गर्‍यो। अनि सम्झाइबुझाइ गरेपछि बल्ल शल्यक्रिया सम्भव भएको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रकी डा. कल्पना श्रेष्ठ बताउँछिन्। उक्त घटना चार वर्षअघिको हो। डा. श्रेष्ठ भन्छिन्, “जन्म दिने आमा नै डराएर भागेपछि अब उनलाई कसले मिर्गौला दिने? हामी चिन्तित भइसकेको थियौँ।”

‘शरीर चिर्ने कुरा आएपछि आफ्नै ज्यानको पहिला माया लाग्दोरहेछ’ भनेर ती आमाले सुनाएको डा. श्रेष्ठ अहिले पनि सम्झन्छिन्। प्रत्यारोपण गर्ने चिकित्सक टोलीले उनलाई कुनै जोखिम नहुने आश्वासन दिएपछि बल्ल मिर्गौला दिन तयार भएकी थिइन्। “अचेल नियमित जाँचमा आँउदा आफू भागेको घटना सम्झेर आफैँ हाँस्नु हुन्छ,” उनी भन्छिन्।

मिर्गौला प्रत्यारोपणबारे धेरै अफवाह फैलिएका कारण दाताहरू अन्तिम समयमा भाग्ने घटना भइरहने डा.श्रेष्ठ बताउँछिन्। प्रत्यारोपणसम्बन्धी ज्ञानको अभावले पनि यसो हुने उनको भनाइ छ।

लोकन्थलीकी सपना राई हप्ताको दुईपटक मिर्गौला डायलासिस गराउँथिन्। डायलासिस गराउँदा शारीरिक मात्र नभएर मानसिक रूपमा पनि कमजोरी भइने उनको अनुभव छ। 

काठमाडौँ मेडिकल कलेज (केएमसी)मा उनको मिर्गौलामा समस्या भएको पत्ता लागेको थियो। केएमसीले प्रत्यारोपणका लागि शिक्षण अस्पताल पठायो। तर त्यहाँ पालो कुर्नुपर्ने भयो। केही समय त उनले डायलासिस गराइन्। लामो समय कुर्नुपर्ने भएपछि शिक्षण अस्पतालकै डाक्टरले भक्तपुरस्थित प्रत्यारोपण केन्द्र जान सल्लाह दिए। 

गत असोज २४ गते केन्द्रमा मिर्गौला प्रत्यारोपण भयो। त्यसपछि नयाँ जीवन पाएको अनुभव भएको सपना बताउँछिन्। उनलाई आमा किरण राईले मिर्गौला दान दिएकी थिइन्। “खानपिनमा ध्यान दिनु पर्छ, गुुुलियो,  पिरो, अमिला, रातो मासुभन्दा सादा खानेकुरामा जोड दिनुपर्छ। प्रोटिनयुक्त खानेकुरा खानु पर्छ,” उनले भनिन्, “औषधी चाहिँ जीवनभर खानुपर्ने रहेछ।”

भक्तपुरस्थित प्रत्यारोपण केन्द्रमा डा. पुकार श्रेष्ठ र उनको टिमले १० वर्षअघि २०६९ माघ ६ गते मिर्गौला प्रत्यारोपण सेवा शुरू गरेको हो। नेपालमा पहिलो मिर्गौला प्रत्यारोपण भने २०६५ सालमा महाराजगन्जस्थित शिक्षण अस्पतालमा गरिएको थियो। तर शिक्षण अस्पतालभन्दा बढी प्रत्यारोपण उक्त केन्द्रमा भएको छ।

केन्द्रले गत माघ ६ गते एक हजारौँ जनाको मिर्गौला प्रत्यारोपण गरेको छ। ‘१००० सफल मृगौला प्रत्यारोपण’ स्मारिकामा डा. पुकार श्रेष्ठले उल्लेख गरेअनुसार, आर्थिक वर्ष, २०६९÷७० मा ६ महिनामा १३ जनाको प्रत्यारोपण गरिएको थियो। त्यसपछिका आर्थिक वर्षमा क्रमशः २७, ४१, १०१, १३२, १५८, १७९ जनाको प्रत्यारोपण भयो। कोराना महामारीका दुई वर्षमा ४९ र ४५ जनामा मिर्गौला प्रत्यारोपण गरिएको थियो। त्यसपछिका दुई वर्षमा १६० र १०२ जनाको प्रत्यारोपण भएको छ। 

अहिलेसम्म केन्द्रमा एक हजार दुई जनाको मिर्गौला प्रत्यारोपण गरिएको छ। केन्द्रले प्रत्यारोपणमा ९९ प्रतिशत सफलता हासिल गरेको डा. पुकारले उल्लेख गरेका छन्। 

एक हजार जनामा प्रत्यारोपण गरिएपछि मनाइएको विशेष कार्यक्रम।

प्रत्यारोपणका लागि पार गर्नुपर्ने कानूनी प्रक्रियाले कहिलेकाहीँ अप्ठ्यारो बनाएको डा. कल्पना बताउँछिन्। “एकपटक प्रत्यारोपणका लागि बाउछोरा आए। कागजातमा सबै मिल्ने, तर अनुहारदेखि लवाइखवाइ कहीँकतैबाट नमिल्ने। हामीलाई शंका लागिसकेको थियो,” उनी भन्छिन्, “के तपाईं साँच्चै आफ्नो बुबालाई मिर्गौला दिन तयार हुनुहुन्छ त भनेर हामीले अन्तिम पटक सोधेका थियौँ। आफ्नो बुबालाई मिर्गौला दिन किन नपाउने भनेर कड्किए।” 

उनीहरूले नाता प्रमाणीकरणको कागज सँगै ल्याएका थिए। त्यसैअनुसार मिर्गौला प्रत्यारोपण पनि भयो। तर उनीहरूबीच लेनदेनको कुरा नमिलेपछि जबरजस्ती प्रत्यारोपणको मुद्दा हालेर मिर्गौला दान दिएका व्यक्तिले डा. कल्पनासहित तीन चिकित्सकविरुद्ध करिब १ करोड क्षतिपूर्तिको माग गरे। उक्त मुद्दा अझै पनि जिल्ला अदालतमा चलिरहेको छ। “त्यो बेला हामीले उहाँको भिडियो रेकर्ड गरेका थियौँ। यसकारण पनि मृद्दा हाम्रो पक्ष हुने विश्वासमा छौँ,” उनी भन्छिन्।

केन्द्रको स्मारिकामा डा. पुकारले ‘त्यो धुलाम्मे भवनदेखि हजार प्रत्यारोपणसम्मको यात्रा’ लेख लेखेका छन्। उक्त लेखमा भनेका छन्, “शुरूका दिन केन्द्रमा पूर्णकालीन एनेस्थेसिस्ट र रेडियोलोजिस्ट थिएनन्। प्रत्यारोपणपछि हुनसक्ने जटिलताहरू, जस्तै रक्तस्राव नहोस् भनेर पुकार्नु पर्ने अवस्था थियो। राति कुनै अप्ठ्यारो परेमा एनेस्थेसिया र रेडियोलोजी सेवा नपाइएला भन्ने डर हुन्थ्यो। केही समयसम्म प्रत्येक प्रत्यारोपणपछि भगवान्लाई पुकारेरै बस्ने गर्दथ्यौँ।”

भक्तपुर अस्पतालले स्त्रीरोगको उपचारका लागि बनाएको प्रयोगविहीन भवनमा प्रत्यारोपण केन्द्र स्थापना भएको थियो। “शुरूआती समयमा स्रोत, साधन कम थियो र दक्ष डाक्टरको आकार सानो थियो। अप्रेसनको क्रममा बिरामीको अन्य भागमा चोट लागे विशेषज्ञ डाक्टरको अभाव थियो,” डा. कल्पना भन्छिन्, “प्रत्यारोपणका लागि पूर्ण दक्ष टिमको आवश्यकता पर्थ्यो। यसका लागि सरकारी डाक्टरको फुर्सदको समय कुर्नु पर्थ्यो। यसो हुँदा दिउँसो ४ बजेपछि बिहान ९ बजेसम्म सर्जरीको समय मिलाउनु पर्ने बाध्यता थियो।”

त्यति बेला विभिन्न कारणले केन्द्र आत्मनिर्भर नभइसकेको अवस्था रहेको उनी बताउँछिन्। हाल परिस्थिति बदलिएको छ। बिरामीको प्रत्यारोपणसमेत निःशुल्क हुने व्यवस्था भइसकेको छ। तर बिरामीको चाप बढ्दै जाँदा केन्द्रको भवन अपुग र संकुचित हुन थालेको उनी बताउँछिन्। 

एक हजार दुई जनामध्ये ब्रेन डेथ भएका चार जनाको मिर्गौला मात्र अन्यमा प्रत्यारोपण भएको डा. कल्पना बताउँछिन्। यसका लागि जनस्तरमा मात्र नभई, अस्पताल तथा नर्सिङ संस्थाहरूमा पनि सचेतना आवश्यक रहेको उनको भनाइ छ। 

“मस्तिष्क मृत्युमा कुनै पनि व्यक्तिको मस्ष्तिकले काम गर्न छोडिसके पनि मुटु, फोक्सोलगायत अंगले काम गरिररहेको हुन्छ। यो भनेको मृत्यु भएकै अवस्था हो। प्रत्यारोपणका लागि त्यस्तै अंग आवश्यक पर्छ,” डा. कल्पना भन्छिन्, “तर यस्तो अवस्थामा परिवारका सदस्यलाई त अझै पनि आशा हुन्छ। यसमा सम्बन्धित अस्पतालका डाक्टर तथा नर्सले मस्तिष्क मृत्यु भएका बिरामीको वास्तविकता बुझाएर अंग दानको लागि प्रोत्साहन गर्नुपर्छ।”

त्रिवि शिक्षण अस्पतालमा १४ वर्षमा ८५० जनाको मात्र मिर्गौला प्रत्यारोपण भएको छ। शिक्षण अस्पतालका निर्देशक डा. दिनेश काफ्ले प्रत्यारोपण केन्द्रमा मिर्गौला प्रत्यारोपण धेरै हुने गरेको बताउँछन्। उनका अनुसार शिक्षण अस्पतालमा हप्ताको दुई दिन मात्र प्रत्यारोपण हुन्छ।

“मृगौला फेलबाहेक हामीले पथरीलगायत मृगौलाका अन्य शल्यक्रिया गर्ने गरेका छौँ। एक हप्तामा मृगौलाको शल्यक्रियाको आठ वटा सेसेन हुन्छ, जसमा दुई वटा मात्र प्रत्यारोपणको हुन्छ,” उनले भने।

मिर्गौला प्रत्यारोपणको लागि ‘पायोनियर’ अस्पताल भएको कारण शिक्षण अस्पतालका दक्ष चिकित्सकलाई मिर्गौला प्रत्यारोपण हुने अन्य अस्पतालमा सहकार्यका लागि पठाउने गरेको डा. काफ्ले बताउँछन्। केन्द्र र शिक्षण अस्पतालसहित नेपालका १० वटा अस्पतालमा मिर्गौला प्रत्यारोपण हुन्छ।

सुविधा थप्दै सेवा निरन्तरता दिएको शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले एक हजार बिरामीको सफल उपचार गरेर उपलब्धि हासिल गरेको डा. काफ्लेको भनाइ छ। उनी भन्छन्, “सेवाको निरन्तरता सबैभन्दा ठूलो कुरा हो। स्वास्थ क्षेत्रमा एकले अर्कोलाई उछिन्ने भन्दा पनि सहकार्य गर्दै जानु हाम्रो हुन्छ।”


सम्बन्धित सामग्री