मेक्सिकोको आप्रवासी हिरासत केन्द्रमा आगलागी हुँदा ३९ जनाको मृत्यु

६८ जना आप्रवासीलाई राखिएको सिउडाड वारेज हिरासत केन्द्रमा आगलागी भएको मेक्सिकोको अध्यागमन विभागले जनाएको छ।

मेक्सिकोको एक आप्रवासी हिरासत केन्द्रमा आगलागी हुँदा ३९ जनाको घटनास्थलमै मृत्यु भएको छ। घाइते २९ जनालाई उपचारका लागि अस्पताल लगिएको अलजजिराले उल्लेख गरेको छ।

मध्य र दक्षिणी अमेरिकाका ६८ जना आप्रवासीलाई राखिएको सिउडाड वारेज हिरासत केन्द्रमा सोमबार राति आगलागी भएको मेक्सिकोको अध्यागमन विभागले जनाएको छ। अग्नि नियन्त्रक र उद्धारकर्ताले उद्धार गरिरहेको बताइएको छ। मेक्सिकोको महान्यायाधिवक्ताको कार्यालयले घटनाको जाँच र अनुसन्धान थालेको जनाएको छ।

मेक्सिकोको उत्तरी क्षेत्रमा पर्ने सिउडाड वारेज हिरासत केन्द्र अमेरिकाको टेक्सास राज्यको एल पासोसँग सीमा जोडिएको स्थानमा पर्छ। यो क्षेत्र अमेरिका प्रवेशका लागि अधिकांश आप्रवासीको केन्द्र रहँदै आएको छ। यहाँका शिविरहरू अमेरिका प्रवेशको अवसर प्राप्त हुने आस र पर्खाइमा बसेका आप्रवासी र शरणार्थीले भरिएका छन्। उनीहरूले अमेरिकामा रहेका शरणार्थी शिविरहरूमा बस्न पाउनका लागि आवेदन दिएको र प्रक्रियाको प्रतीक्षामा छन्।

अमेरिका प्रवेश पाउने आसमा अफ्रिकी, मध्यपूर्वी र दक्षिण अमेरिकीसहित विभिन्न मुलुकका हजारौँ नागरिक मेक्सिको सीमामा पुग्ने गरेका छन्। प्रत्येक महिना दुई लाख आप्रवासीले मेक्सिको–अमेरिका सीमा प्रवेश गर्ने गरेको अलजजिराले जनाएको छ। गरिबी र हिंसाका कारण विशेष गरी मध्य र दक्षिणी अमेरिकी देशका नागरिक देश छाडेर अमेरिका प्रवेश गर्ने आसमा त्यहाँ पुग्ने गरेका छन्।

सन् २०१४ यता अमेरिकी सीमामा जाने क्रममा करिब ७ हजार ६६१ आप्रवासीको मृत्यु भएको वा बेपत्ता भएको हुन सक्ने अन्तर्राष्ट्रिय आप्रवासी संगठनको हालैको एक प्रतिवेदनले देखाएको छ। यस्तै, ९८८ जनाको विभिन्न दुर्घटनामा परेको वा भ्रमणका क्रममा अमानवीय घटनामा परेर मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ।