बारा-२ मा हुने उपनिर्वाचनमार्फत संसद् छिर्ने योजनामा रहेका जसपा अध्यक्ष उपेन्द्र यादवलाई रोक्न जनमत अध्यक्ष सीके राउतले आक्रामक अभियान चलाएपछि दुई दलका समर्थक आमनेसामने भएका छन्।
काठमाडौँ- “बारा-२ मा सांसद पद खाली भएको सूचना संसद्मा पढ्न पाएको छैन, उता निर्वाचन आयोगले तुरुन्तै निर्वाचनको कार्यक्रम वैशाख १० मै गर्ने घोषणा गरिसक्यो। यही रफ्तारमा अरू काम पनि भइदिएको भए त राम्रो हुन्थ्यो जस्तो लाग्छ। कसैलाई तीन-चार महिना मन्त्रीबिना बाँच्नै नसक्ने भयो भन्दैमा १०-२० दिनको समय राखेर निर्वाचन गराउन मिल्दैन।”
जनमत पार्टीका अध्यक्ष सीके राउतले आइतबारको प्रतिनिधिसभा बैठकमा राखेको भनाइ हो यो। उनले जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवलाई लक्षित गर्दै यस्तो भनाइ राखेका थिए। संसद्मा उनले गरेको भाषणले मधेशको राजनीति तात्ने संकेत गरेको छ। सामाजिक सञ्जालमा राउतको पक्ष र विपक्षमा बहस केन्द्रित भएको छ।
उपेन्द्र यादव समर्थकहरू राउतले मधेशमा जातीय द्वन्द्व फैलाउन खोजेको आरोप लगाइरहेका छन्। राउत समर्थकले भने जसपाले जातीय राजनीति अगाडि बढाएको तर्क गरेका छन्।
गएको मंसिर ४ मा भएको निर्वाचनमा बारा-२ बाट निर्वाचित रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित भइसकेका छन्। उपेन्द्रकै जोडबलमा रामसहाय उपराष्ट्रपति भएका हुन्। यादव त्यस क्षेत्रमा हुने उपनिर्वाचनमार्फत संसद् छिर्ने दाउमा छन्।
तर राउत यसपटक पनि उपेन्द्रलाई रोक्न लागिपरेका छन्। हालै उनले बारा पुगेर दिएको भाषणमा उपेन्द्रलाई कुनै हालतमा उक्त क्षेत्रबाट चुनाव जित्न नदिने मात्र बताएनन् ‘मिसन बारा-२’ अभियान नै घोषणा गरेका छन्।
यसअघि मंसिर ४ गतेको निर्वाचनमा उपेन्द्र सप्तरी-२ मा राउतसँगै ठूलो मतान्तरले पराजित भएका थिए। राउत ३५ हजार ४२ मत ल्याएर निर्वाचित भएका थिए भने, यादवले १३ हजार ९७९ मत प्राप्त गरेका थिए।
किन आक्रोशित भए उपेन्द्र समर्थक
अघिल्लो साता बारा पुगेर राउतले गरेको भाषण राजनीतिक भन्दा पनि यादव समुदाय लक्षित भएको बाराका युवा अभियन्ता विनय यादव बताउँछन्। “उहाँले भाषणमा प्रयोग गर्नुभएको शब्द गैरराजनीतिक थियो। त्यतिबेला एउटा नेताको वक्तव्यभन्दा पनि उहाँको बच्पना थियो,” उनी भन्छन्, “बाराकै सरोज यादव यो प्रदेशको मुख्यमन्त्री हुनुहुन्छ, उपराष्ट्रपति यादव नै हुनुभयो। अनि यहाँ कोही माइकालाल छैन भनेर कसरी भन्नुभयो? उहाँले पनि त आफ्नै दाजुलाई योजना आयोगको सदस्य बनाउनुभएको छ। उहाँको पार्टीमा अरू माइकालाल थिएनन्?”
उनले बारामा गरेको भाषणमा आगामी उपनिर्वाचनमा गैरबाराबासी आउन नहुने बताएका थिए। “बारा जिल्लामा कोही माइकालाल छैन कि बारामा बाहिरको उम्मेदवार आउन लागेका हुन्?,” राउतले भनेका थिए, “ म चुनौती दिन चाहन्छु बाराबासीलाई कि यहाँ चुनावमा उठ्ने मान्छे छ कि छैन? यदि छैन भने हामी जनमतबाट यहाँकै मान्छेलाई उठाउँछौँ र चुनाव जिताउछौँ।”
राउतले फेसबुकमा हालेको भिडिओमा युगेश यादव लेख्छन्, “यसको मतलब यदि बारा जिल्लाबाट कोही अरूले चुनाव जित्यो भने बारा जिल्लाबासी आफ्नो आमाको सन्तान होइनन्? तपाईंले भन्न खोजेको कुरा के हो? आहिलेसम्म राजनीतिमा तपाईंको योगदान के हो सीकेजी?”
रामध्यान यादव कमेन्टमा लेख्छन्, “उपेन्द्र यादव को विरोध गर्दागर्दै महन्थ ठाकुर जसरी सकिए, त्यसरी नै अब सिके राउत सकिनेछन्।”
राउतको भाषणप्रति यादवसमुदाय मात्र नभइ अधिकांश बाराबासी रुष्ट भएको राजनीतिक विश्लेषक विरेन्द्र साह बताउँछन्। “रुष्ट र आक्रोशित हुनुको प्रमुख कारण उहाँले प्रयोग गरेको शब्दले हो। उहाँ बारामै आएर ठाडै चुनौती दिनुभयो, जुन यहाँको मान्छेलाई पाच्य भएन,” साह भन्छन्, “यादवहरूलाई बढी पाेल्नुको कारण यस क्षेत्रमा उपेन्द्र यादव आउँदैछन् र यस क्षेत्रमा यादवहरूको बाहुल्यता छ। उपेन्द्रलाई राउतजीले हराउनु भएको कारण पनि यहाँका यादव समुदाय पहिलैदेखि चिढिएका हुनसक्छन्।”
राउतले यादवलाई चोरबाटोबाट संसद् छिर्न खोजेको आरोप लगाएका थिए। “उपेन्द्र यादव संसदीय चुनाव हारेर पनि चोरबाटोबाट पुन: संसद् छिर्न खोजिरहेका छन्। हाम्रो गाउँघरतिर चोरहरू जसरी पर्खाल र ढोका तोडेर चोरी गर्छन्, त्यस्तै यादव पनि चोरबाटोबाट संसद छिर्न चाहिरहेका छन्,” राउतले भनेका थिए।
जसपा सांसद प्रदीप यादव सिद्धान्त र विचारको राजनीति गरिरहेका आफ्ना अध्यक्षविरुद्ध राउतले गरेको भाषण 'छुद्र' भएको बताउँछन्। मान्छे भड्काउन र उचाल्न त्यस्तो भाषा प्रयोग गरेको यादवको भनाइ छ। “उहाँले गरेको भाषण नेताले गर्ने भाषण नै होइन। उहाँको भाषण सुन्दा गाँजा खाएर गरेको भाषणजस्तो सुनिन्छ,” यादव भन्छन्, “आफूलाई बुद्धिजीवी भने पनि उहाँको त्यो भाषणले उहाँको कुनै स्तर रहेन। बाराबासी प्रति जुन टिप्पणी गर्नुभयो, त्यसले स्थानीयलाई आक्रोशित गराएको छ।"
किन उपेन्द्रप्रति आक्रामक छन् राउत?
उपेन्द्र यादव र सीके राउतबीच गएको मंसिर ४ को निर्वाचनपछि खुलमखुला प्रतिस्पर्धा नरहे पनि अबको मधेशको 'मसिहा' को हुने भन्ने प्रतिस्पर्धा छ। जनमतले पाएको मत र आफ्नो पराजयबाट जसपा र अध्यक्ष यादव झस्किएको हुनसक्ने विश्लेषक साह बताउँछन्।
यही मौकामा मधेशमा उपेन्द्रको ‘लिगेसी’ ब्रेक गरेर आफ्नो प्रभुत्व स्थापित गर्न राउत लागिपरेको साहको भनाइ छ। “सीके राउतजी मधेशको नेता अब आफू मात्र हो भनेर चिनाउन खोजिरहेका छन्। उपेन्द्रजीलाई पराजित गरिसकेपछि मधेशको मसिहा आफू हुनुपर्ने उहाँको चाहना देखिन्छ,” उनी भन्छन्, “मधेशमा जनमतलाई स्थायित्व दिन उहाँ जसरी पनि उपेन्द्र यादवलाई संसद् छिर्नबाट रोक्न खोजिरहनुभएको छ।”
हरहालतमा जसपालाई मधेशबाट विस्थापित गरेर जनमतलाई स्थापित गर्ने मुडमा राउत आक्रामक बनिरहेको बाराका युवा अभियन्ता यादव बताउँछन्। “सीके राउत जनमतलाई जसपाको विकल्पमा उभ्याउन चाहिरहनुभएको छ। तर यादव भए पनि, राउत भए पनि उनीहरू मधेशमा जातीय राजनीति गरिरहेजस्तो देखिएको छ,” यादव भन्छन्।
तर जनमतकी सांसद अनिता साह भने राउतले भाषणमा कुनै गलत शब्द प्रयोग नगरेको दाबी गर्छिन्। उपेन्द्र यादवलाई लक्षित गरेर भाषण गरे पनि गाली नगरेको उनको भनाइ छ। “हाम्रो अध्यक्षले उपेन्द्र यादवलाई न गाली गर्नुभएको छ, न असभ्य शैलीमा प्रस्तुत हुनुभएको छ,” साह भन्छिन्, “हामीले त कुनै मानहानी र मानमर्दन हुनेखालको अभिव्यक्ति भएको पाएनौँ। केही मान्छेले यसलाई अतिरञ्जित बनाएका हुन्।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
