२०४२ सालमा भएको डाँका मुद्दाका दोषीलाई सप्तरी जिल्ला अदालतले ६१ वर्ष चार महिना १९ दिनको कैद सजाय सुनाएको छ। त्यही घटनाका दोषी ठानेर प्रहरीले रामफललाई पटकपटक पक्राउ गर्ने गरेको छ।
सप्तरी– सप्तरीको कञ्चनरूप नगरपालिका–५ का रामफल मुखिया (५६) स्थानीय बजारमा किनमेल गरेर चैत ४ गते घर फर्किने तरखरमा थिए। उनलाई कञ्चनपुर बजारमै रोकेर प्रहरी टोलीले नाम सोधे। नाम बताउने बित्तिकै ‘तपाईंमाथि पुरानो मुद्दा छ’ भन्दै प्रहरी कार्यालय जान कर गरे।
रामफलले तत्काल जान नसक्ने बताए। तर प्रहरीले बलजफ्ती गाडीमा बसाए र इलाका प्रहरी कार्यालय, कञ्चनपुर पुर्याए। उनी अक्क न बक्क भए।
रामफललाई प्रहरीले लिएर गएको उनको परिवारका सदस्यले कञ्चनरूपका मेयर ललनप्रसाद गुप्तालाई जानकारी गराए। “उहाँ पक्राउ परेको फोन आएपछि मैले पुरानो घटना सम्झेँ,” मेयर गुप्ता भन्छन्, “रामफललाई यसअघि पनि प्रहरीले बिनाकारण पक्राउ गरी पाँच महिनाभन्दा बढी थुनामा राखेको थियो। पछि उनी निर्दाेष साबित भएका थिए।”
गएको शनिबार राति पक्राउ गरिएका रामफललाई प्रहरीले आइतबार सप्तरी जिल्ला अदालतमा उपस्थित गरायो। मेयर गुप्ता पनि सदरमुकाम राजविराज पुगे। उनले कानून व्यवसायीमार्फत् जिल्ला सरकारी वकिलको कार्यालयबाट पुरानो फाइल झिक्न लगाएर अदालतमा पेश गराए। त्यसलगत्तै अदालतले रामफललाई छाड्न आदेश दियो। त्यति बेलासम्म प्रहरीले उनको हातमा हत्कडी लगाइरहेकै थियो।
यसअघि, करिब सात वर्षअघि पनि रामफल पक्राउ परेका थिए। सप्तरी जिल्ला अदालतबाट खटिएका डोरले उनलाई २०७३ जेठ ४ गते प्रहरीको सहयोगमा पक्राउ गरेको थियो।
रामफलमाथि २०४२ कात्तिक १३ गते डाँका गरेको तथा थुनाबाट कैदीबन्दी भगाएको आरोप लगाइएको थियो। यो घटनामा जिल्ला अदालतले ६१ वर्ष चार महिना १९ दिन कैद सजाय हुने फैसला सुनाएको थियो।
प्रहरीले रामफललाई पक्राउ गरेपछि अदालतले कारागार चलान गर्ने आदेश दिएको थियो। उनी पाँच महिना २० दिन कारागार बसे। त्यसपछि निर्दोष साबित भएर २०७३ कात्तिक २४ गते रिहा भएका थिए। उनी छुट्नुको कारण थियो, नाम र ठेगाना एउटै भएका उनी अर्कै व्यक्ति हुनु।

प्रहरीले वास्तविक अपराधी नभई गलत व्यक्ति पक्राउ गरेको जानकारी पाएपछि अधिवक्ता श्याम पोखरेलले तत्कालीन पुनरावेदन अदालत राजविराजमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरे। उक्त घटनामा दोषी ठहर भएका रामफलका बुबाको नाम कलमा मुखिया मलाह थियो भने, निर्दाेष रामफलको बुवाको नाम फिरंगी मलाह।
“उनलाई पक्राउ गर्दा प्रहरीले न उनको वास्तविक परिचय खोजे, न त अदालतकै कर्मचारीले,” अधिवक्ता पोखरेल भन्छन्, “तत्कालै बन्दी प्रत्यक्षीकरण रिट दायर गरे पनि फाइल र मिसिल ल्याउन ढिलो गरिँदा उनी पाँच महिना २० दिन थुनामा बस्नु परेको थियो।”
फाइल र मिसिल आएपछि उनलाई पुनरावेदन अदालतले छाड्न आदेश दिएको थियो। कसैलाई गिरफ्तार गर्न जाँदा प्रहरी त्यस्ता व्यक्तिको ‘बायोडाटा’सहित जानुपर्ने भए पनि बिनाबायोडाटा जाँदा निर्दाेष व्यक्तिले दुःख पाउने गरेको पोखरेल बताउँछन्।
रामफल पनि प्रहरीले आफूलाई अनावश्यक दुःख दिएको र शान्तिपूर्ण तरिकाले बाँच्न नदिएको बताउँछन्। “२०७३ सालमा मेरो छोराको न्वारन हुने दिन नै प्रहरीले मलाई समातेको थियो,” उनी भन्छन्, “घरमा न्वारनको तयारी थियो। तर म आँशु बगाएर जेल जानु परेको थियो।”
डाँका घटना भएकै मितिदेखि अदालतले दोषी ठहर गरेका रामफल भने फरार छन्।
सप्तरी प्रहरीले अहिले अदालतबाट कैद र सजाय तोकिएका व्यक्तिको खोजी गर्ने अभियान चलाएको छ। यो अभियान अन्तर्गत ५ देखि लाखौँ रुपैयाँसम्म जरिवाना तोकिएका व्यक्ति र १ दिनदेखि सर्वस्वसहित जन्मकैद सुनाइएकाको प्रहरीले खोजी गरिरहेको छ। त्यसै क्रममा प्रहरीले रामफललाई दोस्रोपटक पक्राउ गरेको हो।
जेलबाट रिहा भएको करिब एक वर्षपछि २०७४ असोज २ गते भएको निर्वाचनमा रामफल नेपाली कांग्रेसका तर्फबाट कञ्चनरूप नगरपालिका–५ को वडा सदस्यमा निर्वाचित भएका थिए। उनी अहिले खेतीकिसानी गर्छन्। उनी भन्छन्, “नखाएको विष किन यसरी मलाई पटकपटक लागिरहन्छ?”
पुनः पक्राउ परेपछि मेयर गुप्ताले उनी निर्दोष रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डीएसपी दीपक रायलाई जानकारी दिएका थिए। तर रायले पत्याएनन्। मेयर गुप्ता भन्छन्, “पक्राउ परेपछि रामफल निर्दाेष रहेको र तत्काल छाडिदिन आग्रह गरेको थिएँ। तर डीएसपीले मानेनन्।”
मेयर गुप्ता रामफल निर्दाेष रहेको कागजात दिने बताए पनि नमानेर प्रहरीले हत्कडीसहित अदालत लगेको बताउँछन्। “अपराध गर्नेलाई कारबाही हुनैपर्छ, तर निर्दाेष व्यक्तिलाई अनाहकमा दुःख दिने काम प्रहरीबाट हुनुहुँदैन,” उनी भन्छन्।
सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी नरेशकुमार सिंहले यसबारे आफूलाई जानकारी नभएको बताए। “मलाई यसबारे जानकारी छैन। बुझ्ने काम गर्दैछु,” उनी भन्छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
