काठमाडौँमा आएको राजनीतिक उतारचढावले प्रदेश सरकारहरूको जग पनि हल्लिएको छ। त्यहीअनुसार गण्डकीमा मुख्यमन्त्री खगराज अधिकारीलाई विस्थापन गर्न कांग्रेस–माओवादी कस्सिएका छन्।
पोखरा - अकस्मात् फेरिएको सत्ता समीकरणपछि नेकपा एमालेका नेता खगराज अधिकारी गण्डकी प्रदेशको मुख्यमन्त्री बने। माओवादी–कांग्रेससहितको मंसिर ४ को निर्वाचनअघिकै गठबन्धन कायमै रहँदो हो त गण्डकीमा मुख्यमन्त्रीमा खगराज होइन, नेपाली कांग्रेसका सुरेन्द्र पाण्डे या नेकपा माओवादी केन्द्रका हरिबहादुर चुमानमध्ये एकजना मुख्यमन्त्री बन्ने निश्चितप्रायः थियो।
निर्वाचनपछि कांग्रेस प्रदेशसभा दलका नेता चुनिएका पाण्डे मुख्यमन्त्री बन्ने लगभग तय भइसकेको थियो। प्रदेश सरकार गठनका लागि यहाँका नेताहरू पार्टी केन्द्रको ‘आदेश’ पर्खेर बसेका थिए। तर, परिस्थितिमा यस्तो नाटकीय फेरबदल आयो कि निर्वाचनअघि एकअर्काको कटु आलोचक रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच गठजोड भएपछि गण्डकी प्रदेश सरकारको रूपरेखा पनि कसैले नसोचेको हिसाबले अघि बढ्यो। खगराज अधिकारी मुख्यमन्त्री बन्नु त्यही नसोचिएकै परिघटना थियो।
अहिले त्यसैगरी नसोचिएकै शैलीमा गण्डकीको खगराज सरकार बहिर्गमन हुने पनि निश्चित भएको छ। सरकार गठन भएको दुई महिना बित्दानबित्दै केन्द्रमा फेरिएको सत्ता समीकरणको प्रभाव प्रदेश सरकारहरूमा पनि प्रस्ट देखिएको छ। बिहीबार हुने राष्ट्रपति निर्वाचनलगत्तै प्रदेशमा पनि नयाँ सरकार गठनको ‘मारामार’ शुरू हुने देखिन्छ। गण्डकी त्यसमध्येकै हो।
वर्तमान मुख्यमन्त्री अधिकारी र उनी नेतृत्वको सरकारको बहिर्गमन निश्चितप्रायः रहे पनि उनीपछिको मुख्यमन्त्रीका लागि दौडधुप शुरू भएको छ।
मुख्यमन्त्री सुरेन्द्र कि हरिबहादुर?
गोरखा क्षेत्र नम्बर २ (२) बाट प्रदेशसभा सदस्य निर्वाचित कांग्रेसका सुरेन्द्र पाण्डे चुनावअघि नै गण्डकीको भावी मुख्यमन्त्रीका रूपमा चर्चामा आएका थिए। प्रतिनिधिसभा सदस्यका लागि गोरखा–२ मा चुनाव लड्न पुगेका वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावअघि गण्डकीको मुख्यमन्त्रीका रूपमा पाण्डेलाई नै देखाइरहे। सार्वजनिक सभाहरूमा उनले पाण्डेलाई नै मुख्यमन्त्री भनेर चिनाए। त्यसबेला दाहालले चुनावी सभामै भनेका थिए, “गोरखाले देशको प्रधानमन्त्री र मुख्यमन्त्री दुबै पाउँदैछ।”
दाहालको प्रचारमा खटिएका पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले पनि पाण्डेलाई नै मुख्यमन्त्री बनाउनुपर्ने बताउँदै आएका थिए।
कांग्रेसमा सभापति शेरबहादुर देउवाका निकट मानिने पाण्डेले मुख्यमन्त्री बन्ने तयारी गर्दागर्दै केन्द्रमा सत्ता समीकरण फेरिएको थियो। र, एमालेका अधिकारीले बाजी मारेका थिए।
त्यसबेला पाण्डेसँगै गण्डकीको मुख्यमन्त्रीमा दाबी गर्ने नेता थिए, माओवादी केन्द्रका हरिबहादुर चुमान। दुई–दुई पटक प्रदेश सरकारमा सामेल हुँदा एमाले र कांग्रेसलाई मुख्यमन्त्री छाडिसकेकाले अब आफ्नो पार्टीले मुख्यमन्त्री पाउनुपर्ने उनको दाबी थियो। तर, केन्द्रबाटै सबै कुरा तय भएपछि गण्डकीमा एमाले नेतृत्वको सरकार बन्यो, चुमान त्यसमा भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री बने।
गण्डकीमा तीनवटा सरकार बनिसक्दासम्म नेतृत्व नपाएकाले यसपालि मुख्यमन्त्री पाउनुपर्ने दाबी माओवादीले गरेको छ। तर, प्रदेशसभामा २७ सिटसहित ल्याएर पहिलो दल बनेको कांग्रेस र ७ सिटको माओवादीबीच शक्ति बाँडफाँट हुँदा मुख्यमन्त्री कसको भागमा पर्ला भन्ने टुंगो लागेको छैन।
माओवादी प्रदेशसभा दलका नेतासमेत रहेका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री चुमानले राष्ट्रपति निर्वाचनलगत्तै नयाँ समीकरणको तयारी हुने बताए। “सरकार त ‘चेन्ज’ हुन्छ नै होला, केन्द्रमा फेरिएको प्रभाव परिहाल्छ,” उनले भने, “एमालेका माननीयज्यूहरूले सरकार छाडिसक्नुभएको छैन, संघमा जस्तै सरकार छाड्नुहुन्छ होला। त्यसपछि (राष्ट्रपति निर्वाचनपछि) यसबारे टुंगो लाग्ला।”
अहिले आफू पार्टी केन्द्रको निर्णय कुरेर बसिरहेको उनले बताए। नयाँ सरकारमा मुख्यमन्त्री कांग्रेस कि माओवादीबाट भन्ने प्रश्नमा आफूहरूको स्वाभाविक दाबी रहने उल्लेख गर्दै उनले भने, “हाम्रो दाबी त पहिला पनि थियो, अहिले पनि रहन्छ। तर, भागबन्डा गर्दा के हुन्छ भन्नेले निर्धारण गर्ला। अहिले त हामी प्रदेश सरकारमै छौँ, समर्थन पनि फिर्ता लिएका छैनौँ।”
माओवादी नेतृत्वको संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिएर एमाले सरकारबाट बाहिरिइसकेको छ। गण्डकीमा एमालेको नेतृत्वमा सरकार छ। माओवादीलगायत सरकारमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समर्थन फिर्ता लिए मात्र गण्डकीमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्छ। तर, गण्डकीमा एक मात्र प्रदेशसभा सदस्य रहेको राप्रपा सरकारमै छ। राप्रपाले संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि गण्डकीमा त्यस्तो निर्णय गरेको छैन।
राप्रपाले समर्थन फिर्ता लिए मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकार अल्पमतमा पर्छ। माओवादी केन्द्र भने केन्द्रको संकेतको पर्खाइमा छ र संकेत प्राप्त हुनसाथ सरकारलाई दिएको समर्थन फिर्ता लिएर कांग्रेससँग सत्ता सहकार्य गर्ने तयारीमा छ।
बागलुङ क्षेत्र नम्बर १ (२) बाट निर्वाचित नेपाली कांग्रेसका प्रदेशसभा सदस्य डिल्लीराम सुवेदी गण्डकीमा कांग्रेसका सुरेन्द्र पाण्डेको नेतृत्वमा सरकार बन्ने बताउँछन्। “राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनसम्म केही हुन्न, निर्वाचन सकिएपछि माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिन्छ,” उनले भने, “त्यसपछि नयाँ सरकारको गृहकार्य शुरू हुन्छ। सुरेन्द्र पाण्डेको नेतृत्वमा सरकार बन्छ।”
६० सदस्यीय गण्डकी प्रदेशसभामा प्रत्यक्ष निर्वाचित ३६ र समानुपातिक प्रणालीबाट निर्वाचित २४ सदस्य छन्। प्रदेशसभामा कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका ७, बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टीका १, स्वतन्त्र १ र राप्रपाका २ सदस्य छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
