काठेखोला गाउँपालिका–३ मा पर्ने धम्जा ओखले गाउँमा नयाँ मान्छे आउँदा बोल्न नसक्ने महिलाहरू अहिले आफ्नै नेतृत्वमा होम–स्टे चलाउँछन्।
बागलुङ: चार वर्षअगाडि बागलुङको धम्जाका महिला घरायसी काममा मात्र तल्लीन हुन्थे। घरमा कोही नयाँ पाहुना आउँदा पनि बोल्न अप्ठ्यारो मान्थे। घाँस, दाउरा र मेलापात गरेरै जीविकोपार्जन हुन्थ्यो। अहिले महिलाहरूको दैनिकी पूरै फेरिएको छ।
काठेखोला गाउँपालिका–३ मा पर्ने धम्जा ओखले गाउँ पर्यटकीय हिसाबले निकै मनमोहक भएको हुँदा स्थानीयले २०७५ सालमा होम–स्टे सञ्चालन गरे। होम–स्टे सञ्चालनपछि यहाँका महिला स्वरोजगार बनेका छन्। नयाँ मान्छे आउँदा बोल्न नसक्ने महिलाहरूले नेतृत्व विकास गरेर होम–स्टे आउने पाहुनाको व्यवस्थापन आफैँ गर्छन्। खाना, बस्न र नाचगान गरेर मनोरञ्जन गराउँछन्।
होम–स्टे सञ्चालक माया पुन घर्ती भन्छिन्, “होम–स्टे सञ्चालनमा आएपछि गाउँका आमा, दिदीबहिनीको चालचलन, बोलीचालीसँगै जीवनशैली पनि फेरिएको छ। पहिले चुलोचौकोमै सीमित हुने हामी गाउँ समाजमा आफ्ना कुरा राख्न सक्दैनथ्यौँ, अहिले बोल्न सक्ने भएका छौँ।” होम–स्टेलाई व्यावसायिक रुपमा विकास गरिरहेको भन्दै उनले व्यवस्थापनलाई थप व्यवस्थित गरिरहेको बताइन्।
होम–स्टे आफूहरुको आयस्रोतको माध्यम बन्नाका साथै गाउँको प्रचारप्रसारसमेत भइरहेको उनको भनाइ छ। पर्यटकीय हिसाबले धम्जा ओखले गाउँले निकै सम्भावना बोके पनि ओझेलमा परेको हुँदा यसको विकास गर्न आफूहरु जुटिरहेको उनी बताउँछिन्। “गाउँका दिदीबहिनी एकताबद्ध भएर लागेका छौँ, बिस्तारै व्यावसायिक बन्दै पनि छौँ”, घर्तीले भनिन्, “होम–स्टेले गाउँलेलाई एकताबद्ध बनाउनाका साथै सामाजिक कार्यमा लाग्न प्रेरित गरेको छ।”
स्थानीय पुस्पा छन्त्याल होम–स्टेले महिलाको दैनिकी र जीवनशैलीमा परिवर्तन ल्याएको बताउछिन्। उनले गाउँ होम–स्टे सञ्चालन गर्नुपूर्व आफूहरुले घाँसदाउरा गर्ने, पशुचौपाया पाल्ने र मेलापात गरेर जीविका निर्वाह गरेको स्मरण गरिन्। घरबास महिलाको आयआर्जनको स्रोत बनिरहेको उनको भनाइ छ। उनी भन्छिन्, “पहिले हाम्रो दैनिकी घाँसदाउरा र मेलापात गर्दैमा बित्ने गथ्र्यो, अहिले मेलापातमा मात्रै सीमित हुन परेको छैन, घरमा पाहुनालाई परिकार बनाएर खुवाउने, हाम्रो कलासंस्कृति देखाउने गरेर बित्छ, यसबाट आम्दानी राम्रो भएको छ।”
गाउँलाई पर्यटकीय केन्द्रका रुपमा विकास गर्न र महिलालाई व्यवसायसँग जोड्न चार वर्षपहिले ‘बेलढुङ्गा सामुदायिक होम–स्टे’ स्थापना गरेको अध्यक्ष गोपाल श्रीसले बताए। पर्यटकीय क्षेत्र बेलढुङ्गाको काखमा रहेको धम्जा ओखले गाउँ सम्भावना बोकेको ठाउँ हुँदा आफूहरु सक्रिय रुपमा लागेको उनको भनाइ छ। “हाम्रो उद्देश्य गाउँलाई पर्यटकीय क्षेत्र बनाउने र महिला दिदीबहिनीको नेतृत्व विकास गरी व्यावसायिक बनाउने थियो, चार वर्षमा दिदीबहिनीमा निकै परिवर्तन आएको छ, होम–स्टे राम्रै चलेको छ”, अध्यक्ष श्रीसले भने।
गाउँका १२ घरमा होम–स्टे छन्। हामेस्टे सञ्चालन गर्न हालसम्म १८ लाख अनुदान प्राप्त भएको छ। गण्डकी प्रदेश सरकारले सहयोग गरेको उक्त रकमबाट भान्साकोठा, शौचालय, सभा हल निर्माण गरिएको श्रीसले बताए।
होम–स्टेमा आउने पाहुनलाई धम्जा ओखलेमा उत्पादन हुने कोदो, फापर र आलुबाट बनाइएका परिकार तथा स्थानीय कुखुरा, खसी बोका, गुन्द्रुक लगायतका स्वादिष्ट परिकार खुवाउने गरिएको छ। होमस्टे सञ्चालकले पाहुनालाई मनोरञ्जन दिन मौलिक सालैजो, ठाडो भाका लगायतका विभिन्न संस्कृतिको नाचसमेत देखाउने गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
