भन्सार विभागको तथ्यांक अनुसार गत साउनदेखि माघसम्ममा २२ अर्ब २० करोड रुपैयाँको तेल निर्यात भएको छ। गत वर्षको सोही अवधिमा ७१ अर्ब ९० लाखको निर्यात भएको थियो।
काठमाडौँ– नेपालबाट तेलको निर्यात ६८.७३ प्रतिशतले घटेको छ। भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/०८० को साउनदेखि माघसम्ममा २२ अर्ब २० करोड रुपैयाँको तेल निर्यात भएको छ।
गत वर्षको सोही अवधिमा ७१ अर्ब ९० लाखको तेल निर्यात भएको थियो। तेल नेपालबाट सबैभन्दा धेरै निर्यात हुने हो। तेल निर्यातमा ठूलो गिरावट आएपछि समग्र निर्यातमै धक्का लागेको तथ्यांकले देखाएको छ।
भारतले तेल आयात नीति फेर्दै शुल्कको दर घटाएपछि नेपालको निर्यात घटेको नेपाल चामल तेल दाल उद्योग संघका अध्यक्ष सुबोध गुप्ता बताउँछन्। “भारतले कच्चा तेल आयातमा लिने सीमा (भन्सार) शुल्क २.५ प्रतिशतमा सीमित गरेपछि त्यहीँका उद्योगले प्रशोधित तेल तयार पार्न लागे। नेपालले लिएको बजार अब रहेन,” उनले भने।
नेपालका दर्जन बढी तेल उद्योगले इन्डोनेसिया, मलेसिया, फिलिपिन्सलगायत मुलुकबाट पाम तेलको कच्चा पदार्थ आयात गरेर प्रशोधन गरी भारत निर्यात गर्दै आएका छन्। भारतले आफ्नो घरेलु बजारमा खाद्यान्नको मूल्य नियन्त्रणमा राख्न सार्क मुलुक बाहेकका देशबाट खाने तेलको आयातमा लगाउँदै आएको सीमा शुल्क पनि घटाएको छ।
यस अगाडि भारतले स्वदेशी कच्चा तेल उत्पादक र किसानलाई संरक्षण गर्ने नीति लिँदै दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा) बाहेकका मुलुकबाट कच्चा तेल आयातमा ४० प्रतिशतसम्म शुल्क लिने गरेको थियो। ‘साफ्टा’ अनुसार सहुलियतको उपयोग गर्दा भारतीय व्यवसायीले ५ प्रतिशत शुल्क तिरेर नेपालबाट खाने तेल आयात गर्न पाएका थिए।
अरू मुलुकको तुलनामा साफ्टा सदस्य मुलुकका रूपमा नेपालबाट आयात गर्दा भारतीय व्यापारीलाई मूल्यमा ३५ प्रतिशत अन्तर थियो। भारतले आफ्नो बजार मूल्य नियन्त्रणका लागि सार्क बाहेकका देशबाट तेल आयातमा लिँदै आएको उच्च सीमा शुल्क घटाएपछि नेपालबाट हुने तेल निर्यात घटेको पूर्व वाणिज्य सचिव पुरुषोत्तम ओझाको भनाइ छ।
एकताका नेपालमा वनस्पति घ्यु उद्योगहरू खुबै फक्रिएका थिए। उनीहरूको बजार भारत थियो। “तेल निर्यात पनि सन् २००२ मा भारतले वनस्पति घ्यु आयातमा कोटा लगाइदिएपछि निर्यात बिस्तारै बन्द भएजस्तै अवस्थातर्फ गइरहेको छ,” ओझाले भने। भारतीय बजारतिर निकासी गर्न पाउने भएपछि ९० को दशकमा धमाधम थपिएका वनस्पति घ्यु उद्योगहरूले पछि ‘रिफाइनरी’मा रूपान्तरण गरेका थिए। ‘रिफाइनरी’ तेलको बजारसमेत गुमेपछि तेल उद्योगमा रहेको अर्बौँ लगानी पनि जोखिममा रहेको अध्यक्ष गुप्ता बताउँछन्।
कुल निर्यात ३८ अर्ब २२ करोडले कम
निर्यात हुने मुख्य बस्तु तेलको निकासी घटेसंगै चालु आर्थिक वर्षको ७ महिनामा मुलुकभित्रबाट हुने निर्यात गत वर्षको तुलनामा ३८ अर्ब २२ करोड ३७ लाखले घटेको छ। माघ मसान्तसम्म ९३ अर्ब ४३ करोड २३ लाख रुपैयाँ बराबरका वस्तु नेपालबाट निर्यात भएका छन्।
गत वर्ष सोही अवधिमा १ खर्ब ३१ अर्ब ६५ करोड ६० लाख रुपैयाँको निर्यात भएको थियो। निर्यात हुने अन्य बस्तुमा कार्पेट, अलैँची, चिया, जुसलगायत छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
