गगन थापासँग अन्तर्वार्ता : कांग्रेसको उम्मेदवार राष्ट्रपति बनाउन पुरानो गठबन्धन ब्युँताउन खोजेको साँचो हो
राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई माओवादीले सहयोग गर्छ भन्नेमा हामी विश्वस्त छौँ। त्यसैअनुसार हामीले संवाद अघि बढाएका छौँ। कांग्रेसले पुस १० गते अघिकै गठबन्धनलाई ब्युँताउन खोजेको साँचो हो।
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले आफ्नो उम्मेदवारलाई राष्ट्रपति बनाउने र एमाले गठबन्धन भत्काउने प्रयास गरिरहेको देखिन्छ। राष्ट्रपतिमा माओवादीले सघाउने आश्वासन दिए पनि त्यसमा गडबड हुने आशंकासहित कांग्रेसका नेताहरूले दौडधुप बढाइरहेका छन्। सहमतिअनुसार माओवादीले एमालेका उम्मेदवारलाई राष्ट्रपतिमा नसघाए एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाएर निर्वाचनमा उनलाई सहयोग गर्नेतर्फ एमाले अध्यक्ष केपी शर्मा ओली अघि बढेपछि कांग्रेस नेताहरू सतर्क भएका हुन्। उनीहरू नेता नेपालको पनि चित्त नदुखाई उनलाई सँगै राख्ने प्रयासमा जुटेका छन्। कांग्रेस नेताहरूका अनुसार राष्ट्रपतिमा कांग्रेसलाई सघाउने माओवादीको औपचारिक निर्णय आउनासाथ आगामी फागुन ११ या १२ गते उम्मेदवार सार्वजनिक गर्ने तयारी पार्टीभित्र भइरहेको छ। पुस १० मा एकाएक संघदेखि प्रदेशसम्मका सरकारको नेतृत्व गर्ने अवसर कांग्रेसले गुमाएको थियो। त्यसबाट पाठ सिक्दै यसपटक सभापति शेरबहादुर देउवाले राष्ट्रपति पद कांग्रेसको भागमा पार्ने जिम्मा आफूले मात्रै लिएका छैनन्, आफूसँगै कांग्रेस पदाधिकारीहरूलाई पनि यसका लागि खटाएका छन्। कांग्रेस उम्मेदवारमा सहमति खोज्ने दौडधुपमा संलग्न नेताहरू अहिलेसम्म राष्ट्रपति कांग्रेसबाटै हुनेमा विश्वस्तसमेत देखिन्छन्। उनीहरूमध्येका एक महामन्त्री गगनकुमार थापासँग उकालोका लागि दिपा दाहालले गरेको कुराकानीको संक्षिप्त अंश:
राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई सघाउन माओवादी सहमत भएको हो?
नेकपा माओवादीले नेपाली कांग्रेसको उम्मेदवारलाई राष्ट्रपतिमा सघाउँछ भन्ने कुरामा हामी विश्वस्त छौँ। यसबारे माओवादीसँग हाम्रो धेरै पटक छलफल भइसकेको छ। माओवादीले हामीलाई आश्वस्त पनि पारिसकेको छ। राष्ट्रपतिमा हाम्रो उम्मेदवारलाई सघाउने भन्दै माओवादीले गर्ने औपचारिक निर्णयको प्रतीक्षामा छौँ। चाँडोभन्दा चाँडो माओवादीबाट यो निर्णय आउँछ भन्नेमा हामी आशावादी छौँ। कांग्रेसको उम्मेदवार राष्ट्रपति बन्नेमा कुनै अन्योल छैन।
राष्ट्रपतिमा कांग्रेसलाई सघाउन माओवादी तयार हो भने औपचारिक निर्णय गर्न किन विलम्ब भएको होला?
सोमबार मात्रै यसबारे निर्णय गर्ने जिम्मेवारी माओवादी बैठकले प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई दिएको छ। अब प्रधानमन्त्रीले विलम्ब नगरी यसबारे औपचारिक निर्णय गर्नुहुन्छ भन्ने मलाई विश्वास छ। हामी माओवादीका अन्य नेताहरूसँग पनि निरन्तर संवादमै छौँ। चाँडै नै माओवादीबाट राष्ट्रपतिमा कांग्रेसलाई सघाउने निर्णय आउँछ भन्ने मलाई लाग्छ। सबै पार्टीका नेताहरूको निर्णय गर्ने आ–आफ्नो प्रक्रिया हुन्छ। प्रधानमन्त्रीले पनि समय लिएर यसबारे निर्णय गर्दै हुनुहुन्छ। एक दुई दिनमै सबै कुरा टुंगोमा पुग्छ भन्ने लाग्छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादी अध्यक्ष माधव नेपाललाई राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गर्नुभयो भन्ने छ। नेपालले प्रस्ताव स्वीकार गरे कांग्रेसले के गर्छ?
पुरानो गठबन्धनमा संलग्न कुनै पनि दल र नेताहरू फेरि यसपटक नेकपा एमालेका कारण झुक्किनु हुन्न भन्ने लाग्छ। पुस १० गते उहाँहरू झुक्किनु भएको पक्कै हो। अब त्यस्तो गल्ती उहाँहरूबाट हुन्न भन्ने लाग्छ। फागुन १० गते उहाँहरूबाट त्यो गल्ती दोहोरिन्छ भन्ने मलाई लाग्दैन।
राष्ट्रिय सहमति जुटाउन सभापति शेरबहादुर देउवालाई नै राष्ट्रपतिको उम्मेदवार बनाउने कसरत भइरहेको हो?
कांग्रेसले आफ्नो उम्मेदवारलाई राष्ट्रपति बनाउनु पर्छ भन्ने विषयमा यतिबेला सम्पूर्ण प्रयास गरिरहेको छ। तर, हाम्रो पार्टीभित्र राष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्नेबारे अहिलेसम्म टुंगो लागेको छैन। पहिले कांग्रेसको उम्मेदवारलाई माओवादीको समर्थन रहने कुरा सुनिश्चित भएपछि मात्रै हामी उम्मेदवारको छिनोफानो गर्नेछौँ। हामी कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा प्रवेश गरेका छैनौँ। जुन दिन प्रवेश गर्छौं त्यही दिन उम्मेदवार पनि टुंगो लगाएरै छोड्छौँ। यो ठूलो विषय पनि भएन। बाहिर आएका कुरा मानिसका मनका इच्छा मात्रै हुन् जस्तो लाग्छ।
शेरबहादुर देउवालाई राष्ट्रपतिको उम्मेदवार बनाउन कांग्रेसको संस्थापनइतर पक्ष नै लागेको भनिन्छ नि?
यसबारे हाम्रो कुनै छलफल भएको छैन। यसमा संस्थापनइतर पक्षको कुरै भएन। सिंगो नेपाली कांग्रेसको उम्मेदवारलाई राष्ट्रपतिमा निर्वाचित बनाउन लागेको छ। यस्तो बेला संस्थापन पक्ष या इतर पक्षको कुरै हुँदैन। यो त सिंगो पार्टीको राजनीति र प्रतिष्ठाको विषय हो। सिंगो कांग्रेस आफ्नो उम्मेदवारलाई राष्ट्रपति बनाउन लागि परेको छ।
कांग्रेसले पुस १० गते अघिकै गठबन्धनलाई ब्युँताउन खोजेको भनिँदै छ, यो सत्य हो?
यो साँचो हो। किनभने पुस १० गते अघिको गठबन्धन नै अहिलेसम्मकै प्राकृतिक गठबन्धन थियो। त्यो नै मुलुकको संविधान र लोकतन्त्र रक्षका लागि मजबुत थियो। गठबन्धन गर्नुहुन्थ्यो या गर्नुहुन्थेन त्यसमा हाम्रा आ–आफ्ना दृष्टिकोण थिए। आ–आफ्ना धारणा पनि थिए। तर, गठबन्धन गरेर हामीले पाँच वर्ष सँगै मिलेर सरकार चलाउने र देशको विकासमा ध्यान दिने भन्ने बाचा मतदातासँग गरेका थियौँ। त्यो बेलाको गठबन्धनमा संलग्न सबै दलको आफ्ना मतदाताप्रति जिम्मेवारी छ। त्यो जिम्मेवारी हामीले पूरा गर्नुपर्छ। त्यसैले पुरानो गठबन्धन ब्युँताउने हाम्रो प्रयास अस्वाभाविक होइन। हाम्रा मतदातालाई हामीले बेइमानी गर्न हुन्न।
यी सबै घटनाक्रमका पछाडि छिमेकी मुलुक भारतले खेलिरहेको भनिँदै छ, के हो?
यो गलत हो। आफूमा पटक्कै विश्वास नगर्ने अनि अरूलाई दोष लगाउने चलन पुरानै हो। आफूले काम गर्दा त्यो आफ्नो क्षमताले गरेको हुने अनि आफू प्रतिकूल राजनीति भयो भने अरू शक्तिले गराएको भन्ने कुरा सही होइन। यो लघुताभासले ग्रस्त एउटा मनोविज्ञान मात्रै हो। अनि अर्को सबै कुरा अनुमान गरेर लाभ लिने चलन गलत हो। पुस १० गते एउटा गठबन्धन बन्दै गर्दा आफैँले बनाएको भनियो। निर्वाचनमा तालमेल गरेका दलहरूको सरकार बनाउन खोज्दा शक्ति प्रयोग भएको कसरी भन्न मिल्छ? यो एउटा रोग हो। यो रोगबाट सबै राजनीतिक दल र तीनका नेता मुक्त हुन आवश्यक छ।
कांग्रेस भद्रगोल छ, राष्ट्रपति पाउन मात्रै किन यति धेरै हानथाप?
कांग्रेसका लागि यतिबेला सत्तामा पुग्ने कुरा प्राथमिकता होइन। राष्ट्रपति कसरी प्राप्त गर्ने भन्ने विषय कांग्रेसको प्राथमिकतामा परेको साँचो हो। यो अस्वाभाविक पनि होइन। विगतमा राष्ट्रपति पदको जसरी दुरुपयोग भयो त्यसले संविधान र लोकतन्त्रमा प्रहार गर्यो। राष्ट्रपति पदको दुरुपयोग नहोस् भनेर हामी राष्ट्रपतिका लागि मरिमेटेर लागेका हौँ। हाम्रा लागि देशको संविधान र लोकतन्त्र ठूलो कुरा हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
