नेपाल टी-२० लिग स्पट फिक्सिङ : सीआईबीले बुझायो प्रतिवेदन, १० जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

सीआईबीले नेपाल टी-२० लिगका क्रममा भएको भनिएको स्पट फिक्सिङमा १० जना दोषी रहेको निष्कर्षसहित सरकारी वकिलको कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाएको छ।

काठमाडौँ- केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नेपाल टी-२० लिगमा भएको भनिएको स्पट फिक्सिङको अनुसन्धान सकेको छ। 

अनुसन्धान सकिएसँगै सीआईबीले बुधबार १० जनालाई प्रतिवादी बनाई अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाएको छ।

सीआईबीका एसपी सञ्जयसिंह थापाका अनुसार ६ विदेशी र ४ नेपालीसहित १० जनालाई प्रतिवादी बनाइएको हो। ६ विदेशीमध्ये चार व्यवस्थापक, एक खेलाडी र अर्का एक बाहिरी व्यक्ति रहेको सीआईबीले जनाएको छ।

फिक्सरले एकै खेलमा पाँचजना खेलाडीलाई स्पट फिक्सिङका लागि अफर गरेका थिए। जसमा तीन नेपाली र दुईजना विदेशी खेलाडी रहेका छन्। तीनजना खेलाडीले भने फिक्सिङ गर्न अस्वीकार गरेका थिए। 

दुई खेलाडीले फिक्सिङ गरेको सीआईबीले जनाएको छ। स्पट फिक्सिङ गरेको आरोपमा सीआईबीले नेपाली राष्ट्रिय टोलीका अलराउन्डर आदिल अन्सारी र अर्का खेलाडीलाई पक्राउ गरेको थियो। 

उनको नाम भने सीआईबीले सार्वजनिक गरेको छैन। सीआईबीका अनुसार उनीहरूलाई नेपाली राष्ट्रिय टोलीका पूर्वसदस्य महबुब आलमले अफर दिएका थिए।

स्पट फिक्सिङको आरोपमा हालसम्म महबुब, अन्सारी र नाम सार्वजनिक नगरिएका अर्का एकजना मात्रै पक्राउ परेका छन्। महबुब विराटनगरको एक होटलबाट पक्राउ परेका थिए। यस्तै, अन्सारीलाई राजविराजबाट प्रहरीले पक्राउ गरेको थियो। उनी नेपाल टी-२० लिगमा जनकपुर रोयल्सबाट खेलेका थिए।

एसपी थापाका अनुसार प्रतिवादी बनाइएकाहरूमाथि तीन वर्ष कैद र ५० हजार जरिवाना हुनुपर्ने सिफारिस गरिएको छ। “उनीहरूले खेलकुद विकास ऐनअन्तर्गत दुई कसुर गरिएको देखिएको छ। एक स्वाभाविक परिणामलाई असर गर्नेगरी मिलेमतो गरेको र अर्को नतिजालाई असर गर्नेगरी मिलेमतो गर्न दुरुत्साहन गरेको देखिन्छ। दुवैको सजाय एकै छ। त्यसैले तीन वर्ष कैद र ५० हजार जरिवाना हुनुपर्ने सिफारिस गरेका छौँ,” उनले भने।

सीआईबीले पुस २१ गते नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द र पूर्वकप्तान तथा म्यानेजर विनोद दासलाई बोलाएर बयान लिँदै अनुसन्धान थालेको थियो। त्यसपछि कप्तान रोहितकुमार पौडेल, पूर्वकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, विनोद भण्डारीलगायत राष्ट्रिय टोलीमा रहेका तथा नरहेका खेलाडीहरूसँग पनि सोधपुछ गरेको थियो।

क्यानका अध्यक्ष चन्दले लिगलाई बचाउन स्पट फिक्सिङको सूचना पाएपनि कसैलाई जानकारी नदिएको सार्वजनिक रूपमै स्वीकार गरिसकेका छन्। यद्यपि, स्पट फिक्सिङमा संलग्न जोकोहीलाई कारबाही गर्ने उनको दाबी छ।