४० वर्ष उमेर पुगेका विद्यार्थी नेतालाई अनेरास्ववियुबाट बिदा लिन आग्रह

नेकपा (एमाले) का स्थायी कमिटी सदस्य भानुभक्त ढकालले ४० वर्ष उमेर पुगेका विद्यार्थी नेतालाई अनेरास्ववियुबाट बिदा लिन आग्रह गरेका छन्।

काठमाडौँ- नेकपा (एमाले) का स्थायी कमिटी सदस्य भानुभक्त ढकालले ४० वर्ष हाराहारीमा उमेर पुगेका विद्यार्थी नेताहरूलाई अनेरास्ववियुबाट बिदा हुन आग्रह गरेका छन्। 

मंगलबार अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै पार्टीको जनसम्पर्क समन्वय समिति संयोजक समेत रहेका स्थायी कमिटी सदस्य ढकालले ३० वर्ष हाराहारीमा उमेर पुगेका विद्यार्थी नेताहरूलाई संगठनबाट बिदा हुन आग्रह गरेका हुन्। 

उनले विद्यार्थी संगठन छोडेर पार्टीका काममा लाग्न आग्रह गरे। उनले भूगोलमा काम नगरी पार्टीले निर्वाचनको टिकट पनि नदिने भन्दै भूगोलमा गएर पार्टीको काम गर्न सुझाव दिए। 

संगठनबाट स्वेच्छाले बाहिरिने विद्यार्थी नेतालाई पार्टीले पहिलो प्राथमिकतामा राखेर जिम्मेवारी दिने पनि उनले बताए। उनले उच्च समझदारीका साथ नयाँ नेतृत्व चयन गर्नुपर्नेमा जोड दिए। 

उनले भने, “म त के चाहन्छु भने ४० को हाराहारीमा पुगेका साथीहरू अब अखिलमा मरिमेटेर नेतृत्वमा रहने भन्दा पनि एमालेको नेतृत्व गर्छु भन्ने हिम्मतका साथ यो मैदानमा आउनुभयो भने नेतृत्वले त्यसमा खुशी मान्नेछ।” 

उनले विद्यार्थी संगठनले पुरानो तरिकाको राजनीति नगरी रचनात्मक तरिकाले कामहरू गर्नुपर्ने बताए। त्यस्तै, उनले एमालेमा कसैले संस्थागत गुट बनाउने कुरा स्वीकार्य नहुने बताए। 

निर्वाचन भएको खण्डमा प्यानल नबनाई एक्लाएक्लै उम्मेदवार बन्नुपर्ने उनको भनाइ थियो।