एसिड आक्रमणमा संलग्न मोहमद र फैयादलाई ७ वर्ष कैद, १० लाख क्षतिपूर्ति भराउन आदेश

एसिड आक्रमणमा संलग्नहरूलाई अधिकतम क्षतिपूर्ति र कैद फैसला भएको पीडित कार्कीका तर्फबाट वकालत गरेकी अधिवक्ता राधिका खतिवडाले बताइन्।

काठमाडौँ– काठमाडौँ जिल्ला अदालतले एसिड आक्रमणमा दोषी ठहर भएका मोहमद आलम र फैयाद आलमलाई सात वर्ष कैद, १० लाख क्षतिपूर्ति र पाँच लाख जरिबाना भराउने फैसला गरेको छ। आइतबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रकाश पण्डितको इजलासले पीडितका पक्षमा फैसला सुनाएको हो।

२०७७ साउन ८ गते साँझ ओखलढुंगा स्थायी घर भई काठमाडौँको सीतापाइला बस्दै आएकी पवित्रा कार्कीमाथि एसिड आक्रमण भएको थियो। प्रहरीले साउन ९ गते सीतापाइलामा गार्मेन्ट फ्याक्ट्री सञ्चालन गर्दै आएका मोहमद आलम र भारतीय आधार कार्ड बाहक फैयाद आलमलाई कार्कीमाथि एसिड आक्रमणमा संलग्न भएको आरोपमा पक्राउ गरेको थियो।

पछि उनीहरूले आपसी मिलेमतो कार्कीमाथि एसिड आक्रमण गरेको प्रहरीसमक्ष बयान दिएका थिए। मोहमदको निर्देशनमा फैयादले कार्कीमाथि एसिड खन्याएको प्रहरीसमक्ष बयान दिएका थिए। त्यसपछि उनीहरूविरुद्ध मुद्दा चलेको थियो। गार्मेन्ट फ्याक्ट्रीका मालिक मोहमदलाई १० लाख क्षतिपूर्ति र भारतीय नागरिक फैयादलाई पाँच लाख क्षतिपूर्ति, दुवै जनालाई सात/सात वर्ष कैद, जनही साढे दुई लाख जरिबाना भराउने अदालतले फैसला सुनाएको हो।

मुलुकी अपराध संहिता २०७४ को धारा १९३ बमोजिम काठमाडौँ जिल्ला अदालतले फैसला गरेको हो। यस धारामा ‘ज्वलनशील, जैविक वा विषालु पदार्थ प्रयोग गरी कुरूप पार्न नहुने’ व्यवस्था रहेको छ। उक्त व्यवस्थाविरुद्धको कसुर गर्ने व्यक्तिलाई कसुरको प्रकृति हेरी अनुहार कुरूप पारेमा पाँचदेखि आठ वर्षसम्म कैद र एक लाखदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना र शरीरको अन्य अंग कुरूप पारेमा वा शरीरमा पीडा पुर्‍याएमा तीनदेखि पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँदेखि ३ लाखसम्म जरिवाना हुने व्यवस्था छ। सोही व्यवस्थाअनुसार उनीहरूलाई अधिकतम क्षतिपूर्ति र कैद फैसला भएको पीडित कार्कीका तर्फबाट वकालत गरेकी अधिवक्ता राधिका खतिवडाले बताइन्।

“एसिड आक्रमणको घटनामा अधिकतम कैद र अधिकतम क्षतिपूर्ति भराउने फैसला भएको नेपालमै सम्भवतः यो पहिलो फैसला हो। यसले धेरै मानिसमा न्याय पाइने आशा जगाएको छ”, उनले भनिन्, “यस्तै, नेपालको न्यायिक इतिहासमै पहिलो पटक पीडित उपचारका खर्चका दिलाउन अन्तरिम आदेशबाटै रकम उपलब्ध गराइएको पनि यो पहिलो घटना पनि हो। शुरूआतमै उपचारका लागि पवित्रालाई २ लाख रुपैयाँ उपलब्ध गराइएको थियो।”  

यसअघि थुनछेक बहसकै क्रममा आरोपितबाट जिल्ला न्यायाधीश कृष्णजंग शाहको इजलासले क्षतिपूर्ति राहत कोषबाट तत्काल दुई लाख रुपैयाँ खर्च भराउन आदेश दिएको थियो।