राष्ट्रपतिको सम्बोधन इच्छापत्रजस्तो : कांग्रेस प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रपति भण्डारीको सम्बोधन सरकारको नीति तथा कार्यक्रम जसरी आएको बताएका छन्।

काठमाडौँ– नेपाली कांग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीको सम्बोधनलाई नीति तथा कार्यक्रमसँग तुलना गरेको छ। राष्ट्रपति भण्डारीले शुक्रवार संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै अर्थतन्त्रलाई उकास्नुपर्ने विषयमा जोड दिएकी थिइन्।

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रपति भण्डारीको सम्बोधन सरकारको नीति तथा कार्यक्रम जसरी आएको बताएका छन्। संसद् भवनबाहिर सञ्चारकर्मीसँगको संक्षिप्त प्रतिक्रियाका क्रममा उनले सम्बोधनमा सबैको इच्छापत्रमा जस्ता विषय समेटिएर आएको टिप्पणी गरे। सरकारको नीति कार्यक्रममा आउने विषय अहिले नै आएको उनको भनाइ छ। “सबैको इच्छापत्र जस्तो कुराहरू आएका छन्। सामान्यतया यस्ता विषयहरू नीति कार्यक्रम प्रस्तुत गर्दा खेरी आउँछ। यो अहिले नै आएको छ”, उनले भने।

उनले जतिसुकै विषय उठाए पनि सरकारले कत्तिको कार्यान्वयन गर्छ भन्ने कुरामा निर्भर रहने उल्लेख गरे। “हाम्रो सरकारको समस्या भनेकै कार्यान्वयन हो। जतिसुकै विषयहरू उठान गरे पनि, जति पटक दोहोर्‍याए पनि मूल कुरो कार्यान्वयनमा हामी कति गम्भीर छौँ, सरकार कति गम्भीर छ, कसरी कर्तव्यनिष्ठताका साथ काम गर्छ त्यसमा निर्भर हुन्छ”, उनले भने।

सत्तारूढ दल नेकपा एमालेका सचिव तथा सांसद योगेशकुमार भट्टराईले राष्ट्रपति भण्डारीले अर्थतन्त्रलाई माथि उकास्नुपर्ने विषयमा जोड दिएको बताउँछन्। राष्ट्रपतिले प्रतिकूलतामा रहेको अर्थतन्त्रलाई अनुकूलतामा बदल्ने उपाय अवलम्बन गर्नुपर्नेमा जोड दिएको बताए।

सम्बोधनको क्रममा राष्ट्रपतिले राष्ट्रिय उत्पादन, आयात प्रतिस्थापन र वैदेशिक व्यापार घाटा सन्तुलन लगायतका विषयमा जोड दिएकी थिइन्। राष्ट्रपतिले सम्बोधन गरेका विषयवस्तुलाई सरकारले आगामी नीति तथा कार्यक्रम बनाउँदा मार्गदर्शनको रूपमा लिनुपर्ने उनको धारणा छ।

“राष्ट्रपतिले अहिले मुलुकले भोगिरहेका ज्वलन्त केही समस्याबारे संसद्मार्फत सिंगो नेपाली समुदायको, नेपाली जनताको, नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भयो। नेपाल सरकारले आगामी नीति कार्यक्रम र बजेट बनाउँदा खेरी राष्ट्रपतिले सम्बोधन गरेका विषयवस्तुलाई मार्गदर्शनको रूपमा लिनुपर्छ” उनले भने।