प्रत्यक्षतर्फ छापियो ३३ जिल्लाको मतपत्र

निर्वाचन आयोगले समानुपातिक निर्वाचनका लागि १ करोड ९३ लाख १३ हजार मतपत्र ढुवानी भएको जनाएको छ। अब ९ जिल्लामा मतपत्र ढुवानी गर्न बाँकी रहेको छ।

निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ ३३ जिल्लाको मतपत्र छपाइ सकिएको जनाएको छ। 

आयोगले ३३ जिल्लाको १ करोड ८७ लाख ५० हजार मतपत्र छपाइ सकिएको जनाएको हो। प्रतिनिधिसभातर्फ ९६ लाख ७४ र प्रदेशसभातर्फ ९० लाख ७६ हजार ५०० मतपत्रको छपाइ सकिएको हो। 

आयोगका अनुसार मतपत्रको पृष्ठभूमिको रङ्ग सेतो राखिएको छ। समानुपातिकतर्फ सेतो पृष्ठभूमिको कागजमा निर्वाचन चिह्न र अन्य विवरणका लागि कालो रङ्ग प्रयोग भएको छ। प्रत्यक्षतर्फ सेतो पृष्ठभूमिको कागजमा निर्वाचन चिह्न र अन्य विवरणको रङ्ग रातो मसीको प्रयोग गरिएको छ।

आयोगले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा मतपत्र छपाइ गरिरहेको हो। यसपटक प्रत्यक्षतर्फ अन्तिम नामावलीमा कायम उम्मेदवारको निर्वाचन चिह्न मात्र समावेश गरी मतपत्र छपाइ भइरहेको आयोगले जनाएको छ।

९ जिल्लामा समानुपातिकतर्फको मतपत्र ढुवानी बाँकी
आयोगले समानुपातिकतर्फ ९ जिल्लाको मतपत्र ढुवानी गर्न बाँकी रहेको जनाएको छ। मतपत्र ढुवानी गर्न बाँकी रहेका जिल्लाहरू मनाङ, मुस्ताङ, अछाम, बाजुरा, कालिकोट, मुगु, हुम्ला, जुम्ला र डोल्पा हुन्। प्रतिनिधिसभातर्फ ५ लाख ५८ हजार मतपत्र र प्रदेशसभातर्फ ५ लाख ६७ हजार मतपत्र ढुवानी हुन बाँकी छ।

आयोगका अनुसार प्रतिनिधिसभातर्फ समानुपातिक निर्वाचनका लागि १ करोड ९३ लाख १३ हजार मतपत्र ढुवानी भएको छ। त्यस्तै, प्रदेशसभातर्फ १ करोड ९३ लाख १३ हजार ढुवानी मतपत्र ढुवानी सम्पन्न भइसकेको छ।

आगामी मंसिर ४ गते देशभर एकैचरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदैछ। यो निर्वाचनमा ९१ लाख ४० हजार ८०६ पुरुष, ८८ लाख ४७ हजार ५७९ महिला र १८५ अन्य गरी कूल १ करोड ७९ लाख ८८ हजार ५७० मतदाताले मतदान गर्दैछन्। 

मतदाताले समानुपातिक र प्रत्यक्ष गरी दुई प्रणालीका लागि चार मतपत्रमा भोट हाल्नुपर्ने हुन्छ। निर्वाचनका लागि कूल करिब ८ करोड मतपत्र आवश्यक पर्छ। देशभर १० हजार ८९२ मतदानस्थल र २२ हजार २२७ मतदान केन्द्र रहनेछन्।