सिँचाइ अभावका कारण कन्चनपुरमा चैते धान लगाउनेको संख्या घट्दै

बढी पानी जम्ने, नहर तथा डुबान हुने क्षेत्रमा चैते धान बढी उत्पादन हुन्छ। त्यसैले यो धानलाई पानी बढी चाहिन्छ।

फाइल तस्वीर

कञ्चनपुर– जिल्लामा चैते धानको खेती गर्ने किसानको सङ्ख्या घट्दै गएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान जोनका अनुसार जिल्लामा चैते धान लगाउने किसानको सङ्ख्या न्यून छ।

अन्य धानभन्दा चैते धान बढी फल्ने भए पनि किसान यसतर्फ आकर्षित नभएको परियोजना कार्यालय कञ्चनपुरका वरिष्ठ कृषि विकास अधिकृत सञ्जु उपाध्याय रिमालले बताइन्। कैलाली र कञ्चनपुरलाई सुदूरपश्चिमको अन्न भण्डारका रूपमा लिइन्छ। पछिल्ला वर्ष दुवै जिल्लामा चैते धान खेतीतर्फ किसानको आकर्षण घट्दै गएको छ।

“कञ्चनपुरमा ५० हेक्टरमा धान खेती गर्ने लक्ष्य लिए पनि त्यति पुर्‍याउन सकस छ,” उनले भनिन्, “छाडा चौपाया र सिँचाइ अभावका कारण खेती गर्नेको सङ्ख्या घटेको हो।” चैते धानलाई पानी बढी चाहिन्छ। तर सिँचाइ असुविधाका कारण किसान यसतर्फ आकर्षित हुन नसकेको रिमालले बताइन्। भनिन्, “चैते धानलाई पानी बढी चाहिन्छ,  उत्पादकत्व पनि बढी छ। तर खेती बढाउन सकिएको छैन।”

बर्खे धानबाली भित्र्याउन नपाउँदै बाढीले सखाप पार्न थालेपछि समस्यामा परेका बाढी प्रभावित क्षेत्रका किसानलाई चैते धान खेतीले फाइदा पुग्ने उनको भनाइ छ। “बेर्ना राख्ने समय भएको छ, केही किसान बीउ लिन आउन थालेका छन्”, रिमालले भनिन्, “बेमौसमी वर्षाले धानमा नोक्सान हुन थालेपछि चैते धान लगाउँदा फाइदा  छ।” कञ्चनपुरमा चैते धान उत्पादन कार्यक्रम लागू भएपछि ५० प्रतिशत अनुदानमा बीउ उपलब्ध गराउन थालिएको छ। 

बढी पानी जम्ने, नहर तथा डुबान हुने क्षेत्रमा चैते धान उत्पादन बढी हुन्छ। बर्खे बाली जोगाउन समस्या हुने भएकाले चैते धान खेती गरिन्छ। किसान भने सिँचाइ असुविधा मात्र नभई परम्परागत खेतीका कारण चैते धान लगाउन नसकिएको बताउँछन्। बेदकोट नगरपालिका–७ का खुसी राना चैते धान लगाउने समयमा गहुँ खेती हुने भएकाले लगाउन नचाहेको बताउँछिन्। “गहुँ पनि लगाउनै पर्छ। तरकारी लगाउँदा पनि ठाउँ अभाव हुन्छ,” उनी भन्छिन्, “उत्पादन बढी हुने भए पनि पानीको असुविधा छ।”

सरकारले चैते धान खेती विस्तारका लागि थुप्रै लगानी गरे पनि किसान आकर्षित नभएको हिरुलाल डगौराले बताए। भने, “पर्याप्त उत्पादन भएन भने मारमा परिन्छ, सरकारले बिमाको सुविधा दिँदा राम्रो हुन्थ्यो।”