मधेश प्रदेशमा बन्यो १५ सदस्यीय मन्त्रिपरिषद्

माओवादीका तर्फबाट एक मन्त्री र एक राज्यमन्त्री थपिएसँगै मधेश प्रदेशको मन्त्रिपरिषद् १५ सदस्यीय बनेको छ।

धनुषा– मधेश प्रदेश सरकारले पूर्णता पाएको छ। मंगलबार नेकपा माओवादी केन्द्रका तर्फबाट मन्त्रिपरिषद्मा सहभागिता भएपछि प्रदेश सरकारले पूर्णता पाएको हो। 

माओवादीका तर्फबाट पठाइएका एक मन्त्री र एक राज्यमन्त्रीलाई मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा मंगलबार दिउँसो पद तथा गोपनीयताको शपथ गराइएको थियो।

प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष नेकपा माओवादी केन्द्रका तर्फबाट उद्योग, पर्यटन तथा वनमन्त्री सुनिता यादव र मुख्यमन्त्री यादवसमक्ष सोही मन्त्रालयको राज्यमन्त्रीमा रहबर अन्सारीले पद तथा गोपनीयताको शपथ लिए। यादवले मैथिली भाषामा र राज्यमन्त्री अन्सारीले भोजपुरी भाषामा शपथ लिए।

गत मंसिर ४ गतेको निर्वाचनमा मन्त्री यादव समानुपातिकतर्फ र राज्यमन्त्री अन्सारी प्रत्यक्षतर्फ पर्सा क्षेत्र नं १(१) बाट निर्वाचित भएका थिए।

यसअघि मुख्यमन्त्री यादवले २९ पुसमा तीन जना मन्त्रीसँगै शपथ लिएका थिए भने २० माघमा ६ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका थिए। योसँगै मुख्यमन्त्रीसहित १० मन्त्री र चार राज्यमन्त्री गरी १५ सदस्यीय मधेश प्रदेश सरकारले पूर्णता पाएको छ।