तिहारलाई मधेशमा सोहरैयाका रूपमा मनाइन्छ। सोहरैया त्यौहार कृषि कर्ममा आधारित परम्पराले भरिएको छ।
काठमाडौँ- कात्तिक कृष्ण पक्ष त्रयोदशी तिथिबाट शुरू हुने ‘यमपञ्चक’का पाँच दिनसम्म लोकपरम्परा अनुसारका अनेक विधिसहित मनाइने तिहार मधेशको लागि ‘सोहरैया हो।
यो वर्ष पाँच दिने पर्वमालाको पहिलो दिन धनतेरस शनिबार मनाएर यो ‘सोहरैया शुरू हुँदैछ।’ मधेशमा ‘सोहरैया’ त्यौहार कृषि कर्ममा आधारित परम्पराहरूबाट भरिएको छ। ‘दशहरा’ लगतै शुरू हुन्छ सहरैयाको तयारी।
‘सरहे सोहरैया र छवे छठ’ भनाई नै छ। यसको अर्थ हुन्छ कोजाग्रत पूर्णिमादेखि गणना गर्दा १६ औँ दिन पाँच दिने ‘सोहरैया’को मध्यमा पर्ने लक्ष्मीपूजा पर्छ भने त्यसपछिको छैटौँ दिन ‘छठ’ पर्व पर्छ।
दशहरापछि पाँच दिन पूर्णिमासम्म अलगअलग दिन विभिन्न स्थानमा स्थानीय मेलाहरूको रौनक हुन्छ। “पूर्णिमादेखि सोहरैया आउन अब १६ दिन बाकी हुन्छ। यसबीचमा टोल, घर आँगन, पशुधन कृषि ज्याबल र हातहतियारलाई सफाइ तथा शृंगार गर्ने काम भ्याउनुपर्ने हुन्छ”, लोकसंस्कृतिका जानकार रहेका साहित्यकार उमाशंकर द्विवेदीले भने, “यतिखेर खेतमा लगाइएको मुख्यबाली धानमा बाला निस्केर पनि पाक्न बाकी हुन्छ, खेतीको चटारोबाट केही समय पाइएको फुर्सदलाई उमंगमय बनाउने प्रयास गरिएको हुन्छ। बालीको रूपमा लहलहाइरहेको लक्ष्मी आगमनको तयारी पनि हो यो।”
उनले बताएजस्तै घरहरूको मर्मत सम्भार र शृंगार सजावटसँगै भकारी, कृषिमा प्रयोग हुने कृषि ज्याबल र गोरुलाई पनि दुरुस्त पार्ने चलन विद्यमान छ।
स्वच्छतामा लक्ष्मीको बास हुन्छ भन्ने मान्यता पाइन्छ। माटोको भित्ता बनाउन ‘पियरी माटो’ (पहेँलो माटो)को प्रबन्ध गर्ने गरिन्छ। घर अगाडी खाडल खनी माटोलाई रातभरि पानीमा भिजाए अर्को दिन मलिलो पारेर भुसको मिश्रणसहित तयार गरी कच्ची घर र भकारीका भित्तामा लेप चढाइन्छ।
भित्तामा दियो राख्ने ठाउँ ‘दियरख’ बनाउने गरिन्छ। भित्ता सुकेपछि गोबर माटोको लेप र अन्तमा पहेँलो माटोले पोतेर चिटिक्क बनाइन्छ। छानाको मर्मत पहिले नै भएको हुन्छ। पक्की संरचनालाई मर्मत र रंगरोगन गर्ने बेला पनि यही नै हो।
घर आँगनसँगै टोलको सडक गल्लीलाई पनि सफा पारिन्छ। यमपञ्चक शुरू हुनुभन्दा एक दिन अगाडि द्वादशीका दिन घरको काठे ढोका, बाकसहरू, कोदालो, लाठीभाला लगायत बयलगाडामा हालेर नदी पोखरीमा लगेर धोएर सफा गरिन्छ। यी कामको साथसाथ किसानहरूले दोह्री शैलीमा ‘भाजन’ लोक भाका गाउने गर्छन्।
एउटा किसानले आफ्नो घर वा गोठबाटै भाजनको भाका लयबद्ध गाएको हुन्छः
भइया रे, रे भैया
केकर खोनावल हउअे सागर पोखरवा,
केकर बन्हावल हउंअे आ“ट रे, भाजन बोल..।
यसपछि नजिकैको अर्को किसानले त्यसको जवाफी लाइन गाउँछ।
भइया रे, आरे भाइ
राजाके खोनावल हउंअे सागर पोखरवा,
रानी के बन्हावल हउंअे आ“ट रे भाजन बोल।
घण्टौँ गीति लयमा सवालजवाफ भइरहन्छ। यसरी लक्ष्मीपूजा नजिकिँदै गर्दा खास गरी ग्रामीण क्षेत्रमा गाउँ टोल साँझ बिहान भाजनको लोक भाकाले गुञ्जायमान हुन्छ। यमपञ्चकको पहिलो दिन धनतेरसमा चाँदी, सुन, र विभिन्न धातुका बर्तन झाडु किनेर घरमा ल्याउँदा वर्षभरि लक्ष्मीको कृपा प्राप्त रहने लोकविश्वास छ। सहर बजारमा वार्षिक बही खाता फेरेर नयाँ हाल्ने र त्यसलाई पूजा गरेर गल्ला (पैसा राख्ने बाकस) भित्र राखिन्छ। धनतेरमा बजारमा किनबेच वर्षकै उच्च हुन्छ। त्यसतै माटोको दियरी, कलश, पूजा सामग्री, मैनबत्ती, मिठाई र नयाँ लुगाको किनमेल त्यो दिनदेखि लक्ष्मीपूजाका दिनसम्म चल्छ। सहरी क्षेत्रमा ‘सोफा, फर्निचर, कार्पेट, तन्ना, पर्दा लगायतको बिक्री बढेको पाइन्छ।
धनतेसरको भोलि पल्ट लाई नर्क चतुर्दशी वा जमदियरी भनेर सम्बोधन गरिन्छ। गाइको गोबरमा लक्ष्मीको वास हुन्छ भनेर गोबरले दैलो लिप्ने र साँझ गोबर माथि एउटा दियो बाल्ने परम्परा छ। यम देउताका लागि समर्पित त्यो दीप घर घर अगाडि देखिन्छ। तेस्रो दिन बडका सोहरैया अर्थात् दिवाली, वा दीपावली भनेर मनाइन्छ।
बिहान सूर्योदय हुनु अगावै यो दिन हँसियाले नांग्लो ठटाएर महिलाहरू घरको कुना कुना आवाज गर्छन्। दरिद्रता भगाउनका लागि यसो गरिने मान्यता छ। बिहानीपख, यसअघि सफा परिएका चौकठ, ढोका, काठका बाकस, गाडा, हलो, कोदालो र घरेलु हतियार तथा कृषि ज्याबलहरूको गेरुवा माटोको चिन्ह बसालेर पुजिन्छ।
साँझ केराको पात, फुल माला लगाएर दैलोलाई सजाइन्छ। पहिले महिलाहरूले हस्तकला प्रयोग गरेर बनाएको शुभ दीपावली बैनरको ठाउँमा अब रंगबिरगीं रेडिमेड सामग्रीहरू पाइन्छ। आजभोलि सहरी क्षेत्रमा रंगोली बनाउने चलन बढेको छ।
साँझ माटाको दियरी घरको छत र कौसी र कुनाकाप्चा सजाउने चलन पुनः फर्किन थालेको छ। “विद्युतीय झिलिमिली र मैनबत्तीको चलन बढेर केही वर्ष माटोको दियरी हराउँदै गएको थियो”, भोजपुरीका साहित्यकार रितु राजले भने, “अब भने माटोको दियो फर्किएको छ, मैनबत्ती र विद्युतीय झिलिमिलीभन्दा माटोको दियरी बढी आकर्षक र लक्जरियसजस्तो भएको हुनाले यो परिवर्तन देखिएको हुन सक्छ।” यो दिन पाटाका पड्काउने, फुलझरी उडाउनेजस्तो चलन अझै छ।
फलमुल, मिठाई र अन्य शाकाहारी परिकार घरघरमा तयार हुन्छ, जसलाई पहिले गाईगोरुलाई खुवाएपछि घरका मानिसहरूले खान्छन्। यो दिन गाइगोरुका सिङमा तेल लगाइदिने चलन छ। रातीमा देवी लक्ष्मीको पूजा गरिन्छ। व्यापारिक प्रतिष्ठानले आफ्ना कामदारलाई कपडा र मिठाई दिन्छन् उपहार दिन्छन्। “अन्धकारलाई हटाएर प्रकाश फैलाउने सन्देश पनि यस पर्वमा निहित हुन्छ”, साहित्यकार द्विवेदीले भने, “पौराणिक मान्यता बोकेको यो पर्व लोकजीवनसँग पनि गहिरो रूपमा गाँसिएको छ।” यो एक दिन जुवा खेलेर मनोरञ्जन गर्ने सामाजिक सहुलियत सबैलाई प्राप्त हुन्छ।
मधेशको मिथिलामा दीपावलीलाई रामायण कालदेखि जोडेर हेर्ने गरिएको छ। “भगवान रामले दशैंको दशमी तिथिमा लकांपति रावणको संहार गरेर विभीषणलाई लंकाको गद्दीमा बसालेर आफू त्यहाँबाट अयोध्यातिर फर्केका थिए, उनी फर्केर अयोध्या आएपछि त्यस खुसीयालीमा घरघरमा दियो बालियो दिनको स्मरणमा दीपावली चलिआएको मानिन्छ”, मिथिला संस्कृतिका जानकार विनय कर्णले भने, “रामको ससुरालीमा यस आयोजनको विशेष महत्त्व हुने न भयो, यहाँ दीपावली प्रमुख पर्वको रूपमा रहेको छ।” उनले भनेको प्रसंग वाल्मीकि रामायण तुलसीदास कृत रामचरित्रमानसमा पनि पाइन्छ। अवध क्षेत्रबाट दीपावली पर्वको शुरूवात भएको मानिन्छ।
लक्ष्मीपूजाको अर्को दिन गोवर्द्धन पूजा हुन्छ। यो दिन पशुधन अर्थात् गाईवस्तुको पूजा गर्ने चलन छ। घर अगाडी गाईको गोबरले ‘गोवर्द्धन’ बनाइन्छ। यो भनेको वास्तवमा गोबरले एउटा गाउँको नक्सा वा आकार बनाइएको हुन्छ, जसमा मानवसँगै गाई र गोरुको अभिन्न सहअस्तित्वलाई आकृतिबद्ध गरिएको हुन्छ।
पशु र मानिसको अभिन्न सम्बन्धको प्रतीकको रूपमा यसलाई निरन्तरता दिँदै घरका महिलाले एउटा पुस्ताले अर्कोबाट यसलाई बनाउने विधि र सिप हस्तान्तरण गरेको देखिन्छ। दिउँसो आफ्नो गाइगोरुलाई किसानहरूले एक ठाउँमा जम्मा गरेर सुँगुरलाई पशुहरूको सिङले हिर्काउन दिने ‘डाढमार’को चलन छ। यो चलन सांस्कृतिकभन्दा ऐतिहासिक पक्षसँग जोडिएको द्विवेदीले बताए।
भारतीय उपमहाद्वीपमा जब मुस्लिम शासकहरूको शासन रहँदा यहाँका गृहस्थ किसानका चौपाया सरकारी अधिकारी र सैनिकहरूले बलजफती लगेर मारेर नखाउन भनेर सुँगुरको संसर्गमा पशुलाई पुर्याउने यो मान्यता हो। सुँगुर मुस्लिममा वर्जित हुन्छ। किसानहरूले आफ्नो पशुलाई सुँगुरलाई छुन लगाउने चलन कालान्तरमा मनोरञ्जनात्मक खेल जस्तै बन्न गयो।
यो चलन भने केही ठाउँमा मात्र शेष छ। गोवर्द्धन पूजाको भोलिपल्ट ‘भैया दुज’ (भाइटिका) मनाइन्छ। यमपञ्चकको अन्तिम दिन बिहान महिलाहरूले गोवर्द्धनका आकृतिहरूलाई बटुलेर एक ठाउँमा राखी कुट्ने चलन छ। गोवर्द्धनहरूलाई एकै ठाउँमा मिसाएर सामूहिक पूजा गर्ने चलन हो यो। “यसलाई गोधनकुटाई भन्ने गरिएको छ”, शिक्षिका अनिता साहले भनिन, “गोवर्द्धनलाई विसर्जन गर्ने तरिका हो यो। यहाँ बालिएको दियोको शिखाबाट निस्केको धुवाँमा काजल बनाएर लगाउँदा शुभ हुने मान्यता छ।”
लोकभाकाका गीत गाउँदै दाजुभाइलाई दिदीबहिनीहरू त्यही बसेर श्राप दिन्छन् र रेङ्गनीको काँडाले जिब्रोमा आफैले घोच्ने काम गर्छन्। यसरी गीतमा गाइएको श्राप आशिर्वादमा रूपान्तरण हुने लोकमान्यता छ। दाजुभाइलाई यो दिन टिका लगाएर मुखमा केराउका दाना हाल्ने चलन छ। यसलाई ‘बजडी’ भनिन्छ।
मिठाइ खुवाएर पिठ्युँमा धाप दिएर आशिर्वाद दिन्छन्। दाजुभाइले भने दिदी बहिनीलाई दक्षिणा दिनुपर्छ। धनतेरसमा शुरू भएर पाँचौँ दिन सोहरैया सकिन्छ, सफाइ, पशुधनको पूजा, दीप बाल्ने, परिकार खाने खुवाउने र गीतहरू गाउँदै मनाइने सोहरैया महापर्व जस्तै हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
