नक्कली मदिरा बनाएर बिक्री गर्ने ३ जना पक्राउ

उपत्यका अपराध अनुसन्धान कार्यालयले स्वदेशी तथा विदेशी ब्रान्डका नक्कली मदिरा उत्पादन गरी बिक्री गर्दै आएका ३ जनालाई पक्राउ गरेको छ।

काठमाडौँ- स्वदेशी तथा विदेशी ब्रान्डका नक्कली मदिरा उत्पादन गरी बिक्री गर्दै आएका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। 

उपत्यका अपराध अनुसन्धान कार्यालयले दोलखा कालिन्चोकका २७ वर्षीय नीरज उप्रेती, स्याङ्जा गल्याङका २६ वर्षीय धर्मी गौडेल र सिन्धुली तीनपाटनका २६ वर्षीय गणेशबहादुर राना मगरलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो।

उप्रेतीले ललितपुरको कुपण्डोलमा नेक्स्ट टेस्ट लिक्विड स्टोर र धर्मीले काठमाडौँ मित्र नगरमा एसटी लिक्विड स्टोर सञ्चालन गरी नक्कली मदिरा उत्पादन गरी विक्री गर्दै आएको पाइएको छ।

पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर, ललितपुर पठाइएको छ। नक्कली मदिराहरू उत्पादन गरी कालो बजारी भइरहेको भन्ने गोप्य सूचनाको आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष अनुसन्धान टोलीले माघ १३ गते उप्रेतीले सञ्चालन गरेको स्टोरमा नक्कली खुकुरी रम फेला पारेको थियो। 

यस्तै काठमाडौँ मित्रनगरस्थित गौडेलले सञ्चालन गरेको स्टोरमा समेत खानतलासी गर्दा विभिन्न ब्रान्डका गुणस्तरहीन नक्कली मदिरा फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले ललितपुरको महालक्ष्मी वडा न ५  टिकाथलीको विभिन्न स्थानहरूमा नक्कली मदिरा र मदिरा बनाउन प्रयोग गर्ने केमिकल, स्वदेशी तथा विदेशी ब्रान्डका रक्सीहरूको खाली बोतल, राजश्व अन्तर शुल्कको प्रयोग गरिएको स्टिकर तथा लेवलिङ एवं प्योकजिङ गर्ने मेसिन लगायत अन्य विभिन्न सामाग्रीहरू फेला पारेको छ।

प्रहरीका अनुसार मदिरा बनाउने कार्यमा विनोद कार्की, भगवान् बस्नेत, गोपाल पुन मगर, हरि वली, मनोज खत्री गौरव तामाङ र गोपीकृष्ण श्रेष्ठ समेतको संलग्नता देखिएको छ। 

उनीहरूले विभिन्न प्रचलित ब्रान्डका नाममा नक्कली मदिराहरू बनाई  बजार मूल्य भन्दा कममा विक्री गरेको पाइएको प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोइरालाले जानकारी दिए।

प्रहरीले खानतलासीका क्रममा विभिन्न ब्रान्डका मदिरा र नक्कली मदिरा बनाउन प्रयोग हुने विभिन्न केमिकल, कच्चापदार्थ तथा उपकरणहरू पनि बरामद गरेको छ।