राजस्व अनुसन्धान विभागका तत्कालीन शाखा अधिकृत रामजी रिजालले भ्रष्टाचार गरी कमाएको सम्पत्ति लुकाउन उनकी श्रीमती तथा कुस्मा नगर उपप्रमुख स्वस्थानी रिजाल मतियार बनेको विशेष अदालतको ठहर छ।
काठमाडौँ– राजस्व अनुसन्धान विभागका तत्कालीन शाखा अधिकृत रामजी रिजालविरुद्धको भ्रष्टाचार मुद्दा विशेष अदालतले ठहर गरेको छ। भ्रष्टाचार गरी कमाएको सम्पत्ति लुकाउन श्रीमती स्वस्थानी रिजाल मतियार भएको पनि अदालतको ठहर छ। उनी कुस्मा नगरपालिकाकी उपप्रमुख हुन्।
विशेष अदालतका न्यायाधीश श्रीकान्त पौडेल, यमुना भट्टराई र खुशीप्रसाद थारूको इजलासले रिजाल दम्पतीलाई भ्रष्टाचारमा दोषी ठहर गरेको हो। उनीहरूले आर्जन गरेको २ करोड ९७ लाख ३८ हजार ३१० रुपैयाँ बराबर सम्पत्तिको स्रोत नखुेकोले अख्तियारको दाबी थियो।
अदालतले भ्रष्टाचार निवारण ऐन बमोजिम श्रीमान् रामजीलाई ४६ लाख ४८ हजार ९०० रुपैयाँ ४० पैसा जरिवाना र ६ महिना कैदको सजाय सुनाएको छ। बिगो रकम भने स्वस्थानी समेतबाट असुल हुने फैसला गरेको छ।
गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामजी र स्वस्थानीविरुद्ध २०७५ फागुन ६ गते भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो। रामजी राजस्व अनुसन्धान विभाग ललितपुरको शाखा अधिकृत भई विभिन्न कार्यालयहरूमा कार्यरत रहँदा पदीय दुरुपयोग गरी सम्पत्ति आर्जन गरेको अख्तियारको दाबी थियो। रामजीले कमाएको अकुत सम्पत्ति स्वस्थानीको नाममा समेत देखिन आएको भन्दै अख्तियारले दुवै जनालाई प्रतिवादी बनाएको थियो।
रामजीले २०७४ वैशाख १५ गते राजस्व अनुसन्धान विभाग ललितपुरमा कार्यरत हुँदा नै शाखा अधिकृतबाट अनिवार्य अवकाश पाएका थिए। २०४० कात्तिक ६ गतेदेखि २०७५ पुस ३० गतेसम्म सरकारी कर्मचारी रहँदा कमाएभन्दा बढी खर्च गरेको भेटिएपछि अख्तियारले मुद्दा चलाएको थियो।
कार्यकालभरि पाएको तलबभत्ता, प्रोत्साहन भत्ता, श्रीमती स्वस्थानी रिजालको पारिश्रमिक, जग्गा बिक्री, स्वस्थानीको नाममा सञ्चालित सञ्जीवनी आयुर्वेदिक डिस्ट्रिब्युटर्स र पिगासस ट्राभल्स एन्ड टुर्सको आय, अवकाशपछि सुविधा प्राप्त आय, कर्जालगायतबाट उनीहरूले जम्मा १ करोड ९६ लाख ८६ हजार ५०९ रुपैयाँ आम्दानी गरेको अख्तियारको दाबी थियो। तर उनीहरूले सोही अवधिमा ४ करोड ९४ लाख २४ हजार ८१९ रुपैयाँ खर्च गरेको देखिँदा २ करोड ९७ लाख ३८ हजार ३१० रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुेकोले अख्तियारले दायर गरेको मुद्दामा उल्लेख छ।
गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति श्रीमती स्वस्थानीसमेतको नाममा राखेको देखिन आएकोले चल–अचल सम्पत्तिहरूमा स्रोत नखुलेको सम्पत्ति २ करोड ९७ लाख ३८ हजार ३१० रुपैयाँ जफत गर्ने प्रयोजनका लागि मात्र उनलाई समेत प्रतिवादी बनाइएको मुद्दामा उल्लेख थियो।
गएको वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा स्वस्थानी पर्वतको कुस्मा नगरपालिकाको उपप्रमुख पदका निर्वाचित भएकी थिइन्। भ्रष्टाचारजस्तो गम्भीर आरोपको मुद्दा किनारा नलाग्दै एमालेले उपप्रमुखको टिकट दिएपछि रिजालको मनोनयन खारेजीको माग गर्दै निर्वाचन अधिकृतको कार्यालय कुस्मामा उजुरी परेको थियो। तर रिजालको उम्मेदवारी रद्द भएन।
स्वास्थानी ९०९२ मत प्राप्त गरेर उपप्रमुखमा विजयी भएकी थिइन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका शंकर गिरीले ८२८२ मत पाएका थिए। गिरीलाई कांग्रेसको पनि साथ थियो। नगरप्रमुखमा भने कांग्रेस उम्मेदवार विजयी भएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
