यसकारण स्वर्णिम वाग्लेले अस्वीकार गरे एमालेबाट चुनाव लड्ने ओलीको प्रस्ताव

अर्थविद् डा. स्वर्णिम वाग्लेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई पार्टीबाट प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवारी दिन आग्रह गरेको बताएका छन्।

काठमाडौँ- अर्थविद् डा. स्वर्णिम वाग्लेले नेकपा एमालेले आफूलाई पार्टीबाट मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवारी दिन आग्रह गरेको बताएका छन्।

अर्थविद् वाग्लेले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई काठमाडौँ-७ बाट प्रतिनिधिसभामा चुनाव लड्न आग्रह गरेको बताएका हुन्।

शनिबार काठमाडौँमा आयोजित युवासँग छलफल कार्यक्रममा उनले नेकपा एमालेसहित रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले समेत आफूलाई चुनाव लड्न आग्रह गरेको सुनाए।

उनले टिकट दिएन भन्दैमा आफू सक्रिय रहेको पार्टीलाई त्यागेर अर्को पार्टीबाट चुनाव लड्नु राजनीतिक परिपक्वता नभएको कारण आफू आगामी ५ वर्षसम्म युवामाझ सक्रिय रहने बताए। उनले युवासँग घुलमिल हुने कार्यक्रम आफूले शनिबारबाट काठमाडौँ-४ बाट शुरु गरेको भन्दै यो कार्यक्रम देशभर नै आयोजना गर्ने आफ्नो योजना रहेको सुनाए।

"तत्कालमा जनमत बनाउने, युवासँग भेटघाट गर्ने, नयाँ मतदातासँग घुलमिल हुने, आजका दिन काठमाडौँ-४ बाट शुरु गरेर देशव्यापी रूपमा छलफल म लैजान्छु। निर्वाचनसम्म माहोल बनाउने र त्यसपछि आफू सक्रिय हुने गरेर अर्को ५ वर्ष बिताउनेछु," उनले भने।

अर्थविद् वाग्लेले आफ्नो तीन पुस्तासमेत कांग्रेस भएकाले अन्य पार्टीमा गएर चुनाव लड्न सहज नदेखिएको बताए।